ईर्ष्याको छायाँबाट विवेकको उज्यालोतर्फ

मानव मन स्वभावतः संवेदनशील, तुलनात्मक र भावनात्मक हुन्छ। यही स्वभावका कारण कहिलेकाहीँ मानिस ईर्ष्या, असन्तोष र हीनभावनाको छायाँमा फस्न पुग्छ। अरूको सफलता, प्रगति वा प्रशंसालाई आफ्नो कमजोरीसँग तुलना गर्दा मनमा नकारात्मक भावना जन्मिन्छ, जसले आत्मविश्वास कमजोर बनाउँछ र सम्बन्धमा दूरी सिर्जना गर्छ। ईर्ष्या आत्मबोधको अभावको संकेत पनि हो।तर, जब मानिस आफ्ना भावनालाई विवेकपूर्वक बुझ्न थाल्छ, तब यही ईर्ष्या आत्मविकासको प्रेरणामा रूपान्तरण हुन सक्छ। विवेकले व्यक्तिलाई आफ्नै क्षमता, सीमाना र सम्भावनालाई पहिचान गर्न सहयोग गर्छ। अरूको सफलताबाट डाह होइन, प्रेरणा लिन सक्ने मानसिकता नै विवेकको उज्यालो हो। यस्तो चेतनाले मानिसलाई प्रतिस्पर्धाभन्दा आत्मविकासतर्फ उन्मुख गराउँछ।

Advertisement 1

मानव जीवन चेतनाको सतत यात्रा हो। यो यात्रा कहिलेकाहीँ प्रकाशतर्फ उन्मुख हुन्छ भने कहिलेकाहीँ अन्धकारतर्फ। ईर्ष्या, तुलना र असन्तोष त्यही अन्धकारका छायाहरू हुन्, जसले चेतनाको मार्ग ढाक्छन्। ईर्ष्या तब जन्मिन्छ, जब मानिसले आफ्नो मूल्य अरूको सफलतासँग तुलना गर्छ। अरूको प्रगति आफ्नै अपूर्णता देखिने आयनाजस्तै हुन्छ। यसरी, ईर्ष्या आत्मालाई कमजोर बनाउने मानसिक रोग हो।

ईर्ष्या मानव हृदयमा पलाउने एक सूक्ष्म तर प्रचण्ड आगो हो। यसले चेतनाको उज्यालो ढाक्छ, आत्मालाई बाँध्छ र जीवनलाई असन्तोषतर्फ धकेल्छ। तर यात्रा यहीँ समाप्त हुँदैन। ईर्ष्याको अन्धकार भित्रै आत्मबोधको उज्यालो लुकेको हुन्छ। मात्र साधना, विवेक र आत्मज्ञानले त्यसलाई देख्न सकिन्छ।ईर्ष्या तुलना गर्ने प्रवृत्तिबाट जन्मिन्छ। अरूलाई देख्ने दृष्टि विकृत हुन्छ। उसको सुख आफ्नै दुःख देखिन्छ। उसको सफलता आफ्नै असफलता ठानिन्छ। महाभारतमा दुर्योधनको चरित्र यही सत्यको प्रतीक हो। पाण्डवहरूको गुण र धर्मप्रति उसको ईर्ष्याले सम्पूर्ण कुरुक्षेत्रलाई विनाशतर्फ धकेल्यो। शक्तिशाली भएर पनि ऊ अधूरो रह्यो। उसको चेतना ईर्ष्याको अन्धकारमा कैद भयो।

Advertisement 2

ईर्ष्याले  अरूलाई मात्र नष्ट गर्दैन। ईर्ष्यालु व्यक्ति आफैँलाई पनि जलाउँछ। जसरी धुँवाले आगोको उज्यालो छोप्छ, त्यसरी ईर्ष्याले आत्माको प्रकाशलाई ढाक्छ। यसकारण चेतनाको शुद्धि र आत्मबोधको आवश्यकता अपरिहार्य हुन्छ।

ईर्ष्या मनुष्यको चेतनालाई अन्धकारमा पुर्‍याउँछ। जब मानिस आफ्नो उपलब्धि, शक्ति वा सम्बन्धलाई अरूको तुलनामा घटाएर मूल्याङ्कन गर्छ, तब उसमा ईर्ष्याको आगो बाली रहन्छ। यो भावना कहिलेकाहीँ सूक्ष्म रूपमा देखिन्छ—जस्तै साथीको सफलता प्रति सानो कटुता, वा सहकर्मीको प्रगति प्रति असन्तोष। तर यदि यसलाई नियन्त्रण नगरियो भने, ईर्ष्या क्रमशः द्वेष, घृणा र प्रतिशोधमा परिणत हुन्छ। मानव जीवनमा ईर्ष्याले जन्माउने अन्धकार  मानसिक मात्र हुँदैन; यसले सामाजिक सम्बन्ध, परिवारिक बन्धन, र समुदायिक सौहार्दलाई पनि प्रभावित गर्छ।

Advertisement 3

ईर्ष्याको मनोवैज्ञानिक प्रभाव हुन्छ। मनुष्यले आफ्नो मूल्याङ्कन र आत्मसन्तुष्टिलाई अरूको उपलब्धिमा आधारित बनाउँदा, आत्मविश्वास कमजोर हुन्छ। व्यक्तिको मन अशान्त, तनावग्रस्त र अनुत्तेजित बन्छ। यसले सोचाइको स्पष्टता, निर्णय क्षमता र नैतिक विवेकलाई पनि प्रभावित गर्छ। मनुष्य ईर्ष्याले ग्रसित हुँदा सत्य र न्यायको मूल्य घट्छ, र उसले आफ्नो जीवनको वास्तविक उद्देश्य गुमाउँछ। ईर्ष्या  व्यक्तिगत समस्यामा सीमित हुँदैन; यसले सामाजिक संरचनामा पनि विष घोल्छ। प्रतिस्पर्धाको नाममा अनावश्यक द्वन्द्व र असहमति जन्मिन्छ। मित्रता, प्रेम र परिवारिक सम्बन्धमा दूरी आउँछ। सामूहिक कार्य र समाजिक मेलमिलाप बाधित हुन्छ।

तर मानव मनको अन्धकारलाई पूर्णतया अन्धकारमा नराख्ने क्षमता पनि यसै मनमा निहित छ—आत्मचेतना र आत्मबोध। ईर्ष्याको विकृत प्रभावलाई चिन्नु र त्यसबाट मुक्त हुन सक्रिय मानसिक अभ्यास आवश्यक छ। आत्मचेतनायुक्त व्यक्ति आफ्नो भावनाहरूलाई निरीक्षण गर्छ। उसले बुझ्छ कि अरूको सफलता वा उपलब्धि उसको मूल्यलाई घटाउँदैन; बरु, यो प्रेरणा र शिक्षा बन्न सक्छ। यथार्थमा, ईर्ष्या मनको अन्धकार हो भने, करुणा, क्षमा, सहिष्णुता र आत्मबोध प्रकाश हुन्।

ईर्ष्याबाट मुक्त हुन ध्यान, योग, आत्मविश्लेषण र सकारात्मक चिन्तनले ठूलो भूमिका खेल्छ। जब व्यक्ति आफ्नो मनमा उत्पन्न ईर्ष्याको भावना सचेत रूपमा अवलोकन गर्छ, तब उसले यसलाई नियन्त्रण गर्न सक्ने क्षमता विकास गर्छ। आत्मसमीक्षा, अरूको दृष्टिकोणलाई बुझ्ने प्रयास र साँचो मूल्यको पहिचानले ईर्ष्यालाई आत्मशुद्धि र नैतिक चेतनामा परिणत गर्छ।

ईर्ष्या मानव मनको अन्धकार हो, जसले व्यक्तिगत जीवन र समाज दुवैलाई प्रभावित गर्छ। तर यही अन्धकारबाट मुक्त हुने मार्ग पनि मानव मनमा निहित छ—आत्मचेतना, आत्मविश्लेषण र नैतिक अभ्यास। जब मानिस आफ्नो चेतनालाई जागृत गर्छ, तब ईर्ष्याको अन्धकारमा उज्यालो फैलिन्छ। यस उज्यालोले  व्यक्तिको जीवनलाई शुद्ध र सुसंस्कृत बनाउँदैन, समाजमा मेलमिलाप, सहयोग र सामूहिक प्रगतिको आधार पनि तयार गर्छ।

अन्धकार  प्रकाशको अनुपस्थिति हो। ईर्ष्या  अज्ञानको छायाँ हो। उपनिषद् भन्छ— “तमसो मा ज्योतिर्गमय।” अन्धकारबाट उज्यालोतर्फ लैजानु नै मानव जीवनको सार हो। आत्मबोधको यात्रा यही बाटो हो। ईर्ष्याबाट आत्मबोधतर्फको यात्रा भित्रै सुरु हुन्छ। ध्यान, प्रार्थना, आत्मचिन्तन— यी साधनाहरूले मनलाई शुद्ध गर्छन्। जब चेतना आफैँलाई हेर्न थाल्छ, ईर्ष्या क्षणभरमै भङ्ग हुन्छ। आत्मबोधले देखाउँछ— अरूको सुख, अरूको सफलता पनि समष्टिगत चेतनाको अंश हो।रामायणमा लक्ष्मण यसको उदाहरण हुन्। रामको महानता देख्दा उसमा ईर्ष्या थिएन। बरु समर्पण, सेवा र श्रद्धा थियो। यसैले ऊ रामायणको उज्यालो चरित्र बने। यही दृष्टान्तले देखाउँछ कि आत्मबोधले कसरी मानिसलाई नकारात्मक भावनाबाट मुक्ति दिन्छ।

ईर्ष्या आत्मालाई बाँध्ने पहिलो शृङ्खला हो। यसले मानिसलाई निरन्तर असन्तोष, द्वेष र आत्महीनताको घेरामा राख्छ। तर आत्मबोध त्यो दिव्य शक्ति हो, जसले यस बन्धनलाई तोड्छ। जसरी बिहानको उज्यालोले रातको अन्धकार हटाउँछ, त्यसरी नै आत्मबोधले ईर्ष्याको अन्धकार मेट्छ। आत्मबोधले मानिसलाई आफ्नै मूल्य, क्षमता र मौलिकतालाई स्वीकार्न सिकाउँछ, जसले तुलना गर्ने प्रवृत्तिलाई कमजोर बनाउँछ।

जीवन निरन्तर यात्रा हो, जहाँ ईर्ष्या आउनु स्वाभाविक हो। तर त्यो अन्तिम सत्य होइन। असन्तोष र तुलना यदि सही दिशामा मोडिए भने आत्मसुधारको प्रेरणा बन्न सक्छन्। समस्या तिनको अस्तित्वमा होइन, गलत प्रयोगमा हुन्छ। जब असन्तोष ईर्ष्यामा परिणत हुन्छ, चेतना अन्धकारमा डुब्छ; तर जब आत्मचिन्तन र आत्मबोधमा रूपान्तरण हुन्छ, चेतना उज्यालो बन्छ।

बौद्ध दर्शनमा ईर्ष्यालाई ‘ईर्ष्या–क्लेश’ भनिन्छ, जसले दुःखको चक्रलाई बलियो बनाउँछ। बुद्धको “आफ्नै दीप बनेर चल” भन्ने सन्देशले यही संकेत गर्छ—अरूको प्रकाशमा होइन, आफ्नै चेतनाको उज्यालोमा बाँच्नु नै आत्मबोध हो। ओशोले पनि तुलना त्यागेपछि जीवन स्वतः आनन्दमय हुने बताएका छन्। फूलले फूलसँग तुलना नगरेझैं, आत्मबोधयुक्त मानिसले पनि अरूसँग होइन, आफ्नै यात्रासँग संवाद गर्छ।

गीता, उपनिषद्, रामायण र महाभारतका शिक्षाले पनि यही सत्य उजागर गर्छन्—जब व्यक्ति आफूलाई शरीर र पदको सीमामा होइन, चेतनाको अंशका रूपमा बुझ्छ, तब शान्ति जन्मिन्छ। लक्ष्मणको समर्पण, अर्जुनको आत्मबोध र बुद्धको निर्वाण यसका उदाहरण हुन्।

ईर्ष्याबाट आत्मबोधसम्मको यात्रा चेतनाको उच्चतम यात्रा हो। यस यात्राले मानिसलाई विनम्र, कृतज्ञ र करुणामय बनाउँछ। बाह्य प्रतिस्पर्धाभन्दा आन्तरिक अनुभूतिलाई प्राथमिकता दिने जीवन नै साँचो दर्शन हो। जब व्यक्ति आत्मबोधको उज्यालोमा बाँच्न थाल्छ, तब उसको जीवन शान्त, सन्तुलित र अर्थपूर्ण बन्छ। यही नै जीवनको गहिरो सत्य हो।

ईर्ष्याबाट आत्मबोधसम्मको यात्रा ‘म’ बाट ‘हामी’ हुँदै ‘अनन्त’ तर्फको यात्रा हो। ईर्ष्यामा ‘म’ को अहंकार छ; आत्मबोधमा ‘हामी’ को एकत्व। असन्तोषमा अधुरोपन छ; आत्मबोधमा पूर्णताको अनुभूति। साँचो शान्ति बाह्य उपलब्धिमा होइन, आन्तरिक अनुभूतिमा निहित छ। ईर्ष्या, तुलना र असन्तोषलाई जित्नेईर्ष्याको छायाँबाट मुक्त भई विवेकको उज्यालोतर्फ अघि बढ्नु आत्मसंयम, आत्मस्वीकृति र सकारात्मक सोचको अभ्यास हो। यस यात्राले व्यक्तिलाई सहिष्णु, आत्मविश्वासी र सन्तुलित बनाउँछ। अन्ततः, विवेकले निर्देशित जीवनले मनमा शान्ति, सम्बन्धमा मधुरता र जीवनमा स्थायित्व ल्याउँछ।

प्रकाशित :२०८२ माघ ११, आईतवार १५:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry