बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो

काठमाडौं। स्वास्थ्य बीमा बोर्डले बाढीबाट अति प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा स्वास्थ्य बीमा सेवा थप सहज बनाउने निर्णय गरेको छ। बोर्डको २०८३ भदौ २२ गतेको निर्णयअनुसार नेपाल सरकारले भदौ १० गते ल्हेन्दे खोलाबाट आएको अप्रत्याशित बाढीबाट अति प्रभावित ती तीन जिल्लालाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको सन्दर्भमा स्वास्थ्य बीमा सेवा सहज बनाउने निर्णय गरिएको हो।

Advertisement 1

बाढी प्रभावित क्षेत्रमा रहेका स्वास्थ्य बीमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूमा तोकिएको अवधिसम्म स्वास्थ्य बीमामा लाग्ने सहभुक्तानी (को–पेमेन्ट) र क्यापिङ हटाउने निर्णय बोर्डले गरेको छ। यस निर्णयसँगै विपद्बाट प्रभावित बिमितले स्वास्थ्य सेवा लिन थप आर्थिक भार व्यहोर्नुपर्ने अवस्था कम हुने बोर्डले जनाएको छ।

त्यस्तै, प्रभावित क्षेत्रका बिमितसँग स्वास्थ्य बीमा परिचयपत्र नभएको अवस्थामा समेत सेवा उपलब्ध गराइने भएको छ। परिचयपत्र नभएका बिमितको स्वास्थ्य बीमा नम्बर सेवा प्रदायक स्वास्थ्य संस्थालाई उपलब्ध गराइएको सम्बन्धित प्रणालीमार्फत यकिन गरी स्वास्थ्य बीमा सेवा प्रदान गर्न बोर्डले व्यवस्था गरेको छ।

Advertisement 2

बाढीका कारण प्रभावित नागरिकलाई स्वास्थ्य सेवा लिन कठिनाइ नहोस् र विपद्को अवस्थामा स्वास्थ्य बीमाको पहुँच सहज होस् भन्ने उद्देश्यले उक्त निर्णय गरिएको बोर्डले जनाएको छ। बोर्डका वरिष्ठ मेडिकल सुपरिटेण्डेण्ट तथा प्रवक्ता डा. पवनकुमार साहले सम्बन्धित सबैलाई निर्णय कार्यान्वयनमा सहजीकरण गर्न आग्रह गरेका छन्।

प्रकाशित :२०८३ भाद्र २३, मंगलवार १२:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry