अर्थतन्त्रले कोल्टे फेर्ने आयोजना काठमाण्डौ–निजगढ फाष्ट ट्रर्याक

काठमाडौं। खाली राजनीति, आन्दोलन, चुनाब, यो पार्टी, त्यो पार्टी, विद्रोह, धम्की, बादविवाद र अराजकताको यो मौसममा आशाको दियो बाल्ने एउटा आयोजनाको कुरा गर्दैछु। अर्थात बहुआयामिक महत्वको आयोजना काठमाण्डौ–निजगढ फाष्ट ट्रर्याकबारे केही लेख्दैछु। किन पनि यस विषयमा लेख्दैछु भने पहिलो त यस आयोजना सम्पन्न हुनुपर्ने थपिएको समय सिमा ०८३ चैत्र अब धेरै टाढा छैन। जम्माजम्मी १७ महिना बाँकी छ। यही मेलोमा जनताको भरोषाको केन्द्र नेपाली सेनाले पनि यस आयोजना समयसिमामै सक्छौ भनिरहेको छ। दोश्रो, पंक्तिकारले हरेक नयाँ सरकारलाई झक्झक्याउन पनि यसबारे लेखिरहेको छ।
Advertisement 1
नेपालीहरुको सपनाको, सम्बृद्धिमा बृहत्तर टेवा दिने बहुआयामिक महत्वको यस आयोजना काठमाण्डौ–निजगढ फाष्ट ट्रर्याक नेपाली सेनाद्धारा निर्माणधीन छ। ०७४ साल जेष्ठ १४ गते तत्कालिन प्रधानमन्त्री प्रचण्डद्धारा शिलान्याश भइ निर्माणाधिन यस आयोजना समय सिमामै सम्पन्न नहुँदा लागत बढीरहेको छ।
फाष्ट ट्रर्याकको कामको प्रगती
चालु आर्थिक बर्ष ८२/०८३ को अशोज महिनासम्ममा यसको भौतिक प्रगती ४३.५ प्रतिशत र ४४.७ प्रतिशत वित्तिय प्रगति भएको अयोजना निर्देशक धमेन्द्र कुमार झाले बताएका छन्। खासगरी सेनाले १२ वटा प्याकेज बनाएर फास्ट ट्रर्याकलाई निर्माण गरिरहेको छ।
Advertisement 2
नेपाली सेनाले बनाइरहेको यस राष्ट्रिय गौरव आयोजनाको ०७६ साल भदौ १ गते मात्र डिपिआर स्वीकृत भएको थियो। ०७४ साल देखि नै थालनी भएपनि डिपिआर स्वीकृत हुन समय लाग्दा यसको ढिलाइ भएको देखिन्छ। तर केही बर्षयता यसको काम रफतारमा अघि बढीरहेको छ।
७१ किमी लम्बाइ रहेको आयोजनाले बागमती प्रदेश र मधेश प्रदेशका गरी ४ जिल्ला छोएको छ। यसमा साना–ठुला गरी १३ वटा सुरुङमार्ग निर्माण हुनुपर्नेमा ७ वटामा काम भइरहेका छन्। जसमध्ये धेद्रे र लेनडाँडा सुरुङ्गको बे्रकथु भइसकेको छ।
Advertisement 3
जे होस् फाष्टट्रर्याकको काम हुँदै नभएको होइन। यसबीच ५ हजार १ सय ७२ रोपनी जग्गाको मुआब्जा पनि दिइसकेको छ। रुख कटान तथा बृक्षरोपण जस्ता कामहरु अन्र्तगत हालसम्म ४९ हजार ६३४ वटा रुख कटान गरिएको र त्यसको बदलामा ७ लाख भन्दा बढी बिरुवा रोपिएको जनाइएको छ। १२ वटा प्याकेजमध्ये ११ वटामा त्रीव काम भइरहेपनि यसको प्रस्थानबिन्दु खोकना इलाकामा पर्ने प्याकेजमा भने केही झमेला अझै कायम छन्। खासगरी फाष्ट ट्रर्याकको खोकना स्थीति सुरुबिन्दु निर्धारण, जग्गा अधिकरण तथा सवारी आवागमन ब्यवस्थापन जस्ता विषयमा समस्या अझै सुल्झिएका छैन। त्यसबाहेका अवरोध यस आयोजनाका लागि अन्य र्छैनन्।
तर नाम जस्तै फाष्ट अर्थात तीव्र काम भएको भने होइन। त्यसमा नेपाली सेना मात्र होइन, नेपाल सरकारका सम्बद्ध सबै निकाय, सार्वजनिक खरिद ऐन, नियम, नियमालवी सबै जिम्मेवार छ। सबै तप्काबाट जिम्मेवार हिसावले साथ सहयोग रहने र काम हुने हो भने यस आयोजनाको निर्माण अबको १७ महिना भित्रै गर्न नसकिने पनि होइन। भारत तथा चीनमा एक–एक बर्षमै स्मार्ट सिटिहरु नै तयार हुन्छन् भने नेपालमा एउटा आयोजना बनाउन धेरै बर्ष लाग्नुपर्ने कारण छैन। यसको १२ मध्ये ११ वटा प्याकेजमा धमाधम काम भइरहेको छ भने एउटा प्याकेजमा केही अवरोध देखिन्छ। खासगरी मुआब्जा तथा स्थानीय अवरोधका कारण। त्यो फुकाउने हो भने १७ महिना पनि थोरै समय होइन। किनकी भौतिक रुपमा पनि यस आयोजनाको धेरै कामहरु भइसकेका छन्। निर्माणाधिन पुलहरु तथा सुरुङ्गहरु करिव करिव बनिसक्न लागेका छन्। त्यसकारण यस आयोजनाले धेरै आशा दिलाएको छ।
दशकाैं देखि योजनामै सिमित यस आयोजनाको निर्माण कार्य सुरु भएयता खासगरी तराई र उपत्यकाबासी उत्साहित छन्। नेपाली सेनाले उच्च महत्व दिएको र सेनाको पनि सक्षमता विश्व समुदायले देख्ने र इतिहास रच्ने यस आयोजना वास्तम्बमै सबै हिसावले महत्वपुर्ण छ।
यसले तराइ–मधेशको सम्बृद्धिको ढोका खोल्ने विश्वास छ। ५ बर्षमै सक्नेगरी सेनाले निर्माण र व्यवस्थापनको जिम्मा थालेको भएपनि कोरोना जनित समस्या, अन्तराष्ट्रिय परामर्शदाताको छनोट र सार्वजनिक खरिद ऐनका नियमावली सम्बन्धी व्यवस्था अनुसार आयोजनाको भौतिक प्रगती सुस्त हुन गएको भनाइ रहँदै आएको छ। तर पछिल्लो समय फाष्ट ट्रर्याकका सबैजसो ठेक्का लागेर धमाधम काम भइरहँदा यसले एउटा आशाको दियो बालेको छ।
मुलुककै ठुलो शहर तथा केन्द्रिय राजधानी काठमाण्डौंलाई करिव सवा घण्टामै जोड्ने फाष्ट ट्रर्याक निर्माण हुँदा तराईबासीले निश्चय नै प्रचुर लाभ उठाउन सक्छन्। कृषि उत्पादनको लागि उर्वर मानिएको तराईका बारा, पर्सा, रौतहट, सिरहा, सर्लाही, धनुषासम्मका जिल्लाहरुले काठमाण्डौलाई सहजै आफनो बजार बनाउन सक्छन्। फलस्वरुप देशले तेस्रो मुलुकहरुबाट खरबौको तरकारी तथा खाधन्य आयात गरिरहेको कुरा यथेष्ट घटाउन सक्छ। किनकी काठमाण्डौबाट नजिकैको जिल्ला जस्तो कि काभे्र, पाँचखाल लगायतले अहिले पनि तरकारीमा थोरै भरथेग गरिरहेको छ। त्यसमा अब सवा घण्टामै आइपुग्ने बारा, पर्सा, रौतहट, महवानपुर लगायतले पनि सघाउने छ। त्यसको सकारात्मक असर सोझै अर्थतन्त्रमा पर्ने हुन्छ। किनकी काठमाण्डौ उपत्यका अहिले खाद्यन्य तथा कृषि उपजमा पुरै परर्निभर छ। जटिल भौगोलिक अवस्था र लम्बेतान एवं गुणस्तरहीन रोडको अप्ठ्याराका कारण त्यसको फाइदा भारतले लिइरहेको छ। आयात मार्फत नेपालीहरुको पैसा सिधै भारत गइरहेको छ। नेपालले हिजोआजका बर्षहरुमा कृषिजन्य वस्तुको आयातमा मात्रै बार्षिक ४ खर्ब हाराहारी ब्यापारघाटा ब्यहोरिरहेको छ। काठमाण्डौ उपत्यकामा अत्याधिक रुपमा थुप्रिएका मान्छे र तीनको भातभान्सा चलाउन ठुलो पैमानामा कृषि उपजको जरुरी पर्ने हुन्छ। त्यसको परिपुर्ती अब भारतले होइन फाष्ट ट्रर्याकले छुने छेउछाउका जिल्लाहरु गर्नेछ। अर्को, ३ सय कि.मि पार गरेर ल्याइने सामान भन्दा ७१ कि.मिमै काठमाण्डौ आइपुग्ने सामान उपभोक्ताको लागि स्वाभाविक रुपमा सस्ता हुन्छन्। जसले जनताको चुलोचौको सुलभ हुन्छ। अर्को महत्वपुर्ण त यस आयोजना बन्दा बार्षिक १० अर्ब बढीको त पेट्रोलियम पदार्थको ढुवानीमा बचत हुने अध्ययनहरुले देखाएको छ। त्यस हिसावले यस आयोजना निर्माण सम्पन्न भएर सञ्चालनमा आउँदा नेपाली अर्थतन्त्रले नै कोल्टे फर्नेछ।
खासगरी विकास निर्माणको मुख्य आधारशिला भनेको अत्याधुनिक सडक, विजुली, खानेपानी तथा टेलि कम्युनिकेशन जस्ता अत्यावश्यक पुर्वाधारहरुको क्षेत्रमा हुने प्रगती नै हो। निश्चय नै त्यसले अनेकन अवसरहरु सिर्जना गर्छन्। बजार विहिनहरुलाई बजार सिर्जना गर्छ। अनेकन समस्या झेलिरहेका काठमाण्डौ, ललितपुर जस्ता शहरहरुलाई समस्याबाट निदान गर्छ।
देशकै मुहार बदल्न सक्ने र मुलुककै आधा जनसङख्यालाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा यस आयोजनाले सकारात्मक प्रभाव पार्ने देखिन्छ।

यस आयोजना निर्माणका लागि पछिल्लो परिर्माजित डीपीआर अनुसार २ खर्ब ११ अर्ब ९३ करोड रकम लागत लाग्नेछ। नेपाली सेनाका अनुसार यस आयोजनमा ९० ओटा पुल पर्छन्। ति पुलहरुमध्ये कतिपय विशिष्ट प्रकृतिका अग्ला अग्ला छन् र सबै पुलहरुको कुल लम्बाई नै करिव १० किमि जति पर्छन्। खासगरी पुलहरुको निर्माणको कामले नै यस आयोजनामा धेरैजसो समय खर्च भएको छ। नेपाल आफैमा धेरैजसो पहाडी भुभागले बनेको अप्ठेरो भौगोलिक संरचनाले गर्दा राजमार्गहरु निर्माणको क्रममा केही जटिलता अवश्य हुन्छन्।
फाष्ट ट्रर्याक बन्दा अर्थतन्त्रलाई लाभैलाभ
नेपाललाई नयाँ बनाउन र विकासको स्वरुप बदल्न काठामाण्डौ–निजगढ फाष्ट ट्रर्याक उच्च प्रभावकारी आयोजना रहेको सबै सहमत छन्। अन्य आयोजनाहरुको तुलनामा लाभ–हानीको हिसावले पनि यस आयोजना अत्याधिक लाभदायी छ। धेरै जनसंख्या लाभप्रद हुने कारण पनि यसको महत्व अहम छ।
खासगरी फास्ट ट्रर्याक काठमाण्डौको महङगी, अभाव, असुरक्षा व्यवस्थापन गर्न, जनसाङख्यिक स्थान्तरण, फलफुल तथा तरकारीमा आत्मनिर्भरता, अवसरहरुको फैलावट र विकेन्द्रीकरण लगायतको कारणले यस आयोजना महत्वपूर्ण छ। फाष्ट्र ट्रर्याकले काठमाण्डौ उपत्यकाका ६० लाखभन्दा बढी मानिसहरुका लागि महत्वपूर्ण सरोकार र सम्बन्ध राख्छ। तिनको आधारभुत आवश्यकतासँग प्रत्यक्ष सरोकार राख्दछ।
धेरै विश्व विख्यात विकासवीदहरुले पूर्वाधार निर्माण नै विकासको पहिलो सर्त हो भन्ने गरेका छन्। त्यो वास्तविकता हो। नेपालमा भने यथोचित पूर्वाधार विकास नै हुन सकेको अवस्था छैन। यदि तराई, पहाड र हिमाल बिचको अन्योन्याश्रित सम्बन्धलाई व्यवस्थीत गर्ने हो र ठुला पूर्वाधार निर्माणमा अग्रसरता लिने हो भने नेपालको विकास धेरै रफतारको विषय हुदैन। नेपालको दिर्घकालिन विकासको लागि वहुआयामिक महत्वका ठुला सडकको निर्माण अति आवश्यक छ। त्यसमा पनि घना जनसङख्याले घेरिएको काठमाण्डौसँग सिधै जोडिने फाष्ट ट्रर्याक जस्तो आयोजनाको ठुलो महत्व रहन्छ। काठमाण्डौमा हाल महगीं, अभाव र अराजकता ब्याप्त छ। यसो हुनुमा छिटो छरितो दुरिको सडक अभावले ठुलो भुमिका खेलेको छ। धेरैजसो मान्छेहरु सुविधाको लागि नै काठमाण्डौ उपत्यकामा नै थुप्रिएका छन। काठमाण्डौको तुलनामा देशका अन्य स्थानहरु विकासको दृष्टिले पछि परेका कारण आम मान्छेको नजर यसैमा छ। निश्चय पनि फाष्ट ट्रर्याक जस्तो छोटो दुरीमै तराईसँग जोडिने पूर्वाधार निर्माण भएमा राजधानीको जनघनत्व घटन सक्छ। साथसाथै राजधानीको धेरै समस्याको निदान हुन्छ। जस्तो काठमाण्डौ निजगढ फाष्ट ट्रर्याक (७१ किमि) काठमाण्डौलाई लामो समयदेखि जोड्दै आएको मुगलिङ्ग सडकखण्ड (२६२ किमि) भन्दा १९१ किमि छोटो, गुणस्तरीय र सिधा हुनेछ। जसले मुगलिङ्ग सडक खण्डद्धारा काठमाण्डौ उपत्यकामा आयात निर्यात हुने वस्तुहरु भन्दा फाष्ट ट्रर्याकबाट आयात–निर्यात हुने वस्तुहरु स्वतः धेरै सस्ता, ताजा हुनेछन्। एसियाली विकास बैंक र विश्व बैंक लगायत विभिन्न संस्थाहरुले गरेको अध्ययनहरुले पनि फाष्टट्रर्याकको प्रयोगबाट नेपालले वार्षिक १० अर्व भन्दा बढीको पेट्रोलियम पर्दाथ बचत गर्ने देखिएको छ। फाष्ट ट्रर्याक प्रस्तावित निजगढ अन्र्तराष्ट्रिय विमानस्थलको आधारस्तम्भ समेत हो। यि दुवै आयोजना एक अर्कामा अन्र्तरसम्बन्धित छन्। यी आयोजनाहरुले काठमाण्डौ उपत्यकामा संकटको रुपमा विकसित हुदै आएको पानि समस्या, इन्धन समस्या, फोहोरमैला समस्या हल गर्न धेरै हदसम्म योगदान दिनेछन्। अर्को काठमाण्डौ केन्द्रित विकासलाई यसै आयोजनाहरु मार्फत तराईसम्म पुर्याउन सकिन्छ। जसले गर्दा रोजगारी र आय आर्जनका नयाँ–नयाँ सम्भावनाहरु पहेलिन्छन्। गुणस्तरहीन सडक प्रयोग गर्दा दिनहूँ जस्तो हुने सडक दुर्घटना कम गर्न सकिन्छ। हरेक हिसावले यी दुइ आयोजना मुलुकको लागि फलदायी छन्। यी आयोजना शिघ्र निर्माण गर्नु राज्यको दायित्व हो।
(गौतम आर्थिक लेखक तथा विश्लेषक हुन्।)











