स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’

काठमाडौं। काठमाडौँ कोटेश्वर सरस्वती माध्यमिक विद्यालयका भित्ताहरू अहिले मिथिलाकलाले रङ्गीन बनेका छन्। यहाँका कक्षा ४ र ५ का विद्यार्थीहरूको सिर्जनात्मक प्रयासले विद्यालय परिसरमा नयाँ आकर्षण थपिएको हो।

Advertisement 1

काठमाडौँ महानगरपालिका र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको सहकार्यमा सञ्चालित शिक्षामा सीप कार्यक्रमअन्तर्गत ‘बुक–फ्री फ्राइडे’मा सहभागी विद्यार्थीहरूले विशेष भित्तेचित्र कार्यशालामा भाग लिएपछि उनीहरूले यहाँका भित्ता मिथिला कलाले सिङ्गारेका हुन्।

नौवटा सत्र (प्रत्येक तीन घण्टा) सम्म सञ्चालन गरिएको यस कार्यशालामा विद्यार्थीहरूले पाठ्यपुस्तकको घेराभन्दा बाहिर निस्केर प्राचीन मिथिला चित्रकलाको प्रयोगात्मक अभ्यास गरेका छन्। मिथिला कलाकार सुभद्री सुभाको प्रशिक्षणमा भएको कार्यशालामा विद्यार्थीहरूले ‘हात धुने र खेलकुद’ शीर्षकको अवधारणामा आधारित भित्तेचित्र निर्माण गरेका थिए।

Advertisement 2

कोटेश्वरस्थित सरस्वती माविका यी रङ्गीन भित्ताहरू अब केवल चित्र मात्र रहेनन्, ती स्वास्थ्य, शिक्षा र कलाका जीवन्त पाठ बनेका छन्। यस भित्तामा स्वच्छता र स्वास्थ्य तथा शारीरिक र मानसिक विकाससम्बन्धी सन्देश दिने खालका विद्यार्थीका सिर्जना समेटिएका छन्।

हात धुने अभ्यास देखाइएको ठूला आकृतिले दैनिक जीवनमा सरसफाइको महत्वलाई झल्काउँछ भने, शारीरिक र मानसिक विकासअन्तर्गत डोरी खेलिरहेका बालबालिकालाई उतारिएको छ। चित्रमा माछा, कमलको फूल र परम्परागत मिथिला बुट्टाहरूलाई कलात्मक ढङ्गले संयोजन गरिएको छ। जसले आधुनिक स्वास्थ्य सन्देशलाई सांस्कृतिक सौन्दर्यसँग जोडेको छ।

Advertisement 3

कलाकार सुभद्री सुभाले भने, “सरकारी विद्यालयका साना बालबालिकामा देखिएको उत्साह लोभलाग्दो थियो। उनीहरूले शारीरिक खेलले दिमाग कसरी तेज हुन्छ भन्ने कुरालाई चित्रमा उतार्न निकै रुचि देखाए।” उनका अनुसार चित्रलाई समयमै सम्पन्न गर्न विद्यार्थीहरूले निकै मेहनत गरेका थिए। विद्यालयको नियमित समयबाहेक उनीहरू शनिबार र अन्य दिन बिहान ८ः०० बजेदेखि १०ः०० बजेसम्म स्वस्फूर्त रूपमा सहभागी भएका हुन्।

विद्यार्थीहरूले बुट्टा भर्ने र रङ लगाउने अधिकांश काम आफैँ गरेका थिए। अन्तिम कलात्मक परिस्करण कलाकार सुभद्रीले गर्नुभएको थियो। यो कार्यक्रमले विद्यार्थीहरूको सिर्जनशीलता प्रस्फुटन गर्न र नेपाली सांस्कृतिक सम्पदाको संरक्षण गर्न ठूलो भूमिका खेल्ने विश्वास गरिएको छ। अहिले काठमाडौँका दर्जनौँ स्कुलमा विद्यार्थीहरुलाई चित्रकला, मूर्तिकला र भित्तेकला सिकाइँदै छ।
–––

प्रकाशित :२०८२ चैत्र ४, बुधबार १६:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry