उनानब्बे जनामा ‘स्क्रब टाइफस’

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ८९ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ। साउनयता अस्पतालमा आएका बिरामीमध्ये १ हजार ८०१ जनाको नमूना परीक्षणका क्रममा उनीहरूमा यो रोगको सङ्क्रमण देखिएको हो।
Advertisement 1
सङ्क्रमितमध्ये भरतपुर महानगरपालिकाका–३ जना, खैरहनी नगरपालिकाका १७, माडी नगरपालिकाका एक जनामा, त्ननगर नगरपालिकाका २४, राप्ती नगरपालिकाका सात, कालिका नगरपालिकाका १२ र इच्छाकामनाका ३ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीले जानकारी दिए। उनका अनुसार सङ्क्रमितमध्ये २२ जना जिल्ला बाहिरका रहेका छन्।
स्क्रब टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ। स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी, वान्ता, पेट दुखाइ र पखालाले सताउने, श्वास फेर्न समस्या हुने, टाउको, जोर्नी र मांसपेशी दुख्ने, बिमिरा देखिने, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्तो लक्षण देखिने गर्दछ।
Advertisement 2
स्क्रब टाइफसबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने तथा शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्नेलगायत उपाय अपनाउनुपर्ने किट नियन्त्रक केसीले बताए।