‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर। यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान उत्साहित भएका छन्। गाउँपालिकाले २ चरणमा गरी कुल ३ सय ४० वटा मिनीटिलर ५० प्रतिशत अनुदानमा वितरण गरेको छ।

Advertisement 1

पौवादुङमा गाउँपालिका–३ की किसान लीलामाया सुनारले मिनीटिलर प्राप्त भएपछि खेत जोत्न र अन्य कृषि कार्य गर्न सहज भएको बताउनुभयो। गाउँपालिकाले प्रोत्साहनस्वरुप हातेट्याक्टर दिएपछि न्यून आर्थिक अवस्था भएका किसानलाई प्रत्यक्ष लाभ पुगेको उनको भनाइ छ।

सुनारले भने,“पहिले धेरै मिहिनत र समय लाग्थ्यो। हाल प्रविधिको प्रयोगले काम छिटो र सजिलो भएको छ। गाउँपालिकाले हातेट्याक्टर दिएपछि खेतीपातीको काम गर्न सहज छ।”

Advertisement 2

गाउँपालिकाले किसानलाई लक्षित गरेर सञ्चालन गरेको कार्यक्रम प्रभावकारी रहेको पौवादुङमा–६ का अर्का किसान जीवन सुब्बाले बताए “गाउँपालिकाले किसानलाई लक्षित गरेर सञ्चालन गरेको यो कार्यक्रम प्रभावकारी छ”, उनले भने, “किसानको मागका आधारमा कृषियन्त्र दिएसँगै हामी उत्साहित भएका छौँ।”

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले कृषिमा संलग्न किसानलाई प्रविधिमैत्री बनाउन ‘एक घर, एक मिनीटिलर’ अवधारणाअनुसार कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। “दुई चरणमा गरी तीन सय ४० वटा मिनीटिलर वितरण गरेका छौँ। यसले परम्परागत खेती प्रणालीलाई आधुनिकतर्फ लैजान सहयोग गर्नेछ”, उनले बताए।

Advertisement 3

गाउँपालिकाले यसअघि कुनै पनि सेवा सुविधा नपाएका किसानलाई प्राथमिकतामा राखेर मिनीटिलर वितरण गरेको जनाएको छ। आवेदन दिएका तर यस चरणमा सामग्री प्राप्त गर्न नसकेका किसानलाई आगामी आर्थिक वर्षमा समेट्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताए।

उनका अनुसार मिनीटिलर वितरणसँगै किसानलाई सञ्चालन विधिबारे अभ्याससमेत गराइएको छ। गाउँपालिकाले धेरैको सङ्ख्यामा मिनीटिलर वितरण गरेकाले आगामी दिनमा मर्मतसम्बन्धी तालिमसमेत प्रदान गरिने भट्टराईले जानकारी दिए।

गाउँपालिका उपाध्यक्ष जोत्सना राईले गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन लक्ष्यले अनुदान सहयोग कार्यक्रम सञ्चालन गरिएको बताए। वितरण गरिएका सामग्रीको सही सदुपयोगका लागि अनुगमनलाई पनि प्रभावकारी बनाइने उनले जानकारी दिए।

गाउँपालिका अध्यक्ष किरण राईले किसानहरूलाई खेती प्रणालीमा लाग्न अभिप्रेरित गर्ने उद्देश्यले गाउँपालिकाले कृषि सामग्री वितरण गरेको बताए। किसानको मुख्य आम्दानीको स्रोत कृषि रहेकाले प्राथमिकताका साथ बजेट विनियोजन गरेर विगतका वर्षदेखि नै प्रोत्साहनका विविध कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ छ।

प्रकाशित :२०८३ जेष्ठ २७, बुधबार १६:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry