को बन्ला नयाँ मुख्यसचिव ?
निजामती क्षेत्रको सर्वोच्च पद मुख्य सचिव बन्न सरकारका वरिष्ठ सचिवहरूको दौडधुप सुरु भएको छ । मुख्यसचिव लोकदर्शन रेग्मीको तीन वर्षे कार्यकाल सकिएर अर्काे महिना घर जाँदैछन् । सो पद हत्याउन दाबेदार सचिवहरूको दौडधुप सुरु भएको हो ।
Advertisement 1
मुख्यसचिवको प्रतिस्पर्धामा रहेका सचिवहरूमा परराष्ट्र मन्त्रालयका शंकरदास वैरागी, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका केदारबहादुर अधिकारी, सार्वजनिक खरिद अनुगमन कार्यालयका मोहनकृष्ण सापकोटा, उद्योग मन्त्रालयका चन्द्रकुमार घिमिरे, वन तथा वातावरण मन्त्रालयका विश्वनाथ ओली र सहरी विकास मन्त्रालयका मधुसूदन अधिकारीहरु छन् ।
मुख्यसचिव रेग्मीले अन्तिम समयसम्म काम गर्दा र १५ दिनअघि मात्रै राजीनामा दिँदा पनि फेरबदलमा ठूलो परिवर्तन आउने देखिएको छ । अवकाशको एक महिनाअघि नै बिदामा बस्ने परम्परा भने पछिल्ला केही वर्षदेखि तोडिएकाले मुख्यसचिव रेग्मी पनि एक महिनाअघि बिदामा बस्ने सम्भावना छैन । कार्यसम्पादन र जेष्ठताका आधारमा भावी मुख्य सचिवमा ६ जना सचिव प्रतिस्पर्धामा देखिएका छन् । उनीहरूले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा शक्तिकेन्द्रलाई प्रभावमा पार्न लबिङ तीव्र पारेका छन् ।
Advertisement 2
हाल विभिन्न मन्त्रालय र निकायमा गरी झन्डै ७० जना सचिव कार्यरत छन् । प्रधानमन्त्रीको मुख्य प्रशासनिक सल्लाहकारका रूपमा रहने मुख्यसचिव कसलाई बनाउने भन्ने विषयको निक्र्योल प्रधानमन्त्रीकै रुचिमा भर पर्छ त्यसैले यतिखेर मुख्य सचिवको दौडमा रहेका सचिवहरूले प्रधानमन्त्री निकटका नेता तथा सल्लाहकारमार्फत तीव्र लबिङ गरिरहेको स्रोतको दाबी छ ।
यद्यपि निजामती वृत्तमा सेवानिवृत्त हुनुअघि हालका मुख्य सचिव लोकदर्शनरेग्मीलाई राजदुत बनाएर सो स्थानमा शंकरदास वैरागीलाई लगिने चर्चा पनि चल्दैछ । रेग्मीले कार्यकाल सकिनु १५ दिन अगावै राजीनामा दिएको खण्डमा प्रतिस्पर्धामा रहन्छन् वैरागी, सापकोटा र अधिकारी ।
Advertisement 3
मुख्य सचिव रेग्मीले अन्यत्र नियुक्ति पाएर २२ असोजअघि नै राजीनामा दिएको अवस्थामा मात्रै वैरागी, सापकोटा र अधिकारीमध्ये एकको मुख्य सचिव हुने बाटो खुल्नेछ । तर, रेग्मीले तीन कात्तिकसम्मै काम गरे उनीहरू तीनै जनाको मुख्य सचिव हुने बाटो बन्द हुनेछ । त्यस्तो अवस्थामा तीनै जना आगामी २२ असोजमा नै सेवानिवृत्त हुनेछन् । वैरागीले प्रधानमन्त्री केपी शर्मा ओली निकटका व्यक्तिहरूसँग कुराकानी गरी आफ्नो पक्षमा माहोल सिर्जना गर्न आग्रह गरिरहेका छन् भने अधिकारी र सापकोटा पनि सोहीअनुसार दौडधुपमा छन् । वैरागी र अधिकारीमध्ये एकले मुख्यसचिव बन्ने अवसर पाए तीन वर्षको पूरै अवधि काम गर्न पाउनेछन् । तर, सापकोटा भने आगामी फागुनमा ५८ वर्षे सेवा अवधिका कारण सेवानिवृत्त हुने भएकाले उनको मुख्य सचिव बन्ने सम्भावना न्यून छ ।
मुख्यसचिव रेग्मीले ३ कात्तिकसम्ममा नै काम गरेको खण्डमा मुख्य सचिवको प्रमुख दाबेदारका रूपमा उद्योग सचिव घिमिरे, वन सचिव ओली र सहरी विकास मन्त्रालयका सचिव अधिकारी मात्रै हुनेछन् ।
घिमिरे ८ माघ २०७२, ओली ७ वैशाख २०७३ र अधिकारी २४ वैशाख २०७३ मा सचिवमा बढुवा भएका थिए । नियमित प्रक्रियाअन्तर्गत नयाँ मुख्यसचिव नियुक्त भए यी तीनमध्ये एक जना मुख्य सचिव र दुई जना वरिष्ठ सचिव रहनेछन् ।
यी तीनमा पनि घिमिरे र ओलीमध्ये एकको मुख्य सचिव हुने सम्भावना बढी छ । ओली र घिमिरे दुवै स्वच्छ छविका प्रशासकका रूपमा परिचित छन् । उनीहरू दुवै जना मुुख्य सचिव बन्न सकेनन् भने घिमिरे आगामी ८ माघमा र ओली ७ वैशाख २०७८ मा पाँच वर्षे कार्यकाल पूरा गरी सेवानिवृत्त हुनेछन् । प्रतिस्पर्धामा रहेका अर्का सचिव अधिकारी पनि पाँच वर्षे सेवा अवधि सकेर २४ वैशाख २०७८ मा सेवानिवृत्त हुनेछन् ।