सुपर ओभरमा पोखरा एभेन्जर्सको जित
काठमाडौं। काठमाडौंमा जारी एनपीएलको २०औं खेल सुपर ओभरमा गएपछि पोखरा एभेन्जर्सले जितेको छ। सुपर ओभरमा जितका लागि १९ रनको लक्ष्य पाएको विराटनगरले ५ रन मात्रै बनाउन सकेपछि पोखरा एभेन्जर्सले सुपर ओभरमा १३ रनले जितेको हो।
Advertisement 1
यसअघि पोखरालाई अन्तिम ओभरमा १४ रन चाँहिदा १३ रन मात्रै बनाउन सकेपछि खेल सुपर ओभरमा गएको हो। बिहीबार बिहान भएको खेलमा टस जितेर ब्याटिङ गरेको विराटनगरले ७ विकेटको क्षतिमा १३९ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको पोखराले ६ विकेट गुमाएर १३९ रन नै बनाएको थियो।
अन्तिम ओभरमा १४ रन चाँहिदा पोखराका रायमन रेफरले १३ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो। अन्तिम ओभर बलिङ गर्नका लागि विराटनगरका बसिर अहमद आएका थिए। स्ट्राइकमा नारायण जोशी थिए।
Advertisement 2
अन्तिम ओभरको पहिलो बलमा रन बनाउन नसकेका जोशीले दोस्रो बलमा एक रन लिए। ननस्ट्राइकमा रहेका रेफर स्ट्राइकमा आउने वित्तिकै तेस्रो बलमा छक्का हाने। अन्तिम ३ बलमा ७ रन चाहिएको थियो। चौथो र पाँचौं बल डट खेलेका रेफरले अन्तिम बलमा फेरि छक्का हानेपछि खेल सुपर ओभरमा पुगेको हो।
सो क्रममा रेफर २३ बलमा ३४ रन बनाउँदै नटआउट रहे। पोखराका लागि आन्द्रियस गौसले ३९ रन तथा कप्तान कुशल भुर्तेलले ३१ रन बनाए।