के चाहान्छन् युवाहरू?

काठमाण्डौं : नेपाल आज जनसांख्यिक रूपमा युवा देश हो। कुल जनसंख्याको ठूलो हिस्सा १६ देखि ४० वर्ष उमेर समूहमा पर्छ।

Advertisement 1

यही समूह रोजगारी खोजिरहेको छ। विदेश जाने वा यतै बस्ने निर्णय गरिरहेको छ।  राजनीति र सामाजिक आन्दोलनमा आवाज उठाइरहेको छ। डिजिटल दुनियाँमार्फत आफ्ना धारणा व्यक्त गरिरहेको छ। भदौँ २३ गतेको जेनजी आन्दोलन पनि आम युवाहरू राजनीतिक नेतृत्वविरूद्धको आवाज हो।

देशमा व्याप्त भ्रष्ट्राचार र वेथिती, कुशासनका बीच युवाहरू निरास छन्। युवाहरू के चाहान्छन् आजको प्रमुख मुद्दा हो। देशमा स्वास्थ्य शिक्षा रोजगार तथा देशमै बस्ने वातावरणका लागि आज पनि नेपाली युवाहरू कसरतमा रहेका छन्। जेनजी आन्दोलनपछि बनेको सरकारले निर्वाचन गरेपछि अब आउने नयाँ नेतृत्वले युवाहरूको मनोभावनालाई बुझेर देशमै युवामैत्री वातावरण निर्माण गर्न जरूरी छ।

Advertisement 2

आखिर के चाहान्छन् त युवा? युवाहरूको लागि पहिलो प्राथमिकता हो रोजगारी । उनीहरूलाई सम्मानजनक, सीपअनुसारको र स्थायित्व भएको रोजगारी चाहिएको छ।

लाखौँ रुपैयाँ खर्च गरेर उच्च शिक्षा हासिल गरेका युवाले २०–२५ हजार रुपैयाँको अस्थायी जागिरमा सीमित हुनुपर्दा निराशा पैदा भइरहेको छ। सीमित कमाइले दैनीकी चलाउन नसकेपछि उनीहरू विकल्प खोजीरहेका छन्। त्यहि मध्ये एक विकल्पका रूपमा विदेश रोजिरहेका छन्।

Advertisement 3

युवाहरू तलब मात्र नभएर अवसरको समान पहुँच पनि आजको आवश्यकता हो। नातावाद र कृपावाद आधारमा अवसर बाँडिने रोजगारले आजित छन् युवा। खुला प्रतिस्पर्धा, पारदर्शी भर्ना प्रक्रिया र सीपमा आधारित मूल्याङ्कनले उनीहरूको मनोभावनालाई सम्मान गर्न सकिन्छ।

अर्कोतर्फ नेपालको शिक्षा प्रणाली पनि परीक्षामुखी र सैद्धान्तिकमा आधारित रहेको छ। विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने प्राविधिक, डिजिटल र उद्यमशील सीप युवाहरू चाहन्छन्। विद्यालयको ज्ञानलाई रोजगारीको बजारमा उपयोगी नहुँदा युवाहरू निराश छन्। होत्साहित छन्। पाठ्यक्रम समयानुकूल बनाउन जरूरी छ।  व्यावसायिक तथा प्राविधिक शिक्षालाई प्राथमिकता दिँदै उनीहरू डिग्री मात्र नभएर सीप र अवसरको सेतु चाहन्छन्।

युवाहरू राजनीतिक रूपमा सचेत छन्। विशेष गरेर सामाजिक सञ्जालले सूचना पहुँचलाई सहज बनाइदिएको छ। उनीहरू नीतिगत निर्णय, सार्वजनिक खर्च र नियुक्ति प्रक्रियामा पारदर्शिता चाहन्छन्

सरकारी कार्यालयमा पाउने सास्ती र अनावश्यक झन्झटले युवालाई राज्यप्रति नकारात्मक बनाइरहेको छ।  युवाहरू डिजिटल सेवा र उत्तरदायी प्रशासनको अपेक्षा गरिरहेका छन्।

युवाहरू राजनीति प्रति उदासीन नभएको प्रस्ट छ। उनीहरू पुरानो शैलीको राजनीतिदेखि वाक्क छन्।  नातावाद र कृपावादको अवसरवादभन्दा माथि उठेर विचार, नीति र कार्यसम्पादनमा आधारित राजनीति चाहिरहेका छन्।

नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो। युवाहरू विभेदरहित समाज चाहन्छन्—लिंग, जात, क्षेत्र वा आर्थिक अवस्थाका आधारमा कसैले पछाडि नपरोस्। महिलामाथि हुने हिंसा, दलित र सीमान्तकृत समुदायमाथिको भेदभाव नहोस भन्ने चाहान्छन्।

प्रतिस्पर्धा, बेरोजगारी र सामाजिक दबाबका कारण युवाहरू मानसिक तनावबाट गुज्रिरहेका छन्। तर मानसिक स्वास्थ्यबारे खुला संवाद अझै सीमित छ।

उनीहरू काम–जीवन सन्तुलन, सुरक्षित सार्वजनिक स्थान, खेलकुद र सिर्जनात्मक अभिव्यक्तिका अवसर पनि खोजिरहेका छन्।

डिजिटल युगका युवाहरू इन्टरनेट, सामाजिक सञ्जाल र प्रविधिमा आधारित छन्। उनीहरू डिजिटल स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र सूचना पहुँच चाहन्छन्। साथै, आईटी, कृत्रिम बुद्धिमत्ता, फिनटेक, ई–कमर्स जस्ता क्षेत्रमा लगानी र पूर्वाधार विकासको अपेक्षा गर्छन्।

सबैभन्दा महत्वपूर्ण कुरा—युवाहरू देश छोड्न बाध्य नभई देशमै भविष्य देख्न चाहन्छन्। विदेश जानु अपराध होइन, तर बाध्यता बन्नु चिन्ताको विषय हो।

विगतमा झैँ भाषण, आरोप–प्रत्यारोप र आश्वासन बाँड्नेलाई नभई सुशासन, विकास र रोजगारीमार्फत भविष्य निर्माणको सङ्कल्प तथा योजना भएका उम्मेदवार भोट दिने युवा मतदाता बताउने गरेका छन्।

सहरी क्षेत्रदेखि ग्रामीण बस्तीसम्मका मतदातामा काम गर्ने, समाज जोड्ने र विश्वास कायम गर्ने नेतृत्व रोज्ने धारणा बलियो बन्दै गएको छ।

समाजमा विग्रह ल्याउने र गलत कुरा गरेर मत बटुल्ने सोचविरुद्ध युवाहरू रहेका छन्। हरेक चुनावमा सपना बाँडिन्छ, तर काम देखिँदैन। यस पटक पनि कतिपयले त्यस्तै गर्न खोजिरहेका छन्।

देशमा सबैभन्दा प्रचुर सम्भावना भएर पनि उपेक्षामा परिरहेको कृषि क्षेत्रको विकासको स्पष्ट खाका ल्याउने दल र उम्मेदवारलाई युवाको रोजाइमा रहेका छन्। कृषि, पर्यटन, रोजगारीलगायत क्षेत्रमा देखिएका समस्या समाधानको नीति, कार्यक्रम र सोच ल्याउनुको सट्टा नपत्याउने गफ गर्नेलाई पहिचान गर्ने चरणमै रहेकाले यस पटक सोचेर मात्र मत दिने योजनामा युवाहरू रहेका छन्।

युवाहरूलाई मल, सिँचाइ, सडक र बजार चाहिएको हो। जात र दलको कुरा गरेर समाज भाँड्ने राजनीति अब स्वीकार्य छैन।

त्यसैले युवाले कला र संस्कृतिको क्षेत्रमा राज्यको अभिभारा र अवसर खोजिरहेका छन्। उनीहरुले नेपाली समाजबाट कलाको सम्मान र विशिष्ट स्थान चाहिरहेका छन्।

यस्ता धेरै क्षेत्र छन् जसमा युवाले सकारात्मक परिवर्तन खोजिरहेका छन्। स्वास्थ्य क्षेत्र होस् वा यातायात होस् वा डिजिटल बंैकिङ सबैतिर। अब कुरा गरौँ भौतिक आवश्यकताको। आजको युवाले आफ्नो परम्परागत र आधुनिकताको मिश्रण, विकासका कार्य र पूर्वाधारमा खोजिरहेका छन्।

पक्की सडक, व्यवस्थित शहर, शिक्षित गाउँको चाहना यो युवा पिढीले गरेको छ।

एक उपायले मात्रै युवा स्वरोजगार बढाउन र युवाको पलायन रोकिँदैन। त्यसका लागि तीनै तहका सरकारले स्थानीय स्रोत र साधनको पहिचान गर्ने जनशक्तिलाई रोजगार दिने नीति, भौगोलिक, अलौकिकपन झल्किने क्षेत्रको गरी पर्यटन व्यवसाय सञ्चालन गर्नुपर्ने हुन्छ।

प्राविधिक शिक्षा बढाउने र युवाको रोजगारको समयको दर वृद्धि गर्ने हो भने केही हदसम्म धन कमाउने सपना बोकेर विदेशिन खोज्ने युवालाई नेपालमै रोक्न सकिन्छ।

तीन तहकै सरकारले युवाको सीप, शिक्षा र उद्यमशीलता विकासका कार्यक्रमहरूलाई प्रभावकारी बनाउन आवश्यक छ। दीर्घकालीन समाधानका रुपमा, उद्योग, कृषि, पर्यटन र सूचना प्रविधिमा युवाहरूलाई आकर्षित गर्ने खालका ठूला विकासका परियोजनाहरू सुरु गर्नुपर्छ।

विदेश पलायन हुन लागेको युवालाई रोक्न उद्यमशील सीप विकास तालिम प्रदान गर्ने, सीप सिकेका युवालाई बैंक वित्तीय संस्थाबाट व्यवसायको लागि सहुलियत ब्याजमा ऋण उपलब्ध गराउने, युवालाई प्राविधिक तथा सूचना प्रविधि सम्बन्धित तालिम दिएर स्वदेशमै रोजगार सुनिश्चित गर्न सकिनेछ।

युवाहरूले देखेका सपना सुशासन हो। देश निर्वाचनमा गइसकेको छ। तर चुनावको पूर्वसन्ध्यामा उनीहरू विदेश पलाइन भइरहेका छन्।  पछिल्लो ६ महिनामा झन्डै ६ लाख जना नेपाली विदेशिए।

वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि पुस मसान्तसम्ममा ५ लाख ९० हजार ७ सय १८ जनाले श्रम स्वीकृति लिएर विदेशिएका छन्। याे सङ्ख्यामा १ लाख ९६ हजार ४२ जनाले पुनः श्रम स्वीकृति लिएका छन् जसमा ४ हजार ८ सय ६६ जना ‘जीटुजी’ (सरकार–सरकार) मार्फत इजरायल, कोरिया र बेलायत गएका छन्।

व्यक्तिगत श्रम स्वीकृति लिएर ६४ हजार २ सय ६२ जना र ३ लाख २५ हजार ४ सय ७ जना म्यानपावर कम्पनीमार्फत गएका वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ।

चाडपर्वपछि विदेश जाने क्रम तीव्र हुने गरेको र नयाँ वर्ष तथा निर्माण तथा सेवा क्षेत्रको माग बढ्ने समयमा यो सङ्ख्या अझै बढ्नसक्ने अनुमान छ। खाडी देश, मलेशिया र पछिल्ला वर्षहरूमा जापान, दक्षिण कोरिया तथा युरोपेली देश पनि नेपाली श्रमिकका प्रमुख गन्तव्य बन्दै गएका छन्। खाडी र मलेशियामा अझै पनि अदक्ष र अर्धदक्ष श्रमिकको माग उच्च रहेको छ भने जापान र कोरियामा भाषा तथा सीपयुक्त श्रमिकको आकर्षण बढिरहेको छ।

प्रकाशित :२०८२ फाल्गुन २०, बुधबार १३:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry