विश्वकप क्रिकेट लिग–२ खेल्न लामिछानेले पाए अमेरिकी भिसा

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग–२अन्तर्गतको त्रिकोणात्मक श्रंखला खेल्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने अमेरिका जाने भएका छन्।
Advertisement 1
उक्त प्रतियोगितामा सहभागिता जनाउनका लागि त्यसतर्फ जान लागेका उनलाई अमेरिकाले भिसा दिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। क्यानका अनुसार लामिछाने शुक्रबार बेलुका नै अमेरिका प्रस्थान गर्नेछन्।
यसअघि अमेरिकामा नै भएको आईसीसी टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनका लागि अमेरिकाले लामिछानेलाई भिसा दिन अस्वीकार गरेको थियो।
Advertisement 2
आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक श्रृंखला यही कात्तिक ९ देखि १९ गतेसम्म अमेरिकामा आयोजना हुँदैछ। श्रृंखलामा अमेरिका, नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ।
नेपालले आफ्नो पहिलो खेल यही कात्तिक ११ गते अमेरिकासँग खेल्नेछ भने दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग, तेस्रो खेल कात्तिक १७ गते अमेरिकासँग र चौथो खेल कात्तिक १९ गते स्कटल्यान्डसँग खेल्ने तालिका छ।