आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक संसद्बाट फिर्ता लिन अनुमति

काठमाडौं। संघीय संसद्अन्तर्गतको अर्थ समितिले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०८१’ संसद्बाट फिर्ता लिन अनुमति दिएको छ। समितिको आज बसेको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्बाट उक्त विधेयक फिर्ता लिन समितिको अनुमति मागेका थिए।
Advertisement 1
अनुमतिका मागका लागि गरिएको प्रस्ताव समितिबाट बहुमतले स्वीकृत भएको हो। यो विधेयक संसद्मा दर्ता भएर समितिमा छलफलका क्रममा थियो।
तर सरकारले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६’ लाई अध्यादेशमार्फत संशोधन गरेपछि संसद्बाट फिर्ता लिन संघीय संसद् सचिवालयलाई पत्र पठाएको थियो।
Advertisement 2
समितिमा छलफलका क्रममा रहेको विधेयकलाई सरकारले अध्यादेशमार्फत ल्याएको भन्दै प्रतिपक्ष दलहरूले यसमा विरोधसमेत जनाएका थिए। अर्थमन्त्री पौडेलले भने संवैधानिक र कानुनी व्यवस्थाभित्र बसेर यो अध्यादेश ल्याइएको बताउँदै अध्यादेशमाथि सदनमा छलफल हुने भएकाले विधेयकलाई फिर्ता गरिनुपर्ने बताए।