अपर तामाकोशीमा करोडौँका सामान चोरी, के भन्छन् कर्मचारी?

दोलखा। राष्ट्रिय गौरव बोकेको ४५६ मेगावाट क्षमताको अपर तामाकोशी हाइड्रोपावरबाट करोडौँ मूल्य बराबरका विभिन्न सामानहरू चोरी भएका छन्।
Advertisement 1
गएको असोज ११ र १२ गतेको भीषण वर्षापछि आएको बाढी र पहिरोले क्षति पु¥याएको बाँधस्थलका कन्ट्रोल बिल्डिङ र सेटलिङ बेसिनलगायत संरचना मर्मतका क्रममा निकालिएका महत्वपूर्ण सामग्रीहरू चोरी भएको अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका कर्मचारीले बताएका छन्।
कर्मचारी युनियनले हिजो सोमबार ध्यानाकर्षण पत्र जारी गर्दै आयोजनाबाट महत्वपूर्ण सामग्रीहरू शंकास्पद र रहस्यमयी ढंगबाट चोरी भएको जनाउँदै आवश्यक छानविन गरी दोषीउपर कडा कारबाही गर्न अनुरोध समेत गरेको छ। ‘तीनै तहको सुरक्षा घेराभित्र रहेको अवस्थामा विगतमा पनि आयोजनाका करोडौं पर्ने क्रेनलगायत बहुमूल्य सम्पत्ति चोरी भएको सर्वविदितै छ।
Advertisement 2
यसरी, अपर तामाकोशी कम्पनीको सम्पत्ति पटकपटक चोरी निकासी हुनु रहस्यमय र शङ्कास्पद विषय भएकाले अपर तामाकोशीको सार्वजिनक सम्पत्ति दोहन र चोरी निकासी गर्नमा संलग्नमाथि आवश्यक छानविन गरी दोषीउपर कडाभन्दा कडा कानुनी कारबाहीका लागि यस यूनियन सम्बन्धित पक्षसँग जोडदार माग गर्दछ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ।
खासगरी बाढीबाट बाँधस्थलका क्षतिग्रस्त कन्ट्रोल विल्डिङ र सेटलिङ बेसिन लगायतका संरचनाहरु मर्मतका क्रममा निकालिएका जीर्ण भएका विद्युतीय उपकरण, तामा, फलाम, आल्मुनियम र अन्य धातुजन्य कवाडी सामग्रीहरू चोरी भएको युनियनका अध्यक्ष शेषनारायण श्रेष्ठले बताए।
Advertisement 3
चोरी भएका ती सामग्रीहरू करोडौं मूल्य पर्ने अपर तामाकोशी हाइड्रोपावर लिमिटेड कम्पनीको सम्पत्ति भएको उनको भनाइ छ। युनियनका अध्यक्ष शेषनारायण श्रेष्ठ र महासचिव राजकुमार श्रेष्ठद्वारा संयुक्त रूपमा हस्ताक्षर गरिएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘क्षतिग्रस्त कन्ट्रोल विल्डिङलगायत स्थानहरुको सरसफाई गर्ने क्रममा निकालिएको जीर्ण भएका विद्युतीय उपकरण, तामा, फलाम, आल्मुनियम र अन्य धातुजन्य कवाडी सामग्रीहरूलगायत करोडौं पर्ने अपर तामाकोशी हाइड्रोपावर लिमिटेड कम्पनीका सम्पत्ति चोरी निकासी भएको संचारमाध्यमबाट जानकारी प्राप्त हुँदा यस यूनियनको गम्भीर ध्यानाकर्षण भएको छ।’
तीन तहको सुरक्षा घेरा रहेको आयोजना परिसरबाट बहुमूल्य सामग्रीहरू चोरी हुनु शङ्कास्पद रहेको युनियनको ठहर छ। असोज ११ र १२ गतेको वर्षापछि आएको बाढीबाट क्षति भएको आयोजनाका विभिन्न संरचनाहरू हाल मर्मतसम्भार भइरहेको छ।
क्षतिग्रस्त स्थानको सरसफाई र कम क्षतिको सेटलिन बेसिनको मर्मत कार्य ‘डे वर्क्स’मा अपर तामाकोशी हाइड्रोपावर लिमिटेडद्वारा प्रवद्र्धित रोल्वालिङ खोला जलविद्युत् आयोजनाका मुख्य सिभिल ठेकेदार हाइ हिमाल हाइड्रो कम्पनीबाट भइरहेको छ।