चितवन बाहिरियो, कर्णालीले फाइनलका लागि क्वालिफायर-२ खेल्ने
काठमाडौं। एनपीएलअन्तर्गत बुधबार बिहान भएको एलिमिनेटर खेलमा कर्णाली याक्सले चितवन राइनोजमाथि २१ रनको जित हात पारेको छ।
Advertisement 1
यस जितसँगै कर्णालीले प्रतियोगिताको फाइनल पुग्नका लागि क्वालिफायर–२ खेल्ने भएको छ।
चितवनलाई जितका लागि १७६ रनको लक्ष्य दिएको कर्णालीले चितवनलाई १५४ रनमै रोकपछि २१ रनले जितेको हो।
चितवनका लागि रबि बोपराले ३४ बलमा ५३ रन बनाए। त्यस्तै कुशल मल्लले २१, विपिन रावलले १८ तथा लक बेन्केन्स्टाइनले १६ रन बनाए।
Advertisement 2
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १७५ रन बनाएको हो। कर्णाली याक्स ब्याटिङमा सबै विदेशी खेलाडीको भर परेको थियो। कर्णालीको ब्याटिङमा स्वदेशी खेलाडीले खासै योगदान गर्न सकेनन्।
उसका लागि भारतबाट आएका जयकिशन कोल्सावालाले ३९ बलमा ५३ रन बनाए। त्यस्तै विलियम बोसिस्टोले ३९ बलमा ५२ रन, च्याडविक वाल्टनले २३ बलमा ४६ रन र जीशन मक्सुदले १२ बलमा १४ रन बनाए। स्वेदशी ब्याटर रित गौतम र गुल्शन झा शून्य रनमा आएट भए भने सोमपाल कामी शून्य रनमै नटआउट रहे। चितवनका लागि सोहेल तनवीरले २ विकेट लिए।
Advertisement 3
कर्णालीले यस जितसँगै फाइनल खेल्ने सम्भावना जिवितै राखेको छ। त्यसका लागि क्वालिफायर–१मा पराजित टिमसँग कर्णालीले बिहीबार खेल्नेछ। क्वालिफायर–१ मा बुधबार दिउँसो १ बजेदेखि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले खेल्दैछन्।