हनुमानढोकास्थित दसैँ घरमा जमरा राखियो

काठमाडौं। दुर्गा पक्षको पहिलो दिन हनुमानढोका दरबारस्थित दसैँ घरमा विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको छ। नेपाल पञ्चांग निर्णायक विकास समितिले दिएको बिहान ९ः१६ बजेको साइतमा हनुमानढोका दरबार क्षेत्रको दसैँ घरमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दिप खनालले जानकारी दिए।

Advertisement 1

हनुमानढोका दरबारमा रहेको दसैँ घरमा राज्यका तर्फबाट घटस्थापना गरी विधिपूर्वक दुर्गा देवीको आह्वान गरी पूजा आराधना गर्ने परम्परा रहेको छ। हनुमानढोकाको दसैँ घरमा आजैदेखि बलिसहित पूजा सुरु गरिन्छ। हनुमानढोकाको कोतमा महाअष्टमी र महानवमीका अवसरमा भने ५४ बोका, ५४ राँगाको बलि दिएर विशेष पूजा गरिन्छ। यस वर्ष तिथिको घटबढका कारण असोज २४ गते फूलपाती भित्र्याएपछि अष्टमीमा गरिने पूजा आराधना र बलिको तयारी भएको जानकारी पनि कार्यालय प्रमुख खनालले दिए। वैदिक विधिपूर्वक घटस्थापना गरी दुर्गा देवीको आह्वान गरिएको दसैँ घरमा दुर्गा पक्षको पहिलो दिन आज नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको पूजा आराधना गरिन्छ।

दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चाँैथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ। नव दुर्गासहित दसैँ घरमा वा पूजा कोठामा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा, आराधना गरिन्छ।

Advertisement 2

यसैगरी राजधानीलगायत देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा पनि भक्तजनको पूजा, आराधना एवं दर्शनका लागि भीड लाग्ने गर्छ। शक्तिपीठ एवं देवी मन्दिरमा बलिसहित पूजा, आराधना गर्न पनि भक्तजन पुग्ने गर्छन्। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरिन्छ। घटस्थापनादेखि महानवमीका दिनसम्म विधिपूर्वक दुर्गा देवीको पूजा, आराधना गरिन्छ।

नौ दिनसम्म पूजा, आराधना गरिएकी देवीलाई विजयादशमीका दिन बिहान देवी विसर्जन गरी मान्यजनका हातबाट प्रसादस्वरुप टीका र समृद्धिको प्रतीकको रुपमा जमरा लगाउने गरिन्छ। मान्यजनबाट टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ।

प्रकाशित :२०८१ आश्विन १७, बिहीबार १३:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry