नवलपुर–२ का मतदाता भन्छन्, “चुनावी बाचा ‘केही पूरा भए, केही अधुरै छन्”

नवलपरासी। प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का मतदाता अघिल्लो चुनावमा गरेका बाचा सम्झिन थालेका छन्।

Advertisement 1

निर्वाचन क्षेत्र नं २ मा नारायणी नदी कटान, मानव वन्यजन्तु द्वन्द्व, जग्गाको लालपुर्जालगायत मुख्य समस्या समाधान गर्नेभन्दै यसअघिको निर्वाचनमा मतदातासमक्ष प्रतिबद्धता जारी गर्ने गरेका मध्यविन्दु–३ का मतदाता मित्र पौडेलले बताए।

“यहाँको मुख्य समस्यामा रहेको विषयमध्ये नारायणी नदीको कटान नियन्त्रणका लागि कामको थालनी भएको छ” उनले भने, “बाँकी विषय कहिल्यै प्राथमिकतामा परेको हामीले पाएका छैनौँ।”

Advertisement 2

यहाँ स्वास्थ्य, शिक्षा, रोजगारी, सडकलगायतका पूर्वाधारको विकास हुन नसकेको भन्दै उनले स्वास्थ्य क्षेत्रमा केही सुधार देखिएको भए पनि अन्य समस्या सम्बोधन हुन नसकेका गुनासो गरे।

कावासोती नगरपालिका–१७ की अनिताकुमारी थनेतले भोट माग्न आउँदा जङ्गली जनावर गाउँ पस्न नदिन आवश्यक प्रयास गर्ने बताउने गरेका तर त्यो आश्वासनमा मात्र सीमिति भएको बताए। नेताहरुले बाटो बनाउछैँ भनेर गएकोमा बाटो भने पक्की बनेकोमा उनले खुशी व्यक्त गरे।

Advertisement 3

विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीबासका २२ वर्षीय आदित्य विश्वकर्माले युवाहरुलाई स्वेदशमै रोजगारीको व्यवस्था हुनुपर्ने बताए। “हामी युवाले परिवर्तन चाहेका छौँ, त्यस्तो परिवर्तन जहाँ रोजगारीका निम्ति विदेशिनु नपरोेस्”

निर्वाचन क्षेत्र नं २ मा १८ जना उम्मेदवार छन्। ती मध्ये १२ जना राजनीतिक पार्टीबाट तथा ६ जना स्वतन्त्र छन्। यहाँ नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।

यहाँ ६३ हजार ७२ महिला, ६८ हजार ३७० पुरुष एवं तीन जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक गरी जम्मा एक लाख ३१ हजार ४४५ मतदाता कायम रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित :२०८२ माघ २७, मंगलवार १६:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम