विद्यालयमा आगालागी हुँदा २ करोड बढीको क्षति

हुम्ला। हुम्लाको अदानचुली गाउँपालिकास्थित छत्रपाल आधारभूत विद्यालयमा गएराति भएको आगालागीबाट रु २ करोड बढीका संरचना जलेर क्षति पुगेको छ। अदानचुली–३ मा रहेको सो विद्यालयमा गएराति माथिल्लो तलाकोे झ्यालबाट आगालागी सुरु भएको थियो।
Advertisement 1
अगालागीबाट विद्यालयको २ तले भवन पूर्ण रूपमा जलेर नष्ट भएको छ। विद्यालयको मुख्य प्रवेशद्वारसहित कक्षा कोठा तथा माथिल्लो तलामा रहेको कार्यालय कोठासमेत जलेर नष्ट भएको विद्यालयका शिक्षक नन्द फडेराले बताए। उनका अनुसार कार्यालय कोठामा रहेको भवनमा आगालागी हुँदा विद्यालयमा रहेका सम्पूर्ण दस्तावेज जलेर नष्ट भएका छन्।
कार्यालय कोठामा भएका सोलार १ थान, २ थान ल्यापटप, २ थान कम्प्युटर, ४ थान दराज, २० थान कुर्ची, ३ थान मादल, हार्माेनियम, क्यासियो, ड्रमसेट, २०५२ साल देखिका कागजात र दस्तावेजलगायत कक्षा कोठाका डेस्कबेञ्च, प्रिन्टरलगायत सामग्री जलेर नष्ट भएका शिक्षक फडेराले बताए। उनका अनुसार भौतिक संरचनासहित रु २ बरोड बराबरको सामग्री जलेर नष्ट भएको अनुमान गरिएको छ।
Advertisement 2
विद्यालय नजिक बस्ती तथा आगो बाल्ने घरसमेत नरहेकाले अज्ञात समूहले नियोजित रूपमा आगालागी गरेको हुनसक्ने आशङ्का गरिएको विद्यालयका शिक्षक जमानसिंह परियारले बताए। आगालागी भएको समयमा कार्यालय कोठाको ढोका खुल्ला रहेको पाइएको उनको भनाइ छ। उनका अनुसार विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययन हुने गरेको छ ।










