गायत्री मन्दिर क्षेत्रमा कटान रोकथाम गर्न काम थालियो

म्याग्दी। जिल्लाको रघुगङ्गा गाउँपालिका–३ स्थित कालीगण्डकी र राहुघाट नदीको दोभानमा रहेको धार्मिक पर्यटकीय स्थल गायत्री मन्दिरमा बाढी र कटान रोकथाम नियन्त्रण गर्न आवश्यक काम थालिएको छ।

Advertisement 1

सिँचाई तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखराले राहुघाट नदीमा आउने बाढीको कटानबाट जोखिममा परेको गायत्री मन्दीर परिसरको तटीय क्षेत्रमा ‘कम्पोजित’ प्रबिधिको पर्खाल निर्माण सुरु गरेको हो।

राहुघाट नदीको किनारमा ५३ मिटर दुरीमा नदीको सतहदेखि २ मिटर तलसम्म जग खनेर ४ मिटर चौडाईको आरसिसी र माथिल्लो भागमा ग्यावियन भरेर पर्खाल बनाउन लागिएको आयोजना कार्यालयका इञ्जिनियर नरजङ गुरुङले जानकारी दिए। रु. २ करोड १३ लाख ६६ हजार ८ सय ७८ लागत अनुमान गरिएको उक्त योजना निर्माणका लागि २०८२ भदौ ४ गते निर्माण कम्पनीसँग रु. १ करोड ४२ लाख ५३ हजार छ सय ४६ मा ठेक्का सम्झौता भएको छ।

Advertisement 2

आगामी २०८३ असार २५ गतेभित्र योजना निर्माण सम्पन्न गर्ने ठेक्काको अवधि छ। कम्पनीले राहुघाट नदीलाई डाइभर्सन गरेर पर्खाल निर्माण थालिसकेको छ।

गायत्री मन्दिर मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको छ। साधु, सन्तहरु ध्यान तपस्या गर्न आउने यहाँ मन्दिरका साथै उद्यान र धर्माशाला छ। गायत्री मन्दिरको धर्मशालामा मुक्तिनाथ जाने तिर्थयात्रीहरुलाई बसोबासको ब्यवस्था मिलाइएको छ।

Advertisement 3

यस वर्ष बेनी सहित म्याग्दी र कालिगण्डकी नदी कटानका कारण जोखिममा परेका बजार तथा बस्ती संरक्षणका लागि म्याग्दी, पर्वत र मुस्ताङ गरेर छ वटा नदी नियन्त्रण तथा बस्ती संरक्षण योजना सुरु भएका आयोजना कार्यालयका प्रमुख बिदुुरमान श्रेष्ठले बताए।

ती योजनाको ठेक्का सम्झौता भइ निर्माणका लागि निर्माण व्यवसायी कार्यस्थलमा परिचालन भइसकेका छन्। ती आयोजनाहरुको कुल लागत अनुमान रु. २० करोड २९ लाख ७६ हजार ८ सय ३९ रहेको छ।

प्रकाशित :२०८२ पुष १६, बुधबार १२:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry