मधेशी नेतालाई ओलीले धेरैचोटि उफार्नु र थचार्नुभएको छ

काठमाडौंमा काम गरे अग्लो भइन्छ भन्ने आममानसिकताका अपवाद हुन् चन्द्रकिशोर । जो तराईलाई कर्मक्षेत्र बनाएर भुइँमान्छेको कथा लेखिरहेछन्, तीन दशकदेखि । सर्लाहीको बलरा मूलथलो । त्यहाँबाट वीरगञ्ज सरे । बीएस्सी पढ्दैदेखि पत्रकारिताप्रति हुटहुटी जाग्यो । ‘ग्राम उत्थान परिषद्’ले ०४३ सालमा प्रकाशन गर्ने हस्तलिखित पत्रिकाबाट शुरु भएको पत्रकारिताको यात्रा प्रभातवाणीको सम्पादक, देशान्तर, राष्ट्रपुकार, पुनर्जागरण, हिमाल खबर पत्रिका हुँदै खोज पत्रकारिता केन्द्र (खोपके) मा अध्यक्षको भूमिकामा छन् । ‘तराई चिनो’ ‘डेट लाइन ! तराई’ चन्द्रकिशोरका चर्चित स्तम्भ हुन् । आफ्नो कलममार्फत पहाड र तराईबीचको असमानता र मधेशको यथार्थताका कथा काठमाडौंलाई सुनाइरहन्छन् ।
यसअघि प्रधानमन्त्री ओलीलाई मधेशप्रति वैमनस्यता उत्पन्न गर्ने नेताको रूपमा चिनिन्थ्यो, अहिले उहाँको मधेशविरोधी छवि सुध्रिएको हो ?
– उहाँ मधेश घुमेको, बुझेको र मधेशबाट राजनीतिक शक्ति सञ्चय गर्नुभएको नेता । मधेश व्यँुझिएर संघर्ष गर्न थाल्दा त्यसविपरीत अडान लिनुभयो । जनस्तर, भुइँ तहबाटै उहाँविरुद्ध नारा लाग्यो । अहिले १२० जनाको मुद्दा फिर्ता लिइएको छ । त्यो सहज, स्वत स्वफूर्त रूपमा लिइएको होइन । मधेश आन्दोलनको लिगेसी बोकेको दल (जसपा) आवश्यक परेपछि मात्र यो निर्णय लिइएको हो । मोलमोलाई गर्ने स्थितिमा जसपा छ, व्यवस्थापन गरिदिने ठाउँमा उहाँ हुनुहुन्छ । उहाँको कोर्स करेक्सन भएको, व्यक्तिगत अडान फेरिएको स्थिति होइन । मात्र बाध्यात्मक अवस्था हो । छिमेकी मुलुक भारतको उत्तर प्रदेशमा दलित संस्कृतिलाई वैचारिकी दिने कान्छीराम भन्नुहुन्थ्यो– मजबुत सरकारले सीमान्तकृतको माग पूरा गर्दैन, मजबुर सरकार भयो भने मात्र उसले बाध्यात्मक रूपमा कुरा सुन्ने हो । अहिले राजनीतिमा कहीँ न कहीँ ओलीजी एक्लो पर्नुभएको छ र उहाँलाई मधेश (जसपा) को साथ चाहिएको छ ।
मजबुत नभई मजबुर सरकारको पछि लाग्नुपर्ने पूर्वराजपाका महन्थ ठाकुर र राजेन्द्र महतोहरूको बाध्यता के होला ?
– संविधान निर्माण १६ बुँदे सम्झौतामा टेकेर गरियो । त्यसरी आएको संविधानका केही मौलिक पक्ष छन् । आधारभूत लोकतन्त्रलाई संरचनागत रूपमा अघि बढाउने काम भएको छ । यही संविधानले गणतन्त्र, धर्मनिरपेक्ष, संघीयता, समावेशीलाई संस्थागत गरेको छ । संविधान निर्माण गर्ने एमाले, माओवादी र कांग्रेस तीन शक्तिशाली दलका निर्णयप्रति मधेशले असहमति जनायो । संविधानप्रति असहमतिसहितको आन्दोलन लामो समय चल्यो तर कुनै वार्ता, बिना उपलब्धि सकियो । त्यहीपछि मधेशमा पराजित मनोविज्ञान आयो । निर्वाचनलाई आन्दोलनको माध्यम मानौं भनेर उपेन्द्र नेतृत्वको संघीय समाजवादी र महन्थ नेतृत्वको राजपा एक भई प्रदेश नम्बर २ मा गठबन्धन सरकार बनाए । उपेन्द्रजी संघ सरकारमा सामेल हुनुभयो । लामो समयसम्म सरकारमा रहँदा पनि मधेशका लागि केही गर्नुभएन । उहाँ सरकारमा किन जानुभयो ? किन फिर्ता हुनुभयो ? त्यत्तिका दिन किन बस्नुभयो ? केही जवाफ दिनुभएन । आन्दोलनलाई उचाइ दिन उपेन्द्र यादवजी पनि टिकापुर जानुभएको थियो तर रेशम चौधरीको निम्ति कहिल्यै केही गर्नु भएन । जब राजपाले रेशम चौधरीको कुरा उठायो, उहाँ पार्टी संरचनामार्फत आफैं सरकारमा हुने, पार्टीको तर्फबाट विज्ञप्ति पनि निकाल्ने दोहोरो खेलमा लाग्नुभयो तर पनि मधेशले अहिले के बुझेको छ भने त्यत्रो आन्दोलन गरेर पनि हामीले मोलमोलाई गर्न जानेनौं ।
मधेश नेतृत्व कलेक्टिभ बार्गेनिङमा निपुण हुनुपर्छ । मधेशभित्रको अन्तरविरोधलाई राज्यशक्तिले विभाजन गर्दै लग्यो र उपलब्धि हासिल भएन । अहिले मधेशका नेताहरूलाई के परेको छ भने संसदीय राजनीतिको अंकगणितीय खेलमा मोलमोलाई गर्न सकियो भने केही उपलब्धि हासिल गर्न सकिन्छ । प्रतिनिधिसभा विघटन प्रतिगामी कदम हो भन्नेमा सबै दल सहमत छन् तर यो कमजोर सरकारबाट लाभ लिन सकिन्छ भने किन लाभ नलिने ? संसदीय राजनीतिको खेल नै त्यही हो ।
मधेशमा त्यागी नेताको छवि बनाउनुभएको महन्थ ठाकुरलाई केही बार्गेनिङ गर्न सकिन्छ भन्ने लोभ हो, उसोभए ?
– मधेश मात्र होइन, नेपालकै राजनीतिमा महन्थ ठाकुर चिनिएको नाम हो । अहिले प्राप्त जति पनि उपलब्धि छन् लोकतन्त्र, गणतन्त्र, संघीयता । त्यसका लागि पटक पटक जनपरीक्षामा उत्रिएका । मधेशी राजनीतिमा रहेकामध्ये मधेशदेखि पहाड, हिमालसम्म चिनिएका पात्र हुन् महन्थ । पञ्चायती व्यवस्थाविरुद्ध उनको संघर्ष, विद्रोह गरी पुरानो पार्टी छाडेर आउनुभयो, वैयक्तिक सत्ता र लाभको कुनै काम गर्नु भएन । उहाँमा खड्गप्रसाद ओलीप्रति कुनै अनुराग, आसक्ति छैन । जसरी विगतमा पञ्चायती राजनीतिमा बीपी कोइरालाले राजासँग वार्ता, संवाद गर्थे र संघर्ष पनि । अहिले बालुवाटारमा को पात्र बसेको छ भन्दा पनि ऊसँग संवाद र संघर्ष दुबै गर्ने रणनीति हो ।
अकंगणितीय हिसाबले प्रधानमन्त्री ओली र जसपाको सरकार बन्ला वा जसपा, कांग्रेस र माओवादीको ?
– अहिले सरकारमा जाने किन ? संविधान संशोधन गर्ने म्याण्डेट थियो । त्यसको अतिक्रमण उपेन्द्र यादवले गर्नुभयो । ओली नेतृत्वको सरकारमा किन सहभागी हुनुभयो ? मधेशका जनतामा पराजयको मनोविज्ञान छ । त्यो रहेसम्म लोकतन्त्र बलियो हुँदैन । भोलि लोकतन्त्रलाई आघात पुग्ने काम भयो भने संघर्षको पहिलो पक्ष मधेश नै हुन्छ । राजा महेन्द्रले ‘कु’ गर्दा त्यति नेपाली समाजको सैनिकीकरण भएको थिएन । माओवादी जनयुद्धमा पनि त्यति सैनिकीकरण भएको थिएन तर ०६२ को आन्दोलनपछि मधेशमा सुरक्षा संयन्त्रको सबल उपस्थिति गराइएको छ ।
शेरबहादुर, पुष्पकमल वा उपेन्द्र नै प्रधानमन्त्री बन्नुभए पनि हुने केही होइन, यही राज्यसंयन्त्र र संविधान रहेसम्म केही सुधार हुँदैन ।
महन्थ ठाकुर नै भावी प्रधानमन्त्री हुने कुरा सरकारी मुखपत्रमै छापिएको अवस्था छ । सम्भावना कत्तिको देखिन्छ ?
– स्थायी सत्ताले कहिलेकाहीँ कुनै व्यक्तिलाई देखाएर हामीले यसो ग¥यौं भन्छ । प्रथमपटक गणतान्त्रिक नेपालमा राष्ट्रपतिको चुनाव हुँदै गर्दा तीन जना मधेशका उम्मेदवार भए । माओवादीका तर्फबाट रामराजाप्रसाद सिंह, कांग्रेसका तर्फबाट रामवरण यादव र एमालेको तर्फबाट रामप्रित पासवान तर जतिखेर एमालेलाई अनुकूल थियो त्यतिखेर रामप्रितलाई राष्ट्रपति बनाइएन । मधेशले मधेशका लागि मात्र होइन, नेपालका लागि बाँच्न चाहेको हो । मधेशले मधेशको हैन, विशाल भूखण्डमा शासन गर्न खोजेको हो । अहिलेसम्म खास समुदायका मान्छेले नेतृत्व गरे । एक पटक मधेशले मौका पाउनुपर्छ भनेको हो । अहिलेको राज्यसंरचनामा कोही व्यक्ति आएर सफल हुने म देख्दिन । उपेन्द्र–महन्थहरूले त्यो कुरा बुझ्नुभएको छ । छिमेकी मुलुक भारतमा गुजराल, चन्द्रशेखर, चौधरी चरणसिंह प्रधानमन्त्री भएर पनि उनीहरूको हविगत र नियति के भयो ? हाम्रा मधेशी नेताहरूले राम्रैसँग बुझेका छन् ।
प्रधानमन्त्री ओलीको चाहनामा जताततै अस्थिरताको बीजारोपण भएको छ भनिन्छ । प्रदेश नम्बर दुईमा सभामुख महन्थ ठाकुर निकटका र मुख्यमन्त्री उपेन्द्र यादव निकटका छन् । त्यहाँ पनि अरू प्रदेशमा झैँ गडबड हुने स्थिति कत्तिको देख्नुहुन्छ ?
– हामीकहाँ प्रदेश शैशव अवस्थामा छ । एकात्मक शासन व्यवस्थाबाट गणतन्त्र र संघीयतामा गयौं । संघीयताको अभ्यास गर्दा उच्च मूल्य–मान्यता पालन हुनुपथ्र्याे । संविधान कार्यान्वयन गर्नुपर्ने कार्यकारी अधिकारप्राप्त व्यक्तिलाई यी परिवर्तन, उपलब्धिप्रति गहिरो लगाव देखिएन । यो बीचमा प्रदेश प्रमुखहरू किन फेरिए ? किन अर्काे मान्छे ल्याइए ? बहुतहको सरकार भएर पनि शक्तिको स्रोत र राजकीय साधनहरू केन्द्रमै किन सीमित गरिए ? पछिल्लो दिनमा संविधानको अक्षर मात्र बोल्दैनन्, अभ्यासले पनि एउटा परम्पराको पदचिह्न कोर्छन् । कर्णाली, गण्डकी, लुम्बिनी प्रदेशको पदछाया प्रदेश दुईमा पनि नपर्ला भन्न सकिन्न । काठमाडौंको संघीय राजनीति ०४६–५० को दशकमा जे देखियो त्यो विकृति प्रदेशमा पनि नदेखिएला भन्न पर्दैन ।
यस्तै स्थिति विद्यमान रहे प्रदेश नम्बर दुईमा कम्युनिष्टको हालत कस्तो देख्नुहुन्छ ?
– पहिला कम्युनिष्टहरू कुन रूपमा चुनावी मैदानमा आउँछन् ? गठबन्धन हुन्छ वा एमाले फेरि विभाजन हुन्छ ? वा साना वामपन्थी पनि एकाकार भएर चुनावमा होमिन्छन् । त्यसले निर्धारण गर्छ । अहिले एमाले र माओवादीबाट ६ वटै प्रदेशमा चुनावी गठबन्धनका मुख्यमन्त्रीहरू छन् तर प्रदेश नम्बर दुईमा मात्र माथिको तौरतरिकाभन्दा फरक ढंगले सरकार बनेको छ, जो केन्द्रप्रति विमति राख्छ । सातवटा प्रदेशका राजधानी बुटवल, धनगढी, पोखरा, हेटौंडा, सुर्खेतमा छन् तर काठमाडौं पछि कुनै ठाउँ सुनिएको र चिनिएको छ भने त्यो जनकपुर नै हो । अरू प्रदेशमा केन्द्रबाट जे जस्तो निर्देशन आउँछ, उस्तै गर्छन् तर प्रदेश दुईले त्यो भन्दा भिन्न गर्छ । त्यो यो प्रदेशको सामथ्र्य हो । अहिले खड्गप्रसाद ओलीले के बुझ्नुभयो भने मेरो विजय यात्रामा रथको घोडालाई कसैले रोक्न सक्छ भने त्यो प्रदेश २ ले मात्र हो । मधेश आन्दोलनको उर्वर ठाउँ यही हो । उहाँले पहिले उपेन्द्र यादवलाई सरकारमा लगेर भेदभाव र अपमान गर्नुभयो । अहिले महन्थ, राजेन्द्रहरूलाई आफूसँग जोड्न खोजिरहनुभएको छ । मधेश आन्दोलनका शक्तिहरूलाई छिन्नभिन्न पार्ने, एक भएर जान नदिने उहाँको पुरानै नीति हो । केहीलाई शक्तिको लाभ दिएर किन्ने नभए दबाब दिने, उपयोग गरेर शक्ति सञ्चय गर्ने दाउ हो । मधेशी जनताको मनमनमा उहाँप्रति सौहार्दता छैन । अहिलेको नेतृत्वले आगामी चुनावलाई लक्ष्यित गरी साम, दाम, दण्ड, भेद सबै नीति सुरु गरिसकेको छ ।
यही अवस्था रहे जसपा सग्लो रहला ?
– गाह्रो छ । दुई धार, दुई पृष्ठभूमिबीच अचानक एकीकरण भएको हो । त्यो गर्भ पहिलेदेखिको थियो वा गर्भपात भएको हो ? मलाई लाग्छ, अप्राकृतिक रूपमा जन्मिएको बच्चा स्वाभाविक रूपमा कुपोषित हुन्छ ।
अघिल्लो निर्वाचनमा सर्लाहीबाट राजेन्द्र महतोलाई धनुषा ल्याएर विमलेन्द्र निधिलाई हराउनमा केपी ओलीको केही भूमिका थियो भन्छन्, मान्नुहुन्छ ?
– स्थायी सत्ता सुगौली सन्धिपश्चात् कोहीसँग तर्सिएको छ भने त्यो हो मधेश । उसले के–के छलछाम गर्छ त्यो भन्न गाह्रो छ । केही इतिहासको गर्भमा उधर परेर जान्छन्, केही मुखर भएर आउँछन् ।
केन्द्र सरकारले मधेश र मधेशीको मुद्दालाई उति सम्बोधन गर्न सकेन तर मधेशकै लिगेसी बोक्ने मधेशी दलबाट चाहिँ भयो के त ?
– कसैले काठमाडौंको सरकारलाई चुनौती दिएको छ भने त्यो प्रदेश दुईको सरकार नै हो । प्रदेश दुईको सरकारसँग संविधानका कारण केही सीमा छन् । केही काम भएको छ । यद्यपि जनअपेक्षाको कसौटीमा उहाँहरू खरो उत्रन सक्नुभएको छैन ।
मधेशी पार्टीको भविष्य कस्तो देख्दै हुनुहुन्छ ?
– मधेशवादी, विपीवादी, मदन (जबज) वादी भन्दा पनि मधेशले न्याय, समानता र स्वतन्त्रता खोजेको छ । मधेशका जनताले पृथकता र भिन्न अरू केही मागेकै छैनन् ।
Advertisement 1
#चन्द्रकिशोर #मधेश #प्रदेश नम्बर दुई