सुदूरपश्चिममा डेङ्गुबाट ३ वर्षमा ७ हजारभन्दा बढी प्रभावित

कञ्चनपुर। सुदूरपश्चिम प्रदेशमा डेङ्गु सङ्क्रमणको जोखिम अझै चुनौतीपूर्ण देखिएको छ। स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्क अनुसार विगत ३ आर्थिक वर्षमा प्रदेशभर डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या सात हजार ६८३ रहेको छ।
Advertisement 1
स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग अधिकृत हेमराज जोशीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिममा ३ हजार ३४९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो। आव २०८१÷८२ मा यो सङ्ख्यामा सामान्य कमी आए पनि जोखिम भने कायमै रहेको उनले बताए। सो वर्ष ३ हजार ३१६ जनामा सङ्क्रमण देखिएको थियो।
चालु आर्थिक वर्षको हालसम्म प्रदेशमा एक हजार १८ जना डेङुगुबाट प्रभावित भइसकेका छन्। अधिकृत जोशीले भने, “अघिल्ला वर्षको तुलनामा डेङ्गुको ग्राफ केही घटेको देखिए पनि सङ्क्रमणको जोखिम भने टरेको छैन। विशेषगरी तराईका जिल्लामा यसको प्रभाव बढी छ।”
Advertisement 2
निर्देशनालयका अनुसार प्रदेशका कैलाली र कञ्चनपुर डेङ्गुबाट सबैभन्दा बढी प्रभावित जिल्ला हुन्। पछिल्लो समय जलवायु परिवर्तन र बढ्दो सहरीकरणका कारण पहाडी जिल्लामासमेत डेङ्गुका बिरामी फेला पर्न थालेका अधिकृत जोशीले बताए। उनका अनुसार डेङ्गु नियन्त्रणका लागि प्रदेश सरकार र स्थानीय तहले ‘लार्भा खोज र नष्ट गर’ अभियानलाई निरन्तरता दिँदै आएका छन्।
यसैबीच, नागरिकस्तरबाट घर वरपर पानी जम्न नदिने र व्यक्तिगत सतर्कता अपनाउनमा कमी आउँदा सङ्क्रमण पूर्ण रूपमा नियन्त्रण हुन नसकेको स्वास्थ्यकर्मी बताउँछन्। ‘एडिस एजिप्टी’ जातको लामखुट्टेको टोकाइबाट सर्ने यो रोग नियन्त्रणका लागि सचेतना मुख्य उपाय भएको अधिकृत जोशीले बताए। निर्देशनालयले ज्वरो आउने, जोर्नी दुख्ने र टाउको दुख्ने जस्ता लक्षण देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा परीक्षण गराउन आग्रह गरेको छ।














