काभ्रेका भुम्लुबासीले ५० वर्षपछि पाए लालपूर्जा

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको २ वडाबासीले ५० वर्षपछि आफ्नो जग्गाको लालपूर्जा पाएका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मङ्गलबार लालपूर्जा वितरण सुरु गरेका हुन्।
Advertisement 1
विसं २०३२ देखि गाउँपालिकाको (तत्कालीन भुम्लु र फलाँटे गाविस) हालका २ वडाका बासिन्दा लालपूर्जाको पखाईमा थिए। प्रारम्भिक चरणमा भुम्लु गाउँपालिका वडा नं ७ र ८ का ४३१ जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको छ। मङ्गलबार वडा नं ७ का १८५ र वडा नं ८ मा २४६ जग्गाधनीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको कार्यालयले जानकारी दिएको छ।
यसका लागि नापी कार्यालय काभ्रेपलाञ्चोकले विसं २०७१ जेठ २५ गतेदेखि स्थानीय तहमा नापी टोलीले काम गरिरहेको थियो। काभ्रेपलाञ्चोकको सांसद एवं तत्कालीन मन्त्री गोकुल बाँस्कोटाले विसं २०७६ मसिंर २० गते भुम्लु गाउँपालिकामा फिल्ड कार्यालयको शुभारम्भ गरेका हुन्।
Advertisement 2
कार्यालयका अनुसार हाल २ वडाको ४५० वटा लालपूर्जा बनेको छ भने सोही हाराहारीको सङ्ख्यामा छानविन गरी लालपूर्जा बनाउन बाँकी छ। कार्यालय प्रमुख अशोककुमार भुसालले वडा नं ७ मा ३०० र वडा ८ मा ६०० लालपूर्जा बनाउनुपर्ने देखिएको जानकारी दिए।
साविकको पिपलटार गाविस हुँदादेखि नै कमाई गर्दै आइएको ‘टार’ भन्ने खेतियोग्य जमिन पिपलटार गाविस फुट्दा भुम्लुटार र फलाँटे दुवै गाविसमा परेको थियो। तत्कालीन समयमा खेतियोग्य जमिनमा दुवै गाविसले दाबी गरेपछि विवाद भएको थियो। विसं २०३२ मा नापी गर्न गएको टोली र २ गाविसका नेतृत्वको विवादका कारण काम हुन सकेको थिएन। विसं २०३५ मा पनि काम हुन नभएपछि स्थानीयले जग्गाको लालपूर्जा पाउन सकेका थिएनन्।