फोहरमैला प्रशोधन केन्द्रमा उपकरण जडान

तनहुँ। शुक्लागण्डकी नगरपालिका शुक्लागण्डकी–५ कसेरीमा फोहरमैला प्रशोधनका लागि आधुनिक यन्त्र उपकरण जडान सुरू गरिएको छ। लामो समयसम्म फोहरमैला व्यवस्थापनमा समस्या भोग्दै आएको नगरपालिकाले आधुनिक उपकरण जडान सुरू गरेको हो।
Advertisement 1
फोहरलाई प्रशोधन गरेर मोहरमा बदल्न शुक्लागण्डकी नगरपालिका, ग्रिन रोड र सूर्य नेपाल प्रालिबीच त्रिपक्षीय सम्झौता भई काम अगाडि बढेको नगरपालिकाका उपप्रमुख खुमबहादुर विकले जानकारी दिए। सूर्य नेपालको लगानीमा आवश्यक थप पूर्वाधार निर्माणको कामसँगै फोहरमैला प्रशोधनका विभिन्न उपकरण ल्याइएको छ। असोजभित्र फोहरमैला प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने तयारी गरिएको विकले बताउ। उनले भने, “प्रशोधन केन्द्र सञ्चालनमा आएपछि अहिलेजस्तो फोहर हुनेछैन। टोल विकास संस्थासँगको सहकार्यमा घरबाटै फोहर वर्गीकरण गरेर सङ्कलन गरिनेछ।”
गत वैशाख ११ गते शुक्लागण्डकी नगरपालिका, ग्रिन रोड र सूर्य नेपाल प्रालिबीच फोहरको व्यवस्थापनका लागि त्रिपक्षीय सम्झौता भएको थियो। सम्झौतालगत्तै कसेरीमा विभिन्न ११ युनिट निर्माणको काम धमाधम भइरहेको छ। ‘भेर्मी कम्पोस्ट पिट’, ‘अग्र्यानिक वेस्ट ओपन ट्रस्ट’, ‘डिस्पोजल वेस्ट ओपन ट्रस्ट’, ‘प्लेटिजिङ प्रोसेस सेन्टर’, ‘प्रिसटिङ एरिया’, ‘एक्जिटिङ प्रोसेस सेन्टर’, विद्युतीय घर, शौचालय, भान्छा, क्यान्टिन हल, कार्यालय र सुरक्षाकर्मी घर निर्माण भइरहेको हो।
Advertisement 2
१० वर्षे अवधिका लागि फोहरमैला व्यवस्थापनको त्रिपक्षीय सम्झौता भएको छ। सम्झौताअनुसार शुक्लागण्डकीलाई सूर्य नेपालले रु २ करोड ४ लाखको लगानी गरेको छ। त्यसबाट पूर्वाधार निर्माणसँगै फोहरमैला व्यवस्थापनका विभिन्न उपकरण खरिद गरेर जडान हुनेछ। शुक्लागण्डकीले फोहर व्यवस्थापनको जिम्मेवारी ग्रिन रोडलाई दिएको छ।
शुक्लागण्डकी नगरपालिकाका वन, वातावरण तथा फोहरमैला व्यवस्थापन शाखाका इञ्जिनियर भीम सुवेदीले असोजदेखि फोहर प्रशोधनको काम सुरू गरिने जानकारी दिए। आर्थिक वर्ष २०७४/०७५ को बजेटबाट शुक्लागण्डकी नगरपालिकाले कसेरीमा फोहरमैला सङ्कलनका लागि ट्रष्ट निर्माण गरेको हो। ट्रष्ट निर्माणका लागि रु २४ लाख ७० हजार ८५१ खर्च भएको छ। त्यस्तै २०८०/८१ मा पनि कम्पाउण्ड र ट्रष्ट निर्माणमा रु ५२ लाख ५९ हजार ५३ खर्च भएको जनाइएको छ।
Advertisement 3
आर्थिक वर्ष २०७५/७६ मा फोहरमैला सङ्कलन केन्द्रसम्म पुग्ने सडक स्तरोन्नति गर्न रु ५२ लाख खर्च भएको थियोभने गत आवमा फोहरमैला व्यवस्थापन केन्द्रमा सेती नदीले कटान गरेपछि करिब रु ४५ लाखको लगानीमा तटबन्धन गरिएको छ। शुक्लागण्डकी नगरपालिकाले हाल बजार क्षेत्रबाट सङ्कलित फोहर सेती नदी किनारमा फाल्दै आएको छ। केन्द्र सञ्चालनमा आएपछि फोहरमैला व्यवस्थापनमा सहज हुने नगरप्रमुख कृष्णराज पण्डितले बताए।