भरतपुरबाट जहाजले इन्धन भर्ने व्यवस्था गरिँदै

चितवन। भरतपुर विमानस्थलबाट काठमाडौंँ र पोखरा उडान गर्ने जहाजले आगामी साताबाट यहाँ इन्धन भर्न पाउने भएका छन्। नेपाल आयल निगमले यही फागुन ६ गतेबाट यहाँ इन्धन भर्न मिल्ने गरी तयारी अघि बढाएको हो।

Advertisement 1

निगमका प्रवक्ता उपनिर्देशक मनोजकुमार ठाकुरले नागरिक उड्डयन प्राधिकरणसँग सम्झौता गरी काम अघि बढाइएको बताए।

उनले भने, “यही फागुन ६ गतेबाट रिफिलिङ् गर्ने गरी काम भइरहेको छ। डिपो स्टेशन स्थापनाका लागि २ थान रिफ्युलर र एक थान मोबाइल डिस्पेन्सरको व्यवस्था गरिएको छ। दिगो रूपमा काम गर्न भने ६ महिनादेखि १ वर्ष लाग्ने छ।”

Advertisement 2

जमिनमुनि वा माथि ट्याङ्की राखेर काम गर्नका लागि समय लाग्ने भए पनि तत्काल इन्धन जहाजमा भर्ने व्यवस्था मिलाउन समय नलाग्ने उनले बताए। निगमले यहाँ ३० किलोलिटर इन्धन भण्डारण र व्यवस्थापनका लागि रु ४ देखि ५ करोड खर्च हुने जनाएको छ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले प्राधिकरणसँग जग्गा सम्झौता भएको र बाँकी सबै काम निगमले गर्ने बताए। यस कार्यबाट त्यस क्षेत्रमा उडान भर्ने जहाज लाभान्वित हुने बताए।

Advertisement 3

बुद्ध एयरले भरतपुरबाट काठमाडौँ र पोखरा गरी दैनिक ७ वटा जहाज उडान भर्दै आएको छ। २ वटा ४७ सिटका र ५ वटा ७२ सिटका जहाजले यहाँबाट उडान भरिरहेका बुद्ध एयर भरतपुरका स्टेशन म्यानेजर भक्तबहादुर बस्नेतले जानकारी दिए। यहाँ तेल भर्ने व्यवस्था भए काठमाडौँबाट यहाँ आउने जहाजमा थप २ जना यात्रु ल्याउन सकिने उनको भनाइ छ।

बुद्ध एयरको ७२ सिटको जहाजले काठमाडौँबाट आउँदा हाल ७० जना बोक्ने गरेको छ भने गर्मीयाममा ६० जना बोक्नुपर्ने बाध्यता छ। बस्नेतका अनुसार यहाँबाट उड्दा भने हाल ५५ जना र गर्मीयाममा ४० जना बोक्ने गरिएको छ।

यस्तै, ४७ सिटको जहाजले हाल काठमाडौँबाट आउँदा ४५ जना र फर्कदाँ ४३ जना लिएर जाने गरेको छ। गर्मीयाममा काठमाडौँबाट आउँदा ३५ जना र यहाँबाट जाँदा ३३ जना हाराहारी यात्रु बोकेर जाने गरेको छ।

प्रकाशित :२०८२ फाल्गुन १, शुक्रबार १३:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry