कोप–२८ सम्मेलन र जलवायु परिवर्तनका वहु आयामिक सवालहरु

बिषय प्रवेश
विश्वव्यापी तापक्रम वृद्धि अर्थात उष्णीकरणले जलवायुको विद्यमान ढाँचामा अस्वाभाविक परिवर्तन ल्याएको छ ।हरितगृह ग्यास वायुमण्डलको तल्लो तहमा थुप्रिँदै गएपछि तापको विकिरण जमिनबाट परावर्तन भएर वायुमण्डलसम्म पुग्न नपाउने अवस्थाले पृथ्वी तथा पृथ्वीको तल्लो वायुको तापक्रम बढ्ने क्रम जारी छ । वर्तमान विश्वको मुख्य समस्याका रूपमा जलवायु परिवर्तन सामुन्ने आउन थालेको छ। जलवायु परिवर्तनको विषयले विश्वका सबै जीवात्मा तथा यससँग सम्बद्ध सबै आयामलाई प्रतिकूल प्रभाव पारिरहेका हुन्छन्। जलवायु परिवर्तनको कारण मानव जीवनका पर्यावरणलगायत सामाजिक, आर्थिक, शारीरिकलगायत अधिकांश क्षेत्र प्रभावित हुने अर्थमा अहिले जलवायु परिवर्तनका कारण विश्व अर्थतन्त्रमा पर्ने प्रतिकूल प्रभावका सम्बन्धमा विशेष जोड, छलफल तथा चिन्तन गरिन थालेको अवस्था छ। विश्वमा जलवायु परिवर्तन एउटा गम्भिर समस्याको रुपमा आएको छ ।जलवायु परिवर्तनमा देखिएका समस्या समाधानका लागि विभिन्न प्रयासहरु भएता पनि ति प्रयासहरु पर्याप्त छैनन । जलवायु परिवर्तनको बिषयलाई विश्वव्यापी शासकीय प्रणालीको मान्यताबाट अघि बढाउनु पर्ने देखिन्छ । कोपमा नेपालले जलवायु परिवर्तनको असरसँग जुध्न अन्तर्राष्ट्रिय मञ्चहरूमा गरेको प्रतिबद्धता, निर्धारित लक्ष्यहरूका आधारमा तयार गरेको कार्ययोजना र त्यसको कार्यान्वयनको अवस्थालाई देखाएर विश्व समुदायलाई गम्भीर बन्न आह्वान गर्ने आवाज उठेको छ । संयुक्त अरव इमिरेट्को दुबइमा नोवेम्वर २९ देखि सञ्चालन भएको १२ दिन सम्म चल्ने कोप २८मा अहिले मूल रूपमा नेपालले विश्वव्यापी तापमान वृद्धिको कारक रहेको कार्बन उत्सर्जनमा ठूलो हिस्सा लिएका देशहरूसँग सहयोग बढाउन र नकारात्मक असरहरूको क्षतिपूर्ति नै दाबी गर्नुपर्ने आवाज उठेको छ । तर, पर्याप्त गृहकार्य नभएकाले नेपाली आवाजको सुनुवाइ हुने वा नहुनेमा आशंकाहरू उत्तिकै रहेको छ । मूल रूपमा कसरी अधिकतम जलवायु वित्त नेपालमा भित्र्याउने, विश्व समुदायलाई जैविक इन्धन प्रयोग घटाउन दबाब दिने र नवप्रवर्तन र प्रविधिहरूको हस्तान्तरणबाट नेपालले कसरी लाभ लिने भन्ने विषयलाई कोपमा महत्वका साथ उठाइने छ । कोपमा हामीले विश्वस्तरमा जलवायु परिवर्तनले नेपाललाई पारेको असर देखाएर सिर्जना गर्ने दबाब, थप जलवायु वित्त स्रोतको सुनिश्चितता र हानि–नोक्सानी (क्षतिपूर्ति) दाबीका सन्दर्भमा हामी बलियो भएर प्रस्तुत हुुनुपर्छ । जलवायु परिवर्तनको मुख्य कारक मानिएको उच्च दरको कार्बन उत्सर्जन घटाउने सम्बन्धी लक्ष्यलाई प्राथमिकता दिने प्रतिबद्धता विगतदेखि नै नेपालले जनाउँदै आएको छ र नेपालले कार्ययोजना नै बनाएर कार्यान्वयन सुरु गरिसकेको छ । यस अघि ‘नेपाल भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नै हाम्रो हिमाली क्षेत्रमा देखिएका असरहरूबारे दरिलोसँग सन्देश प्रवाह गर्नुभएको थियो ।संयुक्त राष्ट्रसंघका महासचिवले हिमाली क्षेत्रमै पुगेर विश्वसमक्ष प्रवाह गरेको सन्देशका आधारमा समेत हिमाल र पर्वतका मुद्दालाई मूलधारमा ल्याउन नेपालले पैरवी र अगुवाइ गर्ने प्रसस्त संभावना रहेको छ ।
जलवायु परिवर्तन
कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई नै जलवायु भनिन्छ । जब त्यही जलवायुको अवस्थामा दीर्घकालीन परिवर्तन आउँदछ, त्यसलाई नै जलवायु परिवर्तन भनिन्छ । यो वर्षा, तापक्रम, आद्रता, वायुको गति आदिजस्ता जलवायुजन्य उपागमहरुमा आउने दीर्घकालीन तथा प्रतिकुल अवस्थाको परिवर्तन हो । संयुक्त राष्ट्रसंघको परिभाषा अनुसार जलवायु परिवर्तन भनेको पृथ्वीको तापमान र मौसमको प्रकृतिमा आउने दीर्घकालिन फेरबदल हो । खनिज इन्धनको बढ्दो प्रयोग र वन विनाश जस्ता मानवजन्य क्रियाकलापमार्फत हरितगृह ग्यास उत्सर्जनका कारण विश्वको औसत तापमान बढ्दो छ ।जलवायु परिवर्तनका प्रभावहरू अत्यन्तै डरलाग्दा हुन्छन् । बारम्बार दोहोरिहने चरम मौसमी गतिविधिहरू, बढ्दो समुद्र सतह, वर्षा हुने समय र मात्रामा फेरबदल भैरहने र ध्रध्रुवीय क्षेत्र तथा हिमाली भेगमा तीव्रगतिमा हिउँ पग्लिने अवस्था आउन सक्छन्।
सामान्यतया जलवायु परिवर्तन प्रत्यक्ष वा अप्रत्यक्षरुपमा मानवीय क्रियाकलापसँग सम्बन्धित भइ विश्व वायुमण्डलीय संरचनामा परिवर्तन गर्न र तुलनात्मक समयावधिभित्र प्राकृतिकरुपमा परीक्षण भएको जलवायुलाई जनाउँछ। मानव जीवनमा भइ रहेका विभिन्न क्रियाकलापका कारण पृथ्वीमा हरितगृह ग्याँस उत्सर्जन बढ्न गई पृथ्वीको औषत तापक्रम वृद्धि भइ वातावरणीय अवस्थामा परिवर्तन भइरहन्छ। जलवायु परिवर्तन पृथ्वीको प्राकृतिक प्रक्रियाभित्र पर्ने गतिविधि हो। पृथ्वीमा सौर्य विकिरणमार्फत तापशक्ति प्राप्त हुन्छ र यही सौर्य विकिरणका कारण पृथ्वीको वायुमण्डलको तापक्रम सन्तुलनमा रहन्छ । पृथ्वीले सूर्यबाट जति सौर्य विकिरण प्राप्त गर्दछ त्यति नै विकिरण पुनः अन्तरीक्षमा फिर्ता पठाउँछ, जसले गर्दा पृथ्वीको वायुमण्डलको तापक्रम स्थिर रहन्छ तर कुनै कारणवश विकिरणको लेनदेनमा घटबढ हुनगई असन्तुलन हुन गएमा पृथ्वीको वायुमण्डलको तापक्रम घटबढ हुन जान्छ र जलवायुमा परिवर्तन आउँछ। पछिल्लो २०० वर्षमा मिथेन, नाइट्रस अक्साइड, कार्बन डाइअक्साइजस्ता हरित गृह ग्यास र ओजन तह विनास गर्ने क्लोरोफोलोरो कार्बन जस्ता अन्य विषाक्त ग्यासको उत्सर्जन दिन प्रतिदिन वायुमण्डमा बढ्दै गइरहेको छ र परावर्तित विकिरणहरू वायुमण्डलमै रोकिनाले पृथ्वीको तापक्रम बृद्धि हुँदै छ । हरितगृह ग्यासका प्रमुख स्रोतहरूमा वनजंगलको विनाश, कोइला, खनिजजन्य इन्धनको अत्याधिक प्रयोग, औद्योगिकीकरण आदिजस्ता क्रियाकलापहरू पर्दछन्।जलवायु परिवर्तन लामो समयको जलवायु सम्बन्धि तथ्यांकको नियमिततामा देखिने स्थायी प्रकृतिको परिवर्तन हो। जस अनुसार बेला बेलामा मौसममा आउने उतार चढावलाई वातावरणीय परिवर्तन मान्न सकिन्न।
जलवायु परिवर्तनका प्रभाव
विश्वको जलवायुमा जुन तीव्र परिवर्तन देखिइरहेको छ त्यो मानिसले आफ्नो घर, कारखाना तथा परिवहनका लागि प्रयोग गरिएको पेट्रोलियम, ग्यास तथा कोइलाको उपयोगका क्रममा उत्सर्जित हरितगृह ग्यासका कारण भएको हो ।जब यी जिवाश्म इन्धनहरू दहन हुन्छन् तब त्यसबाट हरितगृह ग्यासहरु निस्किन्छन्, जसमा सबैभन्दा ठूलो हिस्सा कार्वनडाइ अक्साइडको रहेको हुन्छ । यी ग्यासहरुका कारण विश्वको तापक्रममा बढोत्तरी हुने मात्र होइन पृथ्वीको सुरक्षा कवचको रुपमा रहेको ओजोन तहमा पनि क्षति पु¥याउँदछन् ।ओजोनको पत्रमा प्वाल पर्दा सूर्यको परावैजनी किरणसहित अत्यधिक तापक्रम पृथ्वीमा आउँदछ, जसले पृथ्वीमा तापक्रम बढाउने काम गर्दछ । यद्यपि तापक्रम वृद्धिको मूख्य कारण चाहिँ हरितगृह ग्यासका कारण सिर्जित हरिगृह प्रभाव नै हो ।बढ्दो तापमानका कारण हिमनदीको हिउँ तीव्र रुपमा पग्लिरहेको छ भने समुद्रको जलस्तर पनि बढिरहेको छ ।१९औं शताब्दीको तुलनामा विश्वको तापक्रम हाल १.१ डिग्री सेल्सियस भन्दा अधिक वृद्धि भैसकेको छ र वातावरणमा कार्वनडाइ अक्साइडको मात्रामा ५० प्रतिशतले वृद्धि भएको छ ।मानवीय गतिविधिहरुका कारण विश्वको तापमान बढिरहेको छ र जलवायु परिवर्तनले मानिसको जीवनका हरेक पहलुहरुलाई खतरातर्फ धकेलिरहेको छ ।यदि यो मुद्दालाई यत्तिकै अनियन्त्रित रुपमा छाडिदिने हो भने मानिस तथा प्रकृतिले विनाशकारी तातो वायुको लहर तथा सुख्खा र गर्मीको सामना गर्नुपर्नेछ भने समुद्रको जलस्तर बढ्नुका साथै व्यापक रुपमा जैविक विविधताको विलोपन हुनेछ ।विकासशील मुलुकहरुमा बसोबास गर्ने मानिसहरुले जलवायु परिवर्तनबाट सबैभन्दा धेरै क्षति बेहोर्नुपर्नेछ । किनकि उनीहरुसँग जलवायु परिवर्तनको सामना गर्नका लागि स्रोत र साधनको कमी छ । विकसित मुलुकहरुको तुलनामा हरितगृह ग्यास उत्सर्जनमा निकै कम भूमिका रहेका ती मुलुकहरुले जलवायु परिवर्तनका असरहरु भने धेरै भोग्नु परिरहेको छ ।जलवायु परिवर्तनका कारण पृथ्वीको महासागर तथा जलीय जीवन पनि खतरामा परिरहेको छ । अमेरिकाको राष्ट्रिय सामुद्रिक तथा वायुमण्डलीय विभागले सन् २०२२ को अप्रिलमा प्रकाशित गरेको एक शोध प्रतिवेदन अनुसार १० प्रतिशत देखि १५ प्रतिशत सम्म सामुद्रिक प्रजातिहरू लोप हुने खतरा छ । तीव्र रुपमा तातिरहेको पृथ्वीमा जीवहरुका लागि आवश्यक खाना तथा पानी फेला पार्न पनि मुस्किल हुनेछ ।उदाहरणका लागि तापक्रम वृद्धिका कारण ध्रुवीय हिउँ पग्लिंदा पोलार भालुको प्रजाति नै संकटमा पर्न सक्दछ । साथै एउटा हात्तीलाई दैनिक आवश्यक पर्ने डेढ सयदेखि ३ सय लिटर पानी पाउनै मुस्किल पर्न सक्दछ ।आवश्यक कदम नउठाउने हो भने यो शताब्दीको अन्त्यसम्ममा ५५० प्रजातिहरु लोप हुनसक्ने चेतावनी वैज्ञानिकहरुको छ ।
विश्वमा जलवायु परिवर्तनका भिन्न भिन्न प्रभाव हुनेछन् । संयुक्त राष्ट्रसघको जलवायु निकाय आईपीसीसीका अनुसार यदि विश्वको तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्न नसकिएमा बेलायत तथा युरोप अत्यधिक वर्षाका कारण भयानक बाढीको चपेटामा पर्ने ,मध्यपूर्वका देशहरुले अत्यधिक गर्मीको लहरका कारण व्यापक सुख्खा खडेरीको सामना गर्नुपर्ने, प्रशान्त क्षेत्रका टापु राष्ट्रहरु समुद्रमा डुब्न सक्ने, विभिन्न अफ्रिकी देशहरुले खडेरी तथा खाद्यान्नको अभावको सामना गर्नुपर्ने,पश्चिमी अमेरिकामा खडेरीको सम्भावना हुनुका साथै अत्य क्षेत्रमा धेरै तीव्र आँधीहरू आउने, अष्ट्रेलियामा अत्यधिक गर्मी तथा जंगलमा लाग्ने डढेलोका कारण जनधनको क्षतिको खतरा बढ्ने यजता असर देखिनेछन् ।
जलवायु वैज्ञानिकहरुका अनुसार यदि विश्वलाई जलवायु परिवर्तनका सबैभन्दा खराब परिणामबाट बचाउने हो भने तापमान वृद्धिमा नियन्त्रण गर्नु आवश्यक हुन्छ ।पेरिस जलवायु सम्झौताले पनि विश्वलाई विनासबाट बँचाउनका लागि सन् २१०० सम्ममा विश्वको तापमान वृद्धि १.५ डिग्री सेल्सियसमा राख्ने लक्ष्य लिएको छ ।तर यदि उक्त लक्ष्य प्राप्तिका लागि विश्वका मुलुकहरुले प्रभावकारी कदम नचाल्ने हो भने तापक्रम वृद्धि छिटै नै २ डिग्री सेल्सियसभन्दा धेरैले बढ्ने पक्का रहेको वैज्ञानिकहरुको भनाइ छ ।स्वतन्त्र क्लाइमेट एक्सन ट्रयाकर रुपको सन् २०२१ को रिपोर्ट अनुसार यो शताब्दीको अन्त्यसम्ममा विश्वको तापक्रम २.४ डिग्री सेल्सियसले बढ्ने खतरा समेत रहेको छ ।यदि हतिरगृह ग्यासको उत्सर्जनमा कमी ल्याउनका लागि प्रभावकारी कदम नचालिएमा विश्व उष्णणीकरण ४ डिग्री सेल्सियस पनि नाघ्नसक्ने खतरा रहेको वैज्ञानिकहरु बताउँछन् । यसले भयानक गर्मीको लहर उठ्नेछ भने लाखौं मानिसहरुले समुद्रको बढ्दो जलसतहमा आफ्ना वासस्थानहरु गुमाउनेछन् । यसले जीव तथा वनस्पतीका लाखौं प्रजातिहरुलाई अपूरणीय क्षति पुग्नेछ ।
जलवायु परिवर्तनका लागि जिम्मेवार तत्त्व हरितगृह ग्यास नै हुन् । औद्योगिक तथा अन्य प्रयोजनका लागि दोहन गरिने कोइला, तेल तथा प्राकृतिक ग्यासजस्ता जैविक इन्धनबाट ठूलो परिमाणमा हरितगृह ग्यास उत्सर्जन भइरहेको हुन्छ । हरितगृह ग्यास उत्सर्जनको सबैभन्दा ठूलो स्रोत ताप तथा ऊर्जा उत्पादनका लागि गरिने कोइला, प्राकृतिक ग्यास तथा तेलको प्रयोगले २५ प्रतिशत हिस्सा ओगटेको हुन्छ । त्यस्तै कृषि उत्पादन र वनविनाशले कुल हरितगृह ग्यास उत्सर्जनको २४ प्रतिशत हिस्सा ओगटेको छ भने उद्योग क्षेत्रको हिस्सा २१ प्रतिशत रहेको छ । यातायातका साधनमा प्रयोग हुने जीवांश इन्धनले हरितगृह ग्यासको उत्सर्जनमा १४ प्रतिशत हिस्सा ओगटेको छ । त्यस्तै घरायसी प्रयोगमा ताप वा ऊर्जा उत्पादनका क्रममा ६ प्रतिशत हरितगृह ग्यास उत्सर्जन हुन्छ भने पेट्रोलियम पदार्थको पहिचान, उत्खनन, प्रशोधन, भण्डारण र वितरणका क्रममा कुल हरितगृह ग्यासको १० प्रतिशत उत्सर्जन हुने गरेको छ ।
सन् १९६०को दशकपछि पृथ्वीमा भएको द्रुत औद्योगिक विकास तथा जनसंख्या बृद्धिले ल्याएका नकारात्मक असरका कारण पृथ्वीमा जलवायु परिवर्तन भएको तथ्य वैज्ञानिकहरू बताउँछन्। मूलतया जीवावशीष इन्धनको अत्यधिक प्रयोग र तिनबाट उत्सर्जित हरितगृह ग्यासका साथै वनजङ्कलको विनास भै त्यस्तो ग्यास अवशोषण गर्ने तत्वको कमीले भूमण्डलीय तापक्रम बढेको अनुमान गरिन्छ । कोइला, खनिज तेल र ग्यासजस्ता वस्तुको बढ्दो दहनले वायुमण्डलमा बढी कार्बन डाइअक्साइड पुग्दछ । जङ्कल फँडानी र भू–क्षयीकरणले पनि वायुमण्डलमा बढी कार्बन डाइअक्साइड पठाउँछ र खेतीपातीदेखि चिस्यान प्रविधि (रेफ्रिजेरेसन) का गतिविधिबाट हरितगृह ग्याससमेत सिर्जना भइरहेका हुन्छन्। पृथ्वीमा जलवायु परिवर्तनका कारणले सन् १९०६ देखि २००५ सम्ममा औसत तापक्रम ०.७४ डिग्री सेल्सियसले बढेको छ। त्यस्तै सन् १९६१ र २००३ का बीचमा समुद्रसतहमा प्रतिवर्ष १.८ मिलिमिटरले बृद्धि भएको छ र जलवायुमा आएको यस्तो अस्वाभाविक परिवर्तनका कारण सामाजिक, आर्थिक, पर्यावरणीय र विकासका संरचनामा नकारात्मक असर पुगेको कुरा विभिन्न तथ्यांक र प्रमाणले पुष्टि गरेका छन्। जलवायु परिवर्तनको असर विशेष गरी हिमाली क्षेत्रमा पनि देखिन थालेको छ । तथ्यांक अनुसार पछिल्लो एक शताब्दीमा पृथ्वीको तापक्रम ०.८ डिग्री सेल्सियसले बढेको छ । यसमध्ये ०.६ डिग्री सेल्सियस पछिल्लो ३ दशकमा मात्र बढेको हो । पछिल्ला केही दशकमा समुद्रको जलस्तरमा प्रतिवर्ष ३ मिलिमिटरले वृद्धि भइरहेको छ र वर्षेनि ४ प्रतिशतका दरले हिमनदीमा हिमगलन भइरहेको छ । सन् १७५० मा सुरु औद्योगिक क्रान्तियता वायुमण्डलमा कार्बनडाइ अक्साइडको मात्रा ३० प्रतिशत र मिथेनको मात्रा १४० प्रतिशतले बढेको छ । कार्बनडाइ अक्साइडको मात्रा ८ लाख वर्ष यताकै उच्च भएको बताइन्छ । वैज्ञानिक अनुसन्धानले देखाए अनुसार अहिलेकै दर कायम रहेमा सन् १८५० को तुलनामा २१ औं शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सियसले बढ्नेछ । तर यदि हरितगृह ग्यासको उत्सर्जनलाई कम गर्न नसक्ने हो भने यो शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापमान ३ देखि ५ डिग्रीसम्मले बढ्न सक्ने चेतावनी वैज्ञानिकहरूले दिइरहेका छन् । सन् २०१५ इतिहासमै सबैभन्दा उष्ण वर्षको रूपमा रह्यो ।
नेपालमा करिब २३२३ वटा हिमतालमध्ये धेरै जलवायु परिवर्तनको नकारात्मक प्रभावले गर्दा फुट्न सक्ने अधिकतम जोखिममा छन्। वि.सं २०६६ मा हुम्ला जिल्लाको हल्जी क्षेत्रमा ताक्सो हिमताल फुटेर आउँदा बाढीको प्रकोप भएको थियो। तापक्रम बृद्धिले खुम्बु हिमनदीमा क्रमिक विचलन देखापरेको छ। इसिमोडले गरेको अध्ययनअनुसार उक्त हिमनदीबाट प्रतिवर्ष औसत ६५ फिट खस्किदै गएको छ। हिमाली क्षेत्रमा बसोबास गर्ने जनताको जीवनस्तरमा विभिन्न समस्याहरु हुन् थालेका छन् । तराई र पहाडी जिल्लाहरुमा ठूलो मात्रामा किसानले लगाएको बालीनालीमा क्षति गरेर खाद्य सङ्गट उत्पन्न भइरहेको छ। तराईका जिल्लाहरुमा अत्यधिक मात्रामा मौसममा उथलपुथल भइदिनाले जनजीवन अस्तव्यस्त भइरहेको हामीले भोगिरहेका छौं। तीब्र गतिमा जलवायु परिवर्तन भइरहेको खण्डमा पृथ्वी जीवजन्तुको बासस्थानको लागि योग्य नहुने, प्राकृतिक प्रकोपको खतरा झन् बढ्ने । हिउँ पग्लेर हिमतालहरू फुट्न सक्ने, विभिन्न रोगको संक्रमण अझै बढ्न सक्ने, ऋतुहरूको समय हेरफेर हुनेजस्ता समस्या आउन सक्छन्। पृथ्वीका धेरै ठाउँ मरुभूमिमा परिणत हुन सक्छन्।
समुन्द्रको सतह बढ्न गइ होचा स्थानहरुमा भएका राष्ट्रहरु डुबानमा पर्न सक्ने खतरा पनि जलवायु परिवर्तनको कारणले बढेको छ। मौसममा आएको परिवर्तनले गर्दा समयमा पानी नपर्नाले उत्पादनमा कमी, विभिन्न सरुवा रोगहरुको प्रकोप बढ्न गएको छ । पृथ्वीको सौन्दर्य बिस्तारै संकटमा पर्न थालेको, जीवजन्तुका लागि योग्य वासस्थानको अभाव हुनु, औद्योगिकीकरण तथा यातायात क्षेत्रमा खनिज इन्धनको व्यापक प्रयोग एवं वन विनाशको कारण हरितगृह ग्या“सको अत्यधिक उत्सर्जनबाट जलवायु परिवर्तनमा तीब्रता आएको छ। यी असरहरु जलवायु परिवर्तनको कारणले मानवय जीवनमा देखा पर्दै गएका छन्।
हामी विकास र समृद्धिको युगमा रहेकाले विभिन्न विकास निर्माणका गतिविधिहरु पनि तीब्रगतिमा सञ्चालन भइरहेको अवस्था विधमान छ । तीब्र गतिमा भइरहेको विकास निर्माण कार्य र बढ्दो औद्योगिक विकास निर्माणका कारण पृथ्वीमा हरितगृह ग्याँस जस्तै कार्वनडाइअक्साइड, मिथेन, सल्फर डाइअक्साइड, क्लोरोफ्फ्लोरो कार्बन आदि जस्ता हानिकारक ग्याँसहरु वायुमण्डलको तहमा मिलेर बसेका हुन्छन्। यस्ता तत्वहरु बढ्दो मात्रामा भएकाले पृथ्वीको सतहको तापक्रम वर्षेनि बृद्धि हुँदै गएका छन्। जसलाई विश्व तापक्रम बृद्धि भनिन्छ। र, विश्व तापक्रम वृद्धिका कारणले जलवायु परिवर्तनको समस्या देखा परेको छ। खासगरी जलवायु परिवर्तनको मार बढी पर्ने हाम्रोजस्तै विकासोन्मुख मुलुकमा हो। विकासोन्मुख मुलुकमा जलवायु परिवर्तनको असर धेरै देखिनुको मुख्य कारण आर्थिक स्रोतको अभाव, पर्याप्त दक्ष जनशक्तिको अभाव, समयसापेक्ष जलवायु परिवर्तनबारे नीति, नियम, रणनीतिहरु नहुने यसको मुख्य समस्या हो। यहाँ प्रशस्तै मात्रामा जलवायु परिवर्तनका असरहरु हामीले भोगिरहेका छौं । हाम्रो जस्ता भौगोलिक विविधताले भरिपूर्ण देशमा हिमालै हिमालले ढाकेको छ । ती हिमालहरु पग्लने र खुम्चिने क्रम बढेको छ । हिमतालहरु विस्तारै पग्लदैछन् । वर्षा अनियमित मात्रामा भइदिनाले ठूलो मात्रामा जनधनको क्षति भइरहेका समाचार हामीले सुनिरहन्छांै।
विश्वव्यापीरूपमा बढेको यस समस्याका लागि विश्वका औद्योगिक तथा धनी राष्ट्र जिम्मेवार रहेको यथार्थ विभिन्न अध्ययन प्रतिवेदनले सार्वजनिक गरिसकेका छन्। हरितगृह ग्यासको प्रमुख कारकको रूपमा देखिएको कार्बन डाइअक्साइडको उत्सर्जन नै विश्वव्यापी उष्णीकरण र जलवायु परिवर्तनको कारक मानिएको छ । धनी र औद्योगिक मुलुकले कार्बन डाइअक्साइड अत्यधिक उत्सर्जन गरे पनि नेपाल जस्ता विकासोन्मुख तथा अति कम विकसित मुलुकहरूले यसलाई खप्नसक्ने हैसियत प्राप्त गर्न अझै बढी कठिनाइ भोग्नु परिरहेको ।
जलवायु परिवर्तनको उपज बढ्दो विश्वव्यापी तापमान बढ्दो क्रममा छ। बाढीपहिरो, अनियमित वर्षा आदिका कारण सडक, पुल, सिँचाइ, आवास खानेपानीजस्ता भौतिक पूर्वाधारका संरचना निकै प्रभावित हुने देखिन्छन्। विश्व बैंकको प्रतिवेदनले पनि आगामी ५० वर्षमा तापमानमा एक दशमलव पाँच प्रतिशतले वृद्धि हुँदा पनि पाँच प्रतिशत भौतिक पूर्वाधारका संरचना नष्ट हुने जनाएको छ। यसबाट जलवायु परिवर्तनको भयावह स्वरूपको अनुमान निकै त्रासदीपूर्ण हुने देखिन्छ। अझ भौतिक पूर्वाधारका संरचनामा पर्ने प्रभाव नेपालका लागि सबैभन्दा ठूलो क्षतिका रूपमा रहने तथ्याङ्ग हाम्रा लागि निकै विषम परिस्थिति हो। जलवायु परिवर्तनका कारण विभिन्न रोगको आक्रमण, बसाइँसराइ आदिका प्रभावस्वरूप जनस्वास्थ्यमा पर्ने असरले गर्दा श्रम उत्पादकत्वका क्षेत्रमा पनि प्रतिकूल प्रभाव पर्ने आशंका विश्व बैंकको प्रतिवेदनको रहेको छ। यसले गर्दा पारिवारिक आय एवं समग्रमा अर्थतन्त्र प्रभावित हुने अवस्था देखिन्छ।
कुनै पनि अर्थतन्त्रका प्रमुख क्षेत्र हुन कृषि, पूर्वाधार संरचना र श्रम उत्पादकत्व अर्थतन्त्रका मूलभूत विषय हुन्। यी महत्वपूर्ण क्षेत्र प्रभावित हुनेको अर्थ मुलुकको अर्थतन्त्र नराम्ररी प्रभावित हुने दिशातिर अग्रसर छ। जलवायु परिवर्तनका कारण मौसममा आएको परिवर्तनस्वरूप बढ्दो तापमान, अनावृष्टि, अतिवृष्टि, बाढी पहिरो, नदी कटान, कृषि बालीको भौतिक क्षति आदिका कारण कृषि उत्पादनका क्षेत्रमा निकै नकारात्मक प्रभाव परिरहेको छ । यो अवस्था हामीले विगत केही वर्ष यतादेखि निरन्तर जसो भोग्दै आइरहेका हौँ। बालीनाली तयार भएर उठाउने बेलामा बाढी र डुबानले तहसनहस पारेको छ। कहिलेकाँहीमध्ये वर्षात् याममा खडेरी परेको भोगिएको छ। जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा पर्ने प्रभावका फलस्वरूप सन् २०३० अर्थात् एक दशकभन्दा कमको अवधिमा कुल आर्थिक वृद्धिदर शून्य दशमलव सातदेखि शून्य दशमलव आठ प्रतिशतले सङ्कुचन आउने विषय स्वाभाविक रूपमा चिन्ताको विषय हो।
विश्वका महत्वपूर्ण विशाल वन क्षेत्र जस्तै अमेजन, दक्षिण–पूर्वी एशियाका निकै पुराना वर्षावन (रेन फरेस्ट) क्षेत्र, हिन्दूकुश पर्वतमालाका वन क्षेत्र आदिमा हुने गरेका विनासलाई रोक्न अझ पनि सकिएको छैन।नेपाल कै कुरा गर्दा हाल वन क्षेत्रको विकासमा सुधारका संकेत आएता पनि विकासको नाममा वन विनास गर्ने परिपाटी पुनः मौलाउन थालेको छ। त्यस्तै औद्योगिक विकासको नाममा कोइला र जीवाश्म इन्धन (फसिल फ्यूल)को अत्यधिक खपतले निम्त्याउने उष्ण ताप र प्रदूषणलाई पनि कम गर्न सकिएको छैन।अष्ट्रेलिया, अमेरिका र युरोप तथा विश्वका अन्य भागका कुनै न कुनै ठाउँमा वर्षेनि लाग्ने विशाल डढेलोका कारण पनि प्रदूषण, तापक्रममा वृद्धि र वन तथा धनजनको ठूलो विनास हुने गरेको छ। भूउपग्रहमार्फत पृथ्वीका विभिन्न भागको फोटो खिचेर भौगर्भिक अनुसन्धान गर्न शुरु गरिएको पनि करिव ६५ वर्ष हुन लागि सकेको छ। पृथ्वीमा भएका वन क्षेत्र, कृषि क्षेत्र, पानी तथा भूभाग, नदीनाला, पर्वतमाला, विभिन्न मुलुकका सिमाना, वातावरण, मौषम, दैवी प्रकोप लगायत धेरै कुराको अध्ययन गर्न भूउपग्रहबाट लिइएका तस्विर÷भिडियो र रिमोट सेन्सिङ प्रविधिले ठूलो मद्दत पु¥याएका छन
हिन्दूकुश क्षेत्र अफगानिस्तानदेखि पाकिस्तान, भारत, चीन, भुटान र वर्मासम्म फैलिएको छ। यस क्षेत्रमा पर्ने अफगानिस्तानको करिव पुरै क्षेत्र र पाकिस्तान र भारतको केही क्षेत्र जलवायु परिवर्तनका कारण ज्यादै सुख्खा र पथ्थरमात्र भएको उजाड क्षेत्र भइसकेको छ र यहाँ पानीको ज्यादै नै अभाव हुन थालेको छ।हिमाली क्षेत्रमा पनि सामान्य भन्दा बढी र अहिलेसम्म कै अधिक तापमान यो वर्ष रेकर्ड गरिएको छ। फलस्वरुप हिमनदी पग्लेर तालहरू बन्न शुरु भएको छ। हिमालको हिउँ पग्लेर बन्दै गएका तालहरू फुटेर तल्लो भेगमा अप्रत्याशित बाढी र पहिरो जान सक्छ भने त्यस्ता तालमा हिमालबाट हिउँका ठूला ठूला पहिरो खसेर पानी छछल्किन गई बाढी र पहिरो जाने सम्भावना पनि उत्तिकै हुने गर्दछ।हाल क्षणिक रूपमा मनोरम ताल बन्न गएको भएता पनि पछि यस्ता तालहरू सुक्दै जान्छन्। यो नै मरुभूमिकरणको पहिलो चरण हो। यो क्रम रहिरहेमा वा बढ्दै गएमा केही दशक भित्र हिमालको हिउँ झनै पग्लेर ताल बनेका यस्ता क्षेत्रको पानी सुक्दै जाने र पथ्थरै पथ्थरको मरुभूमि बन्ने क्रममा हिमालय पुग्न सक्दछ। यो एक अति विकराल स्थिति हो।अर्को तर्फ चुरे पर्वत श्रृखलामा पनि प्राकृतिक श्रोतको चरम दोहन हुन थालेपछि त्यहाँको वातावरणमा व्यापक फेरबदल हुन शुरु भएको छ। जमिन मुनीको पानी समेत सुक्नुका साथै वन–जंगल मासिने र ढुंगा, बालुवा, गिट्टीको अनधिकृत ओसार पसार तथा योजना विनाका बाटा खन्ने कामले गर्दा चुरे क्षेत्र जर्जर हुँदै गएको छ। तर चुरेभाँवरको दोहनमा कुनै कमी आएको छैन।हिमाल र पहाड मात्र नभई तराईमासमेत कृषियोग्य जमीनको प्लटिङ र घर तथा शहरको निर्माण, बढ्दो जनसंख्या र यातायातको साधनको बढ्दो चापले गर्दा पानीको हाहाकार, बढी उष्ण वायुका साथै खाद्यान्नको अभाव हुन थालेको छ।यस्तो अवस्थामा बढ्दो तापमानसँगै पानीको अभाव र उष्णताले गर्दा माटोको उर्वरा शक्ति घट्ने हुँदा कृषियोग्य जमीनको उत्पादकत्वमा ह्रास आउन थाल्छ भने मानवजाती र पशुपंक्षीको जीवनचक्रमा नै नकारात्मक प्रभाव पार्न थाल्दछ।
पुरै मुलुक तथा दक्षिण एशियाको नै वातावरणमा ह्रास आउन थालेकोले पनि जलवायु परिवर्तन हुनमा थप बल पुगेको छ। मनसुनको कुनै ठेगान नहुने, कुनै वर्ष लामो अवधिसम्म पानी पर्ने त कुनै वर्ष खडेरी लाग्ने, प्रत्येक वर्ष तापक्रममा वृद्धि हुँदै जानाले जनजीवन नराम्ररी प्रभावित हुने तथा विभिन्न प्रकारका प्राकृतिक प्रकोप तथा महामारीहरू बढ्दै गएका छन्।वैज्ञानिकहरूको एक आँकडा अनुसार आउँदो ५० वर्षमा दक्षिण एशियामा गर्मीमा अप्रत्याशित वृद्धि भएर वर्षेनी करोडौं मानिसको मृत्यु हुन सक्ने अवस्था आउने छ। यसको शुरुवात भइ नै सकेको संकेत पाउन थालिएको छ।वर्षभरका विभिन्न समयका मौषमसँग नेपालका चाडपर्वहरूको अकाट्य सम्बन्ध कायम रहेकोमा जलवायु परिवर्तनले गर्दा केही समय यता चाडपर्व र सोसँग सम्बन्धित मौषमको बीचमा तालमेल नहुने अवस्था सिर्जना हुँदै गएको देखिन्छ।
गर्मी छलेर ठण्डा क्षेत्रमा बसोवास गर्ने आकांक्षा मानवजातिमा मात्र हुँदैन। उदाहरणको निम्ति केही वर्षदेखि नेपालमा नै लामखुट्टेदेखि लिएर कैयन् प्रजातिका चराचुरुङ्की र जङ्कली जनावर जस्तै चितुवा, बाघ र सर्प, विच्छी समेत अग्लो भूमि खोज्दै पहाड र हिमाल पुग्न थालिसकेका छन्।मलेरिया र डेङ्कु अब तराईको मात्र समस्या नभई नेपालका सबै क्षेत्रमा पैmलँदै गएका छन्। त्यस्तै तापमान वृद्धि कै कारण हिजो आज उच्च पहाडी इलाकामा पनि आँप र लिच्ची फल्न थालेका छन्। वर्षेनी टाढा टाढाबाट नेपालमा आएर केही समय बस्ने आप्रवासी चराहरूको संख्या बिस्तारै घट्न थालेको छ। तापमान र जनसंख्यामा वृद्धि तथा खेतीयोग्य जमीन र सिमसार क्षेत्रहरू घट्दै जानाले पनि त्यस्ता चराहरूले खानपान, बसोवास र बचेरा हुर्काउने जस्ता कुरामा यो क्षेत्र असुरक्षित भएको महसुस गरेर अन्यत्र जान थालेका छन्।जलवायु परिवर्तन कै कारण कैयन् जीव–जन्तु तथा माछा र किटाणुहरूको साथै धेरै थरी वनस्पति समेत लोप हुने क्रम बढ्दो छ । आकाशे पानीमा निर्भर हुनु पर्ने कृषिमा ह्रास आएपछि पशुपंक्षीको अवैध शिकारमा पनि वृद्धि हुने गर्दछ र फलस्वरूप प्राकृतिक इकोसिस्टममा नै खलल पर्न थाल्दछ। अहिले दशैँ र गर्मी तिहारका साथै माघे झरी माघमा नपर्ने, माघीमा जाडो नहुने, चैते हुरी चैतमा नआउने तथा मनसुनको शुरुवातमा पनि ढिलाई हुँदै जाने क्रम जलवायु परिवर्तनसँगै जोडिएको छ। केही दशक अघिसम्म पहाडी इलाकामा भदौतिर देखि ठण्डी मौषम शुरु हुने गरेकोमा हिजो आज कार्तिक महिनासम्म पनि गर्मी हुने र लामखुट्टे र साङला जस्ता जीवहरू देखा परिरहने हुन थालेको छ।एकातिर हामी जलविद्युतको ठूलो सम्भावना भएको राष्ट्रको रूपमा चिनिन्छौँ भने अर्को तर्फ जलवायु परिवर्तन कै कारण हाम्रो जलविद्युत उत्पादन क्षमतामा ठूलो ह्रास आउन थालिसकेको छ भने हालैका बाढी पहिरोका कारण पनि कैयन् चालु तथा निर्माणाधीन जलविद्युत केन्द्र तथा प्रसारण लाइनहरू नराम्ररी क्षतिग्रस्त भएका छन्। जलवायु परिवर्तन कै कारण भूमिगत जल भण्डार पनि सुक्दै गएको छ।
विश्वको तापमान बढ्दै जानाले हिमालय जस्तै पृथ्वीको उत्तरी र दक्षिणी गोलाद्र्धमा रहेको विशाल हिउँको भण्डार पनि छिटो छिटो पग्लन थालेको अवस्था विधमान छ । विश्वका अन्य क्षेत्रभन्दा उत्तरी गोलाद्र्धको तापमान तिव्र रूपले बढ्दै गएको छ भने दक्षिणी भागमा अवस्थित एन्टार्कटिका पनि ज्यादै प्रभावित हुँदै गएको अवस्था विधमान छ । जलवायु परिवर्तन कै कारण पानीको सतह ह्वात्तै बढ्न थाल्नुका साथै विभिन्न क्षेत्रमा भूमिगत जल भण्डार घट्दै जानाले विश्वका धेरै टापु राष्ट्रहरू डुब्दै जाने तथा समुद्रको किनारामा अवस्थित विशाल शहरहरू भित्र पानी पसेर जटिल समस्या निम्तने गरेको अवस्था विधमान छ । घना र अव्यवस्थित शहरीकरणको कारण जमीन बिस्तारै भासिँदै जाने क्रमको शुरुवात भइसकेको अवस्था विधमान छ । संयुक्त राज्य अमेरिकाको न्युयोर्क, भारतको मुम्बइ र कोलकाता, भियतनामको हो चिह्मीन सिटी, थाइल्याण्डको बैंकक, इन्डोनेशियाको जकार्ता आदि पानीको वहाव र सतह बढ्दै जानाले खतरामा पर्दै गएको अवस्था विधमान छन्।त्यस्तै बंगलादेशको समुद्री किनारा, माल्दिभ्स आदि डुब्दै जाँदै छन् भने मेक्सिको शहर तथा कैयन् अन्य घना बस्ती भएका शहरहरू भासिँदै गएको अवस्था विधमान छन्। यस्ता शहरहरूमा हुने दैवी प्रकोपहरूबाट शहरी गरीव समुदाय नै बढी प्रभावित हुने गर्दछन्। त्यस्ता मानिसहरू घरबार विहिन हुन पुगेर वातावरणीय शरणार्थीको रूपमा बाँच्न वाध्य हुने गर्दछन्। हावामा कार्वन डाई अक्साइडको मात्रा अधिक हुन थालेकोले यसले एकातर्फ सबै प्रकारका जिवहरूको स्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेको छ भने अर्को तर्फ समुद्रको सतह तथा जमीनमा पनि यसले अम्ल वर्षा गराएर वातावरणलाई झनै दुषित बनाइरहेको छ। समुद्रको समेत तापमान बढ्न थाल्नाले पानीमा जिउने जिवहरू पानीको सतहमा भन्दा पनि निकै गहिराई भित्र बस्न थालेका छन्।
जलवायु परिवर्तनको पहिलो शिकार कृषि क्षेत्र हुने भएकोले खाद्यान्नको संकट हुनुका साथै कृषि क्षेत्रमा आश्रित जनसंख्याको आर्थिक र सामाजिक जनजीवनमा ठूलो फरक पर्न थाल्दछ। त्यसरी नै मुलुकको समग्र आर्थिक वृद्धिमा नकारात्मक असर पर्न थालेर यसले रोजगारी र आर्थिक गतिविधि तथा खासगरी मुलुकको कृषिमा आधारित उद्योगधन्दा र व्यापारलाई समेत शिथिल बनाइदिन सक्छ। अप्रत्याशित बाढी पहिरोले गर्दा बनिसकेका र निर्माणाधीन पुर्वाधारहरू ध्वस्त हुन जाँदा मुलुकले ठूलो क्षति व्यहोर्नु पर्ने हुन्छ । जलवायु परिवर्तनको मूलकारक नेपाल जस्ता विकासोन्मुख मुलुक होइनन् तर हालका दिनमा विश्व जलवायु परिवर्तनले हिमालय लगायत मानव जीवन, सामाजिक–आर्थिक विकास, जैविक विविधता, पर्यटकीय विकास आदि क्षेत्रमा नकारात्मक असर पु¥याउन थालेको छ । फलस्वरूप अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो, हिमपहिरो, सुख्खाजस्ता प्राकृतिक विपद्को जोखिम समेत बढिरहेको छ। हिमालय क्षेत्र नजीकका भू–भागमा मात्र होइन, यसको नकरात्मक प्रभाव दक्षिण एसिया र सम्पूर्ण विश्वको वातावरणीय सन्तुलनमा समेत पर्न गएको अवस्था विधमान छ ।
हिमनदी विश्व तापमान बृद्धिका कारण प्रभावित हुने सबैभन्दा बढी संवेदनशील मापक हुन्। तिनीहरूको आकार हिमपात र त्यसको पग्लिने क्रमको अनुपातमा निर्भर गर्दछ । साविकको समय भन्दा पहिले विरुवामा फूल लाग्ने र चराले चाँडै अण्डा पार्ने गरेको पाइएको छ । यसले गर्दा पक्षी तथा अन्य जनावरको खाद्य चक्रमा असन्तुलन हुनगई सिङ्को पारिस्थितिक प्रणालीमा नै खलल हुने सम्भावना बढेको छ । उच्च तथा चिसो स्थानको तापक्रम बढ्नाले झिँगा र लामखुट्टेजस्ता रोगबाहक कीरा ती भागमा पुग्ने र रोग तथा महामारी फैलिने चुनौती बढ्दै गएको अवस्था विधमान छ । तराईमा अत्यधिक गर्मी बढ्ने र हिमाली क्षेत्रमा समेत तापक्रम बढेर हिउँ पग्लने क्रममा विस्तार हुँदै तिव्रता उन्मुख छ । यसबाट प्रकोपजन्य जोखिम उत्पन्न त भएको छ नै नागरिक सुरक्षा र संरक्षणका थप समस्या जस्तै नयाँ र असाध्य रोगको फैलावट, कृषिजन्य उत्पादन चक्रमा परिवर्तन र उत्पादनमा ह्रास आदिका कारण भोकमरी हुनगई व्यापक वसाई सराई देखापर्ने निश्चित छ र यसको सुरुआत भइसकेको अवस्था विधमान छ । वर्षाको प्रकार र तापक्रममा आएको परिवर्तनले देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो, भू–क्षय र खडेरीजस्ता प्रकोपका घटना बढ्दै गएका छन्। पहाडी भागमा व्यापक बाढीपहिरो जानका साथै स–साना खोल्सा, मूलकुवा आदि पानीका स्रोत सुक्दै जान थालेका छन् भने तराई भागमा भूमिगत पानीको सतह घट्न गएको छ। यसैगरी तापक्रमको वृद्धिसँगै झिंगा तथा लामखुट्टेको पनि बृद्धि भई मलेरिया, पहेँलो ज्वरो, डेङ्कु इन्सेफलाईटिसजस्ता सरुवा रोगको प्रकोप बढ्नाका साथै कृषि तथा पशुपालन क्षेत्रमा पनि नयाँ–नयाँ झार तथा रोगकीराको आगमनले नकारात्मक असर पारेको छ। तापक्रमका साथै वर्षातको समय, मात्रा र अवधिमा आएको परिवर्तनका कारणले कृषि उत्पादन र खाद्य सुरक्षामा थप नकरात्मक प्रभाव देखिन थालेको छ भने जलवायुको परिवर्तित अबस्था अनुसार खेतीपातीमा सुधार गर्ने सीप र दक्षताको अभावका कारण कृषक थप मारमा परेका छन्।
नेपालमा प्रतिवर्ष औसत ०.०४ डिग्री सेल्सियसका दरले तापक्रम बढिरहेको छ। यो विश्वव्यापी औसत वृद्धिभन्दा धरै बढी हो। त्यसमा पनि उच्च पहाडी क्षेत्रमा तापक्रम वृद्धिको दर अझ बढिरहेको छ। हिमतालको निर्माण र फुट्ने क्रम जलवायु परिवर्तनको सम्भवतः सबभन्दा टड्कारो प्रभाव हो भन्न सकिन्छ। नेपालमा २० वटा त्यस्ता खतरनाक ताल छन् जो कुनै पनि बखत फुट्न सक्दछन्। जलवायु परिवर्तनले गरीबीलाई अझ जोखिममा पार्दछ र सीमान्तकृत एवं जोखिममा परेका समूहलाई अझ कठिनाइ बेहोर्न सक्दछ। उदाहरणका लागि, दक्षिणपूर्वी एसियामा करिब २२ करोड १० लाख जनसंख्या गरीबीको रेखामुनी रहेको छ । यस क्षेत्रका गरीब खासगरी सामुद्रिक तटीय क्षेत्र र होचा भू–भागमा बसोबास गर्दछन्। यी गरीब मानिसको खेतीपातीका निम्ति अत्यन्त थोरै जमीन छ अथवा यिनीहरू ज्याला मजदुरी र सामुद्रिक निर्भरताबाट जीविका चलाउँछन्। यिनीहरू जलवायु परिवर्तनको बढ्ता जोखिममा छन् किनभने उनीहरूको अत्यन्त न्यून आयले परिवर्तित परिस्थितिको चुनौती सामना गर्नेगरी कृषिमा र स्वास्थ्य सेवा वा अन्य प्रकारका सुरक्षात्मक उपायका निम्ति थोरै वा विल्कुलै दक्षता, सीप र पहुँच पुग्दैन।
जलवायु परिवर्तनका नकारात्मक असरबाट नेपालसमेत अछुतो छैन । नेपालको तापक्रम वर्षेनि ०.०६ डिग्रीले बढिरहेको छ । हिमाली क्षेत्रमा तापक्रम वृद्धिको दर अझै बढी देखिएको छ । विश्व जनसंख्याको करिब ०.४ प्रतिशत जनसंख्या बसोबास गर्ने नेपालले विश्वको कुल हरितगृह ग्यासको करिब ०.०२७ प्रतिशतमात्र हिस्सा ओगट्छ । नेपालको अहिलेको कार्बन उत्सर्जनलाई ४ हजार गुणा बढाउँदा पनि विश्वको कुल उत्सर्जनको एक प्रतिशत पनि पुग्दैन । भूमिका यति न्युन भए पनि जलवायु परिवर्तनबाट उत्पन्न जोखिमका हिसाबले नेपाल विश्वकै चौथो जोखिमपूर्ण राष्ट्रको रूपमा रहेको छ । जलवायु परिवर्तनले हिमालय क्षेत्रमा हिमगलन बढ्दा हिमनदी खुम्चिँदै जाने र हिमताल विस्फोटको खतरा बढ्दैछ । मनसुनको समय, दर तथा प्रकृतिमै फरकपना आएको तथा तापक्रमको वृद्धिले गर्दा रोगको महामारी साथै कृषि उत्पादनमा नकारात्मक प्रभाव परेको छ । विभिन्न खाले प्राकृतिक प्रकोप वृद्धि भएको अवस्था छ । वार्षिक वर्षा चक्रमा हेरफेर, खडेरी, अतिवृष्टि तथा अनावृष्टि र खण्डवृष्टि अनि मनसुनको समय र अवधिमा परिवर्तनको कारक तत्त्व पनि जलवायु परिवर्तन नै हो । जलवायु परिवर्तनका कारण बढेको जलोत्पन्न प्रकोपले कृषि तथा खाद्यान्न, जलस्रोत, वनजंगल तथा जैविक विविधता, स्वास्थ्य, पर्यटन तथा पूर्वाधारमा प्रतिकूल प्रभाव पारेको छ ।
वातावरणको परिवर्तनले संसार तातेको छ र यस शताब्दीको अन्त्य वा सन् २१०० सम्म अझ ६ डिग्री सेल्सियस बढ्ने अनुमान छ । यसैका कारण सन् २०५० मा सागरको पानी २१ सेमीमाथि आउनेछ । सागरको छेउछाउ बस्ने १० करोड बेगर हुनेछन्, ३ करोडमा भोकमरी र १७ करोडमा पिउने पानीको समस्या देखिने भविष्यवाणी वैज्ञानिकले गरेका छन् । खडेरी, बेमौसममा भारी वर्षा, हिउँ पर्ने क्रममा कमी, तापक्रममा वृद्धि, तातो दिन र तातो रातहरूको वृद्धि, शीतलहरका दिन र समयमा वृद्धिका कारण जमिनको उत्पादकत्वमा गिरावट आएको छ ।
खडेरी, बेमौसममा भारी वर्षा, हिउँ पर्ने क्रममा कमी, तापक्रममा वृद्धि, तातो दिन र तातो रातहरूको वृद्धि, शीतलहरका दिन र समयमा वृद्धिका कारण जमिनको उत्पादकत्वमा गिरावट आएको छ ।मानवीय स्वास्थ्यमा जलवायु परिवर्तनको प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव परिरहेको छ । रोगको प्रकृतिमा पनि परिवर्तन आएको छ । जैविक किटाणुमा पनि औषधि पचाउन सक्ने क्षमता बढेको छ । वृद्धि भएको तापक्रमको कारण मुटु श्वास प्रश्वासजन्य रोग र त्यसका कारण हुने मृत्युदरमा वृद्धि भएको छ । पानीजन्य, कीटजन्य सरुवा तथा चोटपटक, मानसिक, पत्थरी, अन्धोपन र कुपोषणजस्ता नसर्ने रोगहरूको १० देखि १५ गुणासम्म तीव्र वृद्धि भएको पाइन्छ । नेपालमा पनि सन् १९९८ देखि २००८ को तुलना गर्दा १० गुणासम्म किटाणुजन्य रोगमा वृद्धि भएको पाइन्छ । नेपालमा बिरामी हुनेमा ५१ प्रतिशत कारण सरुवा रोग नै पर्छ, जुन जलवायु परिवर्तनसँगै दिन प्रतिदिन बढ्दो छ । नसर्ने रोग मानसिक रोग, चोटपटक, मुटुरोग, क्यान्सर, मिर्गौलाको पत्थरी, अन्धोपना, कुपोषण र त्यसबाट उत्पन्न जटिलताहरू पनि लगातार बढिरहेका छन् । जर्मन वैज्ञानिकका अनुसार विश्वमा भएको बढ्दो तापक्रमले भविष्यमा जन्मने बच्चाहरूमा रांैको संख्या बढ्नेछ । पुरुष रौंमा हुने पुरुष क्रोमोजोमले महिलामा हुने रांैभन्दा बढी गर्मी सहन सक्छ । तसर्थ, अबका बच्चाहरूमा पुरुष रांैको मात्रा बढ्नेछ । जलवायु परिवर्तनकै कारण प्राकृतिक प्रकोपहरूमा वृद्धि भएको छ । तराईमा शीतलहर तीन÷चार दिन चल्थ्यो । तर, हाल दुई÷तीन हप्तासम्म लम्बिएको छ । जनसंख्या विस्थापन, धनजनको हानि—नोक्सानीले मानसिक तनाव वृद्धि भएको छ । घाउ, चोटपटक, मृत्युजस्ता समस्या आइरहेका छन् । बाढी प्रकोपपछि देखापर्ने झाडापखालालगायतका पानीजन्य रोग बढ्छन् । खानपान, स्वास्थ्य संस्था, बाटो ध्वस्त, आवागमनमा अवरोध, दूषित पानी र सरसफाइमा कमीको कारण पनि स्वास्थ्य समस्या तथा संक्रमण प्रकोपका बेला बढ्छन्, जुन जलवायु परिवर्तनसँगै दिनप्रतिदिन बढ्दो छ । साथै, महाप्रलयको आशंका पनि छ । पुगनपुग १ लाख पीडित र ४ सयको मृत्यु भएको कालिकोट, जाजरकोटमा फैलिएको झाडापखाला, चितवनको डेंगु, अन्य स्थानका स्वाइनफ्लु, बर्डफ्लु पनि यसैसँग जोडिएको पाइन्छ । दसैंपछिको वर्षा, बाढी तथा पहिरो यसैको परिणाम हो ।
वातावरण संवेदन मानिएका टाइफाइड, रातो आँउ, हैजा १०आंै गुणाले बढेका छन् । सर्पको टोकाइ पनि ५ गुणाले बढेको छ । विषालु सर्प नपाइने ठाउँमा विषालु तथा पहाडमा पनि तराईमा मात्र पाइने गोमन सर्प पाउन थालिएको छ । कालाजार नेपालको दक्षिण क्षेत्रबाट अहिले उत्तरतिर विस्तार छ । उन्मुलनको अवस्थामा रहेको औलो तराई क्षेत्रबाट पहाडतिर उक्लेको छ । हात्तीपाइले रोग ६० बढी जिल्लामा फैलिएको छ । तराईमा मात्र देखिने क्युलेक्स जातको लामखुट्टेबाट सर्ने जापानिज इन्सेफलाइटिस काठमाडौंमा छ । एडिस एजिप्टी लामखुट्टेबाट सर्ने खतरनाक रोग डेंगु अहिले आएर काठमाडौंकै बासिन्दामा पनि देखिइसकेको छ । घरपालुवा तथा जगंली जनावरको पिसाबबाट मानिसको नांगो खुट्टा हुँदै सर्ने लेप्टोइस्पाइरोसिस पनि नेपालमा देखापरिसकेको छ । तराई र नदी किनारमा बसोबास गर्ने मानिसमा छालासम्बन्धी समस्या बढेको छ । जीउ चिलाउने, घाउ हुने, खटिरा आउने, तातो हावाका कारण बेहोस हुने र मर्ने बढ्दै छन् । हिमालवासीका अनुहारका छाला डढ्ने, आँखामा असर परेर मोतियाबिन्दु र मोतियाबिन्दु भई अन्धोपन हुने सम्भावना रहने भएकाले भविष्यमा नेपालमा अन्धोपनको संख्या र समस्या धेरै बढ्ने संकेत छ । पहाडी र हिमाली बासिन्दाले पानी कम पिउँछन् तर जलवायु परिवर्तनको कारण पानीको स्रोतहरू कम हुँदै छन् । पानी कम खाने तथा उपलब्धता पनि कम हुने भएपछि पानी अझै कम खाने तर गर्मी बढी हुने, पसिना बढी बग्ने हुँदा शरीरमा पानी कम भई मिर्गौलाको पत्थरी हुने सम्भावना बढ्छ ।सबै राष्ट्रले समयमै सचेतना नअपनाए महाप्रलय आई करोडौं मानिसको मृत्यु र खर्बौं डलरको क्षति हुने निश्चित छ ।शीतलहरको बेला उत्पन्न हुने निमोनिया, डायरिया, श्वासप्रश्वासको समस्या, दिमागको नसा फुटी पक्षघात, उच्च रक्तचाप बढ्ने र भएकोमा झनै बढ्ने र मृत्यु हुनेको संख्या बढ्दै छ ।
एसिया र अफ्रिकी क्षेत्रका गरिब देशहरू जलवायु परिवर्तनसँगै बढेका प्राकृतिक प्रकोप, खडेरी, जलस्रोतको विनाश तथा प्रतिकूल मौसमका कारण भोकमरी र विभिन्न रोगब्याधीको महामारीबाट गुज्रिनुपरेको छ । जलवायु परिवर्तनको असर भूधरातलीय तथा आर्थिक–सामाजिक हिसाबले कमी वा बढी देखिएला, तर यसको असर विश्वव्यापी छ । फरक यत्तिमात्र हो कि धनी देशहरूसँग जलवायु परिवर्तनका नकारात्मक असरसँग जुध्ने तागत छ भने गरिब देशहरू बित्थामा मार खेप्न बाध्य छन् र उनीहरूसँग जलवायु परिवर्तनबाट सिर्जित नकारात्मक प्रभावसँग जुध्ने सामथ्र्य पनि छैन ।
वैज्ञानिकहरूले १.५ डिग्री सेल्सिअससम्मको तापक्रम वृद्धि पृथ्वीका लागि सुरक्षित हुने बताएका छन्। त्योभन्दा बढ्यो भने चाहिँ प्राकृतिक वातावरणमा खतरनाक परिवर्तनहरू आउने र त्यसले मानव जीवन बदल्ने उनीहरू बताउँछन्। धेरै वैज्ञानिकहरूको अनुमानमा यो शताब्दीको अन्त्यसम्म पृथ्वीको तापक्रम ३ डिग्री सेल्सिअससम्म बढ्न सक्छ। यसको असर विश्वभर फरक–फरक हुनेछ। यूकेजस्ता देश अतिवृष्टिका कारण बाढीको जोखिममा हुनेछ, समुद्र सतहको हाराहारीमा रहेका टापुहरू पानीको सतह बढ्न जाँदा हराउने छन्,थुप्रै अफ्रिकी देशहरूमा खडेरी र खाद्य अभाव हुने छ,उत्तर अमेरिकी महादेशको पश्चिम अमेरिकामा खडेरीको सम्भावना हुनेछ भने अन्यत्र अतिवृष्टि र शक्तिशाली आँधी बढ्ने छन्,अस्ट्रेलियामा चरम गर्मी र खडेरी देखिने छ।तापक्रम र मौसमको ढाँचामा दीर्घकालीन परिवर्तनका कारण सन् २०३० सम्ममा १० करोड मानिस गरिबीको रेखामुनि धकेलिने विश्व बैंकको अनुमान छ । हाम्रो भूगोल, न्यून आर्थिक विकास र हाम्रो ताजा हावा र जलस्रोतमा आएको कमीका कारण जलवायु परिवर्तनको विनाशकारी नतिजाबाट हामी बढी पीडित हुनेछौं। यस कुराको जानकारी त हालकै स्थिती बाट आंकलन गर्न सकिन्छ।
जलवायु परिवर्तनवाट पर्ने असर न्युनिकरणका प्रयासहरु
जलवायु परिवर्तनलाई पूर्णरूपमा रोक्न असम्भव भए पनि यसका असरलाई न्युनीकरण गर्ने तथा जलवायु परिवर्तनका नकारात्मक असरसँग जुध्नका लागि तयारी गर्ने वा अनुकूलनका उपाय अपनाउनु नै अहिलेको विकल्प हो । हरितगृह ग्यासको उत्सर्जनलाई घटाएर जलवायु परिवर्तनको दर तथा यसको असर कम गर्नु पर्नेछ, जसलाई अल्पीकरण भनिन्छ । प्राकृतिक रूपमा कार्बन शोषण गर्ने वनजंगलको संरक्षण साथै सामुद्रिक पर्यावरणको सुरक्षा महत्त्वपूर्ण हुन्छ । जलवायु परिवर्तनका असर न्यूनीकरण गर्नका लागि हामीले विभिन्न रणनीतिहरु अवलम्बन गर्न सक्छौं। जस्तै हामीले हरितगृह ग्याँसको स्रोतको कटौती गर्नुपर्छ। जलवायु परिवर्तनले जोखिममा रहेको समुदाय, व्यक्ति, परिवारको सम्भावित नोक्सानी कम होस् भनेर विभिन्न विकास निर्माणका कामहरु गर्न जरुरी छ । हामीले दिगो विकास निर्माणका कुराहरुलाई अवलम्बन गरेर मात्र अगाडि बढ्नु जरुरी छ। वातावरणीय प्रभाव मूल्यांकनको फ्रेममा रहेर मात्र विकासलाई दिगो विकासमा जोड्न सकियो भने हामी सोचे अनुसारको लक्षमा पुग्न सक्छौ।
वि.सं. २०६६ सालमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललेको सन्दर्भमा पाँच हजार पाँच सय ४४ मिटर अग्लो कालापत्थरमा मन्त्रिपरिषद् बैठक गरेका थिए। यसको मुख्य उद्देश्य हिमाली समुदायमा परेको जलवायु परिवर्तनका असरहरुबारे विश्व समुदायलाई सचेत गराउनु थियो। केही हिमाली भेगमा जलवायु परिवर्तनबारे जनचेतनामूलक सन्देश फैलाउनु थियो। माल्दिभ्सले समुद्रभित्र मन्त्रिपरिषद् बैठक ग¥यो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट जलवायु परिवर्तन न्यूनीकरणका लागि केही कदमहरु चाले पनि सोचेअनुसारको गति लिन सकेको देखिदैन। आवश्यक नीति नियमहरु बनाई प्राविधिक तथा आर्थिकरुपमा पनि बलियो रुपमा अगाडि बढी कार्यान्वयनमा लाग्नु अपरिहार्य छ। आगामी पुस्ताको सुन्दर भविष्यको लागि हामीले आजै केही कदमहरु चाल्नु जरुरी छ । हाल विश्वमा हुने हरितगृह ग्यासको कुल उत्सर्जनमा नेपालको हिस्सेदारी ०.०२५ प्रतिशत रहेको छ । कार्बन डाइअक्साइडको अत्यधिक उत्पादनका कारण नै जलवायु परिवर्तनको समस्या देखा परेको हो। जलवायु परिवर्तनका सन्दर्भमा अहिले विश्वमा उत्सर्जन हुने करिव ६० प्रतिशत कार्बन डाइअक्साइड वनजङ्कलले सोस्ने गर्दछ। यसबाट के देखिन्छ भने विश्वमा यसको प्रभाव घटाउनका लागि हामीले सकेसम्म बढी वनजङ्कल बढाउने प्रयत्न गर्नुपर्छ । जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न र यसलाई लाभमा परिणत गर्नका लागि बहृत् रूपमा वृक्षारोपणको अभियान चलाउनुपर्छ। प्रत्येक घर र कार्यालयमा कम्तीमा एउटा रूख मात्रै रोप्न सक्ने हो भने पनि हामीले निकै धेरै लाभ हासिल गर्न सक्छौँ। त्यसैगरी, सडकको दायाँ–बायाँका किनारामा वृक्षारोपण गर्नुपर्छ। त्यसो गर्न सकियो भने गाउँ र सहरको शोभा मात्र बढ्दैन, मानव स्वास्थ्यका लागि आवश्यक अक्सिजन पनि उत्पादन हुन्छ ।
जलवायु परिवर्तनका नकारात्मक असर देखिइसकेको र भविष्यमा पनि देखिने पक्कापक्की भएको अवस्थामा त्यस्ता असरबाट बाँच्ने तथा मानवीय र वातावरणीय क्षति कम गर्ने तर्फ पूर्वतयारी तथा क्षमता विकास गर्नु पर्नेछ, जसलाई अनुकूलन भनिन्छ । यसले जलवायु परिवर्तनले सिर्जना गर्ने कतिपय सकारात्मक असर (जस्तै, कतिपय क्षेत्रमा बालीनालीको उब्जनी बढ्ने, चिसो ठाउँमा समेत वर्षमा धेरै महिनासम्म बाली उब्जाउन सकिने) बाट फाइदा उठाउने कुरालाई पनि बुझाउँछ । जलवायु परिवर्तन अनुकूलनको विषय सामूहिक दायित्वको विषय हो र यसले समग्र पक्ष तथा तहमा क्रियान्वयनको आवश्यकता पर्छ ।
हरितगृह ग्यास उत्सर्जन र जलवायु परिवर्तनको निदानका लागि राज्यस्तरमा नै पेट्रोलियम पदार्थको खपतमा कमी ल्याउँदै नवीकरणीय उर्जा जस्तै जलविद्युत, सौर्य तथा वायु र वायो उर्जाको विकास तथा उपयोग गर्ने, वातावरणमैत्री आर्थिक विकास र निर्माणमा विशेष ध्यान दिने तथा आवश्यकता अनुसार मात्र सवारी साधनको उपलब्धतामा विशेष पहल गर्ने कार्यको आजै थालनी गर्नु पर्दछ।वन–जंगल फडानी र यसको अप्राकृतिक दोहनमा नियन्त्रण गर्नुका साथै सक्दो वृक्षरोपण तथा सिमसार क्षेत्रको संरक्षण र मानव निर्मित ताल तथा पोखरीहरूको व्यापक निर्माण र वर्षे पानी जम्मा गर्ने जस्ता पुरातन प्रणालीलाई पुनर्जागृत गर्नु पर्दछ । कृषि, औद्योगिक र शहरी क्षेत्रहरू छुट्टाएर बढी भन्दा बढी हरित र जल क्षेत्रको विकास गर्नु उचित हुन्छ। आम जनतामा वातावरणको महत्व झल्काउन व्यापक रूपमा वा अर्को शव्दमा प्रदेश र स्थानीय स्तरमा समेत सचेतना कार्यक्रमहरू सञ्चालन गरिनु पर्दछ भने सार्क सदस्य राष्ट्रहरूले एकापसमा समन्वय गरेर यी सब कार्यक्रम सबै सदस्य राष्ट्रमा सञ्चालन गर्नु आवश्यक छ ।
सन् १८५० देखि १९०० को बीचमा भन्दा सन् २०११ देखि २०२० को बीचमा विश्वव्यापी जमिनको सतहको तापक्रम १.०९ सेल्सियसले बढी रह्यो
विगत पाँच वर्षमा सन् १८५० यताकै सर्वाधिक गर्मी भएको छ ।
जलवायु परिवर्तनका कारण नेपालले बाढी, पहिरो, खडेरी, डढेलो जस्ता प्रकोपहरू निरन्तर बढिरहेको छ ।
हिमालमा हिउँको मात्रा घटेको छ भने हिमतालहरू फुट्ने जोखिम बढेको छ ।
सन् १९०१ देखि १९७१ सम्मको तुलनामा समुद्रको सतह तेब्बरले बढेको छ ।
विश्वव्यापी हिमनदीहरूमा हिउँ हराउनु र आर्कटिकमा हिउँ घट्नुको मुख्य कारक मानव प्रभाव रहेको देखिन्छ ।
लूसहित अति गर्मीका घटना बारम्बार हुन थालेको र सन् १९५० को दशकयता झन् कडा भएको छ जबकि चिसोका घटना कम हुन हुनुका साथै कम कडा हुन थालेको छ ।
विश्व तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्नका लागि विश्वव्यापी रूपमै बढी कार्बन उत्सर्जक मुलुकहरूले योगदान गर्नुपर्ने अवस्था छ ।
प्रमुख कार्बन उत्सर्जक मुलुकले प्रतिबद्धता अनुसार काम नगर्दा नेपालले जलवायुजन्य प्रकोप, खाद्य सुरक्षा र पानीको उपलब्धतामा कमि जस्ता समस्या समेत भोग्न थालिसकेको छ ।
धेरै विकासोन्मुख देशहरू उस्तै समस्या भोगिरहेको सन्दर्भमा अतिकम विकसित राष्ट्रहरूको समूह (एलडीसी)को अध्यक्षका हैसियतले पनि नेपालले मुद्दाहरू उठाउन सक्ने अवस्था छ ।
सन् २०३० सम्म अनुकूलनका प्राथमिकता कार्यान्वयन गर्न नेपाललाई २१ अर्ब अमेरिकी डलर (२८ खर्ब रूपैयाँ) आवश्यक पर्ने ठहर सरकारको छ । अनुकूलन सम्बन्धी स्थापित कोषहरूमा नेपालले सहज पहुँच पाउने गरी पहल पनि गर्नुपर्ने अवस्था छ ।
जलवायु परिवर्तनसँग जुध्न निर्माण भएका कोषहरूबाट प्राप्त गर्ने पूँजीगत लाभका लागि नेपालले याचना नभई ‘क्लाइमेट जस्टिसका रूपमा विश्वको ध्यानाकर्षण गराउने संभावना ।
‘कोप–२७ सम्म आइपुग्दा स्थापना गर्ने भनिएको हानि–नोक्सानी सम्बन्धी कोषमा नेपाल बढी हकदार रहने ।
संवेदनशील उच्च हिमालय क्षेत्रमा अवस्थित नेपाल जस्ता जलवायु परिवर्तनको असर छिटो र धेरै भोग्ने मुलुकहरू स्रोत अभावमा दुष्प्रभाव कम गर्न र स्थानीय समुदायलाई सुरक्षित गर्न चुनौती भोगिरहेका छन् ।
नेपाली अर्थतन्त्रमा जलवायु परिवर्तनजन्य असर कम गर्न सकिने तर्फ पनि सम्बन्धित क्षेत्रको ध्यानाकर्षण हुनु जरुरी छ। जलवायु परिवर्तन रोक्नका लागि ठूलो भूमिका सरकार तथा उद्योग व्यवसायको रहेको छ । तर वैज्ञानिकहरुका अनुसार हरेक मानिसको जीवनमा केही स साना परिवर्तन गर्नेहो भने पनि यसले जलवायु परिवर्तनलाई कम गर्न मद्दत गर्दछ । यस्ता प्रयासहरुमा ःहवाई जहाजको यात्रा कम गर्ने,जिवाश्म इन्धनबाट चल्ने गाडीको प्रयोग नगरी विद्युतीय गाडीको प्रयोग गर्ने,मासु तथा दुग्धजन्य पदार्थको उपयोग कम गर्ने,ऊर्जा खपत घटाउने, किफायती बनाउने, आफ्नो घरको उर्जाको चुहावट घटाउने,ग्रार्हस्थ्य प्रयोगमा आउने ग्याँसलाई बिजुलीले विस्थापित गर्ने आदि उपायहरु अवलम्वन गर्न सकिन्छ ।
विश्व बैंैकको प्रतिवेदनले औँल्याएको महत्वपूर्ण विषय नेपालको जलविद्युत्को सम्भावना हो। यो अति महत्वपूर्ण छ। बैङ्गले जलविद्युत् उत्पादनलाई बढावा दिएर त्यसको खपत सकेसम्म स्वदेशमै गरेर नेपाली अर्थतन्त्रलाई बहुआयामिक सुुधार गर्न सहायकसिद्ध हुने तथ्य औँल्याएको छ । स्वदेशभित्रै विद्युतीय ऊर्जाको प्रयोगले लगानी, उत्पादन, आय र रोजगारीमा सकारात्मक प्रभाव पर्नेछ। नेपाली अर्थतन्त्रलाई बढी भएको जलविद्युत्लाई छिमेकी राष्ट्र भारत, बंगलादेश, भुटान, नेपाल ( बीबीआईएन ) सञ्जालको व्यापार मेरुदण्डका रूपमा औँल्याउनु पनि हाम्रा लागि सुखद विषय हो। यो विषयलाई कार्यान्वयन गर्नेतर्फ सरकारी निकायले उपयुक्त रणनीति तथा गृहकार्य सुरु गरिहाल्नु मुलुकको अर्थतन्त्रका लागि लाभदायक हुनसक्छ । जलवायु परिवर्तनको विषयलाई आर्थिकलगायत मानव जीवनका सबै पक्षसँग लेखाजोखा गरिँदा जलवायु परिवर्तनका कारक विषयहरूको नियन्त्रणमा नै ध्यान दिनु श्रेयष्कर हुन्छ। यसबाट समस्त विश्व तथा मानव सभ्यतामा नै सकारात्मक प्रभाव पर्नेछ। साथै यसबाट उत्पन्न विषमतालाई एकजुट भएर समाधान गर्नु पनि त्यत्तिकै आवश्यक छ। चुरे पहाडको संरक्षणका लागि पनि हामीले त्यत्तिकै ध्यान दिनु परेको छ । लगातार रूपमा चुरे पर्वत शृखलामा भइरहेको क्षयीकरणले हाम्रो भू–सन्तुलनमा नै समस्या खडा गर्ने देखिएको छ । देशभरि नै वातावरण मैत्री सार्वजनिक यातायात प्रणालीको विकास गरी प्रत्येक घरमा ऊर्जा बचतको प्रविधि लागू गरिनुपर्दछ र सम्पूर्ण उद्योगलाई कम कार्बन उत्सर्जन गरेको सुनिश्चित गर्न नियमन गरिनुपर्दछ। यसैगरी विद्यालयको सम्पूर्ण तहमा वातावरण शिक्षाको पाठ्यक्रम समावेश गर्नु र भएका पाठ्यक्रमको अद्यावधिक र स्तरीकरण गरिनु जरूरी छ । हरितगृह ग्यास उत्पादनमा कमी ल्याउन वैकल्पिक ऊर्जाको प्रयोग एक प्रमुख उपाय हो। त्यसैले आजैदेखि ऊर्जाको रूपमा पेट्रोलियम पदार्थको उपयोगमा कमी ल्याई वैकल्पिक ऊर्जाजस्तै जलविद्युत्, सौर्यशक्ति, बायोग्यासको उपयोगमा वृद्धि गर्न आवश्यक छ।
जलवायु परिवर्तन अनुकूलन
‘जलवायु परिवर्तनप्रति अनुकूलन भन्नाले विश्वव्यापी तापमान वृद्धिले वातावरण, समाज, जनस्वास्थ्य तथा अर्थतन्त्रमा पार्ने हानिकारक असर कम गर्न मानिसहरू र सरकारहरूले गरेका कामलाई जनाउँछ । यस्ता असरविरुद्ध गरिने अनुकूलनलाई अर्थपूर्ण बनाउन प्रत्येक देश, क्षेत्र र समुदायको लागि तोकिएको छुट्टा छुट्टै व्यवहारिक समाधानका उपाय चाहिन्छन् ।अनुकूलनका लागि धेरै प्रकारका उपाय प्रयोग गर्न सकिन्छ । त्यसमध्ये दक्षिण एसियामा प्रयोग भईरहेका प्रमुख अनुकूलनका तरिकाहरूमा खडेरी वा सुक्खा सहन सक्ने नयाँ बाली प्रजातिहरूको विकास, समुन्द्र तट वा नदी तट वरिपरी बस्ने समुदायहरूलाई संरक्षण गर्न बाढी प्रतिरोधका उपाय विकास, जलवायु परिवर्तनले ल्याउने प्रकोपको पूर्वसूचना प्रणाली विकास र जलवायुजन्य घटनाहरू अत्यन्त तीव्र भएमा त्यसलाई सहन सक्ने पारिस्थितिक प्रणालीहरूको पुर्नस्थापना गर्ने कुरामा जोड दिनु पर्दछ । मौसममा आउने उथलपुथलले विगतमा जलवायु परिवर्तनका असरबाट बच्न अपनाइएका अनुकूलनका उपायहरू अब पर्याप्त नहुने र गरिब अनि न्यून कार्बन उत्सर्जन गर्ने नेपाल जस्ता मुलुकमा आइपर्ने “लस एन्ड ड्यामेज“ भनिने यस्ता ठूल्ठूला हानिनोक्सानीको कतैबाट लेखाजोखा र क्षतिपूर्ति हुनुपर्ने आवाज उठिरहेका छन्।
अन्त्यमा,यदि अहिलेकै गतिमा जलवायुमा परिवर्तन भइरहने हो भने प्रकृतिबाट अपूर्व वरदानका रूपमा पाएका सुन्दर हिमताल र नदीनाला यिनीहरू कालान्तरमा संकटमा पर्ने निश्चित छ। त्यसो भयो भने हामीले निकै ठूलो ऊर्जा संकटको सामना गर्नुपर्ने छ। हाम्रो मुलुकमा रहेका हिमशृखला पग्लिने वा क्षय हुने क्रमसँगै पर्वतारोहणका कारण ती शृखलामा फोहोरमैला र प्रदूषण बढेको छ । यसलाई हामीले व्यवस्थित गर्नुपर्छ । विश्वका मुलुकहरुले हातेमालो गरेर एकसाथ कदम चालेमा मात्रै जलवायु परिवर्तनसँग जुध्न सकिन्छ भन्ने कुरामा विश्व समुदाय एकमत छ । सन् २०१५ मा भएको पेरिस सम्झौतामा पनि विश्व उष्णीकरणलाई १.५ डिग्री सेल्सियस सम्म कायम राख्ने संकल्प गरिएको थियो ।सन् २०२२ को नोभेम्बरमा इजिप्टमा भएको कोप २७ मा समेत विश्वका नेताहरुले जलवायु परिवर्तन रोक्नका लागि नयाँ प्रतिबद्धता जनाएका थिए ।विभिन्न देशहरुले सन् २०५० सम्ममा शून्य कार्वन उत्सर्जन अर्थात् नेट जिरोको लक्ष्य हासिल गर्ने संकल्प गरेका छन् । यसको अर्थ हरितगृह ग्याँस उत्सर्जनलाई जति सकिन्छ त्यति कम गर्नु र बाँकी उत्सर्जनलाई वातावरणमा पूरै अवशोषण गरेर सन्तुलित राख्नु हो ।विकसित देशका तुलनामा नेपालले हरितगृह ग्यास नगण्य मात्रामा उत्सर्जन गरे पनि तापक्रमवृद्धिका कारण वातावरणमा क्रमशः बहुआयामिक असर देखा परिरहेका छन्। सन् २००७को जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी कार्यदल र सन् २००९मा जलवायु परिवर्तनसम्बन्धी कोपनहेगन सम्मेलनको प्रतिवेदनले विश्वभरिको जलवायुको तथ्यांकलाई आधार मान्दै विश्वको तापक्रम बढ्दै गएको, वर्षामा थपघट भएको र विश्वका विभिन्न ठाउँमा यसका असर देखा परेको कुरा वैज्ञानिक रूपमा पुष्टि गरेको छ भने भविष्यमा हरितगृह ग्यासको मात्रा अहिलेका अनुपातमा बढ्दै गएको खण्डमा अझ स्थिति भयावह हुने कुरालाई इङ्गित गरेको छ। तसर्थ हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउन स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा साझा प्रयासको खाँचो टड्कारो देखिएको छ।नेपालजस्तो कृषिप्रधान देशमा यसले आफ्नो सबैभन्दा बढी आम्दानी गर्ने स्रोतहरू जस्तै बाली, खेत र प्राकृतिक जडिबुटीहरु गुमाउन सक्छ। तसर्थ, जलवायु परिवर्तनले व्यक्तिगत जीविकोपार्जनमा पार्ने असरका अतिरिक्त त भान छँदैछ त्यस माथि हामीजस्ता अविकसित राष्ट्रको संघर्षरत अर्थतन्त्रमा पनि यसले गम्भीर असर पार्नेछ । विकसित देशहरूमा नवीकरणीय ऊर्जाका अन्य स्रोतहरूमा लगानी गर्ने अर्थतन्त्रको ब्यबस्थापन हुन सक्छ तर हामीजस्ता मुलुकहरूसँग कार्बनाइज्ड ऊर्जाबाट दिगो ऊर्जामा परिवर्तन गर्ने स्रोतहरू छैनन् र हाम्रो आम्दानीको मुख्य स्रोत कृषिसँग जोडिएको छ जुन जलवायु परिवर्तन बाट अत्यधिक प्रभावित छ । सन् २०१९ मा गरिएको स्ट्यानफोर्ड अध्ययनका अनुसार विश्वका धनी र गरिब देशहरूको आर्थिक उत्पादनबीचको अन्तर आज ग्लोबल वार्मिङ नभएको भए भन्दा २५ प्रतिशत बढी छ। हामीसँग परिवर्तनलाई न्यूनीकरण गर्ने धनी देशको जस्तो अवसर छैन।हालको जलवायु परिवर्तन र ग्लोबल वार्मिङले विश्वका धेरै देशहरूमा विद्यमान पानीको सरसफाइको संकटलाई अझ बढाउँदै लगेको छ। तसर्थ जलवायु परिवर्तनका समस्याहरूसँग लड्नका लागि कानुनी संरचनाको उचित कार्यान्वयनलाई प्रभावकारी रूपमा नियमन गर्नुपर्छ । कानुनको लामो इतिहासको बिरूद्ध विश्वव्यापी वातावरणीय परिवर्तन एउटा नयाँ र जटिल समस्या हो जसको लागि हामी नयाँ कानुनी शासनको फेसन गर्दैछौं। नयाँ कानुनी व्यवस्थाहरूले जलवायु परिवर्तन, विश्वव्यापी चिन्ताको बृद्धि र समसामयिक कानुनी विकासका लागि कमन्स (समुहको भु उपयोग र प्राकृतिक स्रोतहरुको उपयोग) त्रासदीलाई नेपालले पनि वातावरणीय हानिको लागि दायित्वको मापदण्डहरू विकास गर्न, मूल्यांकन गर्न आवश्यक छ। अन्तमा, जलवायु तथा मौसमसम्बन्धी परिवर्तनले द्रुतगति लिएमा निकट भविष्य मै बाढी, पहिरो, सामुद्रिक आँधी, अनिकाल, अनावृष्टि तथा भूकम्पसमेत निम्त्याउँदै छ । सबै राष्ट्रले समयमै सचेतना नअपनाए महाप्रलय आई करोडांै मानिसको मृत्यु र खर्बौं डलरको क्षति हुने निश्चित छ । पर्यावरणलाई यी यावत् खतराहरुबाट अझै पनि जोगाउन सकिन्छ । तर यसका लागि सरकार, उद्योगी व्यापारी तथा आम नागरिकहरुले व्यापक रुपमा आफ्ना व्यवहारहरुमा परिवर्तन गर्नु आवश्यक छ ।
(उप्रेती नेपाल सरकारका उपसचिव हुन् ।)
प्रकाशित :२०८० मंसिर १८, सोमबार १०:२८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%