आयल निगमका करिब दुई दर्जन कर्मचारीको जिम्मेवारी हेरफेर, को कता?

काठमाडौं। नेपाल आयल निगमले करिब दुई दर्जन कर्मचारीको जिम्मेवारी परिवर्तन गरेको छ। ननगमले पाँचौं तहदेखि ११औं तहसम्मका २१ जना कर्मचारीको जिम्मेवारी हेरफेर गरेको हो।
Advertisement 1
जसअनुसार निगमकै केन्द्रिय कार्यालय इन्जिनियरिङ, परियोजना तथा सूचना प्रविधि विभागमा कार्यरत दशौं तहका सुरज शाहलाई केन्द्रिय कार्यालयकै आन्तरिक नियन्त्रण तथा अनुगमन विभागमा सरुवा गरिएको छ।
त्यस्तै दशौं तहका बिनितमणी उपाध्यायलाई मधेश प्रादेशिक कार्यालय अमलेखगञ्जबाट केन्द्रिय कार्यालयको इन्जिनियरिङ, परियोजना तथा सूचना प्रविधि विभागमा सरुवा गरिएको छ।
Advertisement 2
उपाध्यायको स्थानमा नवौं तहका प्रलयंकर आचार्यलाई पठाइएको छ। आचार्य अहिले निगमकै योजना, प्रशासन तथा मानव संशाधन विभागमा छन्।
त्यस्तै नवौं तहका अभिषेककुमार ठाकुरलाई गण्डकी प्रादेशिक कार्यालय पोखराबाट केन्द्रिय कार्यालयको इन्जिनियरिङ, परियोजना तथा सूचना प्रविधि विभागमा ल्याइएको छ। उनको स्थानमा केन्द्रिय कार्यालयअन्तर्गत कार्यकारी निर्देशकको कार्यालयका श्रीरामकुमार न्यौपानेलाई पठाइएको छ।
Advertisement 3
यसबाहेक निगमले केन्द्रिय कार्यालयबाट सातौं तहका गिता सापकोटालाई झापा र अन्य कर्मचारीलाई काठमाडौं उपत्यकाभित्रैका कार्यालयहरुमा सरुवा गरेको छ।
निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले सरुवा नियमित भएको बताए। उनले कर्मचारी माथि उक्लिँदै गर्दा काम पनि सिक्न अनिवार्य भएकाले त्यही अनुसार जिम्मेवारी दिइएको बताए।
‘सरुवा नियमित नै हो। सबै कर्मचारीलाई सिकाउँदै लैजानुपर्ने पनि हुन्छ। एउटा तहमा तलबाट आएको कर्मचारीले काम गर्नुपर्ने हुन्छ। त्यो तहको कर्मचारीले माथिल्लो तहमा काम गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘माथिल्लो तहको माथि उक्लिंदै गर्दा तल्लो तहकोलाई सिकाउँदै लैजाने भन्ने हुन्छ। त्यहीअनुसार अहिले जिम्मेवारी तोकिएको छ।’ यसलाई अन्यथा लिन नहुने उनको भनाइ थियो।