बिहीबार विद्युत् अवरुद्ध भएकोप्रति प्राधिकरणको स्पष्टीकरण

काठमाडौं। बिहीबार साँझ काठमाडौं उपत्यकालगायत स्थानमा विद्युत् अवरुद्ध भएकोबारे नेपाल विद्युत् प्राधिकरणले स्पष्टीकरण दिएको छ। शुक्रबार स्पष्टीकरण दिँदै प्राधिकरणले ढल्केबर–नवलपुर लाइनमा रुखको हाँगा खसेर २ वटा लाइनमा डिस्टर्ब हुँदा सिस्टममा समस्या आएको बताएको हो।
Advertisement 1
प्राधिकरणका प्रबन्द निर्देशक हितेन्द्रदेव शाक्यले प्रणालीमा समस्या आएका कारण बिहीबार साँझ केही समय विद्युत् आपूर्तिमा समस्या आए पनि अब चिन्ता नलिन आग्रह गरे। विद्युत् उत्पादनसँगै प्रसारण नेटवर्क पनि त्यही गतिमा अघि बढाउनुपर्नेमा त्यो हुन नसकेकाले बेलाबेला यस किसिमका समस्या आउने उनको भनाइ थियो।
प्राविधिक कारणबाहेक बिजुली आपूर्तिमा अवरोध नहुने भएकाले चिन्ता लिनुपर्ने आवश्यकता नरहेको उनको भनाइ थियो। भविष्यमा योभन्दा गतिलो सिस्टम बनाउने गरी काम गर्ने र त्यहीअनुसार योजना लिएर प्राधिकरणमा आएकाले लोडसेडिङ हुन्छ कि भनेर संका गर्न नहुने उनको भनाइ थियो।
Advertisement 2
यसअघि बिहीबार साँझ पटकपटक गरेर करिब २ घण्टा विद्युत् आपूर्तिमा समस्या देखिएको थियो। पटकपटक विद्युत् जान थालेपछि उपभोक्ताले ब्याट्री, इन्भर्टर लगायतका फोटो सामाजिक सञ्जालमा राखेर प्राधिकरणको आलोचना गरेका थिए।
यद्यपि प्राधिकरणले ब्याट्री, इन्भर्टर चार्ज गर्दा लोड बढेर समस्या हुन सक्ने भन्दै ढुक्क भएर बिजुली उपभोग गर्न आग्रह गरेको छ।