पूर्वीनाकाको यात्रु शाखा सञ्चालनमा

झापा। दसैँलाई लक्षित गरेर १५ दिनदेखि बन्द रहेको पूर्वीनाका काँकडभिट्टाको यात्रु शाखा सञ्चालनमा आएको छ। जेनजी प्रदर्शनका क्रममा मेची भन्सार कार्यालयमा तोडफोड र आगजनी भएपछि सो शाखा बन्द रहेको थियो। यात्रु शाखा बन्द रहेसँगै भारतीय सवारीसाधन नेपाल प्रवेशमा रोक लगाइएको थियो।
Advertisement 1
प्रमुख मेची भन्सार अधिकृत हरिहर पौडेलका अनुसार यात्रु शाखा बन्दपछि व्यापार व्यवसायमा त्यसको प्रत्यक्ष असर परेको हुँदा भन्सारले सोमबारदेखि सो शाखा सञ्चालनमा ल्याएको हो। १ हप्ताअघि भन्सारले नेपालमा भएको विषम परिस्थितिका कारण यात्रु शाखा सञ्चालन गर्न नसकिएको सूचना जारी गरेको थियो। यात्रु शाखा सञ्चालनमा आएसँगै भारतीय सवारीसाधन नेपाल प्रवेश गर्न थालेका छन्।
जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते मेची भन्सार कार्यालयमा तोडफोड, लुटपाट र आगजनी भएको थियो। चाडपर्व नजिकिएका कारण भन्सारले आयातनिर्यातमा सजिलो बनाउने सेवा सुरु गरेको जनाएको छ।
Advertisement 2
लुटिएकामध्ये ७५ थान हतियार फिर्ता
जेनजी प्रदर्शनका क्रममा जिल्लाको २ वटा इलाका प्रहरी कार्यालयबाट लुटिएका ७५ थान हतियार फिर्ता भएको प्रहरीले जनाएको छ। गत भदौ २४ गते इलाका प्रहरी कार्यालय दमक र अनारमनी (विर्तामोड) बाट ९९ थान हतियार लुटिएका थिए। अब २४ थान हतियार फिर्ता हुन बाँकी छ। विर्तामोड नगरपालिका क्षेत्रबाट ४० थान र दमक नगरपालिका क्षेत्रबाट ३५ थान हतियार फिर्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताए।
Advertisement 3
दमक र झिलझिले इलाकाबाट ४ थान एसएलआर, १० थान इन्सास राइफल, १२ थान थ्रीनटथ्री राइफल, ३ थान सट गन, २ थान ग्यास गन, ३ थान चाइनिज रिभल्भर र १ थान नाइन एमएम रिभल्भर आन्दोलनकारीले फिर्ता गरेका हुन्। त्यसैगरी, विर्तामोड, दुर्गापुर र शनिश्चरे इलाकाबाट ७ थान एसएलआर, १६ थान इन्सास राइफल, ६ थान थ्रीनटथ्री राइफल, २ थान सट गन, ४ थान ग्यास गन, ३ थान एसएमजी र २ थान रिभल्भर आन्दोलनकारीले फिर्ता दिएको उनले जानकारी दिए।
जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते अनारमनी र दमक इलाका प्रहरी कार्यालयमा आगजनी र तोडफोड गरिएको थियो। त्यही क्रममा प्रहरीसँग भएका हतियार लुटिएका थिए। अनारमनी इप्रका (विर्तामोड)बाट लुटिएका अधिकांश हतियार आन्दोलनकारीले तत्कालै मानवअधिकारवादीको रोहवरमा नेपाली सेनाको अरिदमन गण चारआलीको टोलीलाई फिर्ता गरेका थिए। विर्तामोडबाट लुटिएका हतियारमध्ये अब २ थानमात्र फिर्ता हुन बाँकी छ। तर दमकका धेरै हतियार फिर्ता हुनसकेको छैन।
“लुटिएका हतियार फिर्ता गर्न सार्वजनिक अपिल गरेका छौँ”, सूचना अधिकारी खड्काले भने, “अटेर गरेर नबुझाउनेलाई कानुनबमोजिम कारबाही हुन्छ।”