रोमानियामा मार्च ११ देखि नेपाली नागरिकका लागि राहदानी घुम्ती सेवा सञ्चालन हुँदै

काठमाडौं। रोमानियाको राजधानी बुखारेस्टमा बसोबास गर्ने नेपाली नागरिकका लागि राहदानी नवीकरणसम्बन्धी घुम्ती सेवा सञ्चालन गरिने भएको छ। जर्मनीस्थित नेपाली राजदूतावास, बर्लिनको कार्यक्षेत्रअन्तर्गत पर्ने रोमानियामा उक्त सेवा सञ्चालन हुन लागेको हो।

Advertisement 1

राजदूतावास, राहदानी विभाग काठमाडौँ तथा रोमानियामा क्रियाशील नेपाली समुदायका संस्थाहरूको सहकार्यमा आयोजना हुने उक्त शिविर आगामी सन् २०२६ मार्च ११ देखि १५ तारिखसम्म सञ्चालन हुने जनाइएको छ। दूतावासले जारी गरेको सूचनाअनुसार शिविर बुखारेस्टस्थित चौतारी रेस्टुरेन्टमा आयोजना गरिनेछ।

रोमानियाका प्रमुख नेपाली संघ–संस्था र सामाजिक अभियन्ताहरूको सहभागितामा गठन गरिएको राहदानी नवीकरण तथा वितरण समन्वय समितिको सिफारिसअनुसार सेवा स्थल तोकिएको सूचनामा उल्लेख छ। आवश्यक जानकारी तथा सहजीकरणका लागि दूतावासले सम्बन्धित व्यक्तिहरूको सम्पर्क विवरणसमेत सार्वजनिक गरेको छ।

Advertisement 2

दूतावासका अनुसार सन् २०२७ मार्च ११ भन्दा अघि राहदानीको म्याद सकिन लागेका रोमानिया, बुल्गेरिया र हंगेरीमा बसोबास गर्ने नेपाली नागरिकले उक्त शिविरमार्फत राहदानी नवीकरण गर्न सक्नेछन्। अनलाइन आवेदनका लागि फेब्रुअरी ७, ८, १४, १५ तथा २१ र २२ तारिखका मितिहरू रोमानियाको घुम्ती सेवाका लागि मात्र खुला गरिने जानकारी दिइएको छ।

राहदानी दस्तुर बापतको सम्पूर्ण रकम आवेदक स्वयंको नामबाट तोकिएको म्यादभित्र, अर्थात् फेब्रुअरी २५, २०२६ सम्म दूतावासको बैंक खातामा जम्मा भइसकेको हुनुपर्ने सूचनामा जनाइएको छ। बैंक ट्रान्सफर गर्दा लाग्ने अतिरिक्त शुल्क सेवाग्राहीले आफैँ व्यहोर्नुपर्ने छ।

Advertisement 3

दूतावासले राहदानी आवेदनका लागि आवश्यक कागजातहरूको विस्तृत सूची पनि सार्वजनिक गरेको छ। साथै, राहदानी प्रक्रियामा सहयोग गर्ने बहानामा कुनै प्रकारको अनुचित लाभ लिएको पाइएमा नेपाल सरकार र रोमानियाको सम्बन्धित निकायमा जानकारी गराई कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिइएको छ।

प्रकाशित :२०८२ माघ १५, बिहीबार ११:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry