अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा समेट्न राष्ट्रिय अभियान सुरु

काठमाडौं। नेपालमा कार्यरत लाखौँ अनौपचारिक र स्वरोजगार श्रमिकहरूलाई सामाजिक सुरक्षाको घेराभित्र ल्याउन ‘अनौपचारिक तथा स्वरोजगार श्रमिकका लागि सामाजिक सुरक्षा राष्ट्रिय अभियान’ औपचारिक रूपमा सुरु भएको छ। सामाजिक सुरक्षा कोष र अन्तर्राष्ट्रिय श्रम संगठन को संयुक्त पहलमा काठमाडौंमा आयोजित कार्यक्रमका बीच यो अभियानको शुभारम्भ गरिएको छ।
Advertisement 1
नेपालमा कुल श्रमिकमध्ये ८६ प्रतिशतभन्दा बढी अनौपचारिक क्षेत्रमा कार्यरत छन्। विशेष गरी महिलाहरूको अवस्था अझै चुनौतीपूर्ण छ, जहाँ कार्यरत महिलामध्ये ९० प्रतिशतभन्दा बढी अनौपचारिक श्रममा आबद्ध छन्। हालसम्म सामाजिक सुरक्षा कोषमा करिब २७ लाख निजी क्षेत्रका श्रमिकहरू सूचीकृत भइसके पनि अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकको सङ्ख्या भने करिब १५ सय मात्र रहेको छ ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारीले सामाजिक सुरक्षालाई पुर्ण रुपमा कार्यान्वयन गर्नका लागि आवश्यक सहयोग र कानुनि रुपमा आउने बाधा अर्चन आफ्नै कार्याकालमा टुङ्ग्याउने प्रतिवदता गरेका छन्।
Advertisement 2
उनले भने, ‘झरी जतिसुकै ठूलो भए पनि छाता कति बलियो छ भन्ने कुराले अर्थ राख्छ, सामाजिक सुरक्षा त्यही बलियो छाता बन्नुपर्छ।’ उनले एकीकृत प्रणालीको अभावमा सामाजिक अशान्ति र बाध्यकारी वैदेशिक रोजगारी जस्ता समस्या सिर्जना हुने भन्दै यस प्रणालीलाई सुदृढ बनाउनु राज्यको दायित्व भएको बताए।
अभियानका मुख्य प्राथमिकताहरू
Advertisement 3
यो अभियानले आगामी दिनमा स्थानीय सरकारहरूसँग समन्वय गरी श्रमिकको पहिचान र दर्ता गर्ने, योगदानमा आधारित अनुदानलाई कार्यान्वयनमा ल्याउने र सञ्चार माध्यममार्फत जनचेतना फैलाउने लक्ष्य राखेको छ। साथै, दर्ता र सेवा प्रवाहलाई सहज बनाउन आईएलएमआईएस र ओपेनआईएमआईएस जस्ता डिजिटल प्रणालीहरूको एकीकरणमा जोड दिइने जनाइएको छ ।
नेपाल सरकारले आफ्नो १६औँ आवधिक योजनामार्फत सन् २०२९ सम्ममा कुल जनसंख्याको ६० प्रतिशतलाई सामाजिक सुरक्षामा समेट्ने र अनौपचारिक रोजगारीलाई २२ प्रतिशतले घटाउने लक्ष्य राखेको छ ।
आईएलओका नेपाल निर्देशक नुमान ओज्कानले भने, ‘यो अभियान कुनै पनि श्रमिकलाई पछाडि नछोड्ने संकल्प हो। सामाजिक सुरक्षा आर्थिक उत्थान र समावेशी विकासका लागि अपरिहार्य छ ।’
कार्यक्रममा सञ्चारकर्मीहरूका लागि सामाजिक सुरक्षा सम्बन्धी अभिमुखीकरण तालिम समेत प्रदान गरिएको थियो, ताकि यसबारे सटिक र प्रभावकारी सूचना प्रवाह हुन सकोस् ।














