आन्तरिक राजस्व कार्यालय जुम्लाले संकलन गर्यो ४५ करोड
जुम्ला। आन्तरिक राजस्व कार्यालय जुम्लाले आर्थिक वर्ष २०८०/८१ मा ४५ करोड ९९ लाख ८९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले वार्षिक लक्ष्यभन्दा २२ प्रतिशत कम राजस्व संकलन गरेको हो।
Advertisement 1
आन्तरिक राजस्व कार्यालयका प्रमुख सुबप्रसाद रिजालका अनुसार कार्यालयले कूल ७७ दशमलव ९५ प्रतिशत राजस्व संकलन गरेको छ। कार्यालयको वार्षिक राजस्व उठाउने लक्ष्य कूल ५९ करोड एक लाख रहेको थियो। कूल वार्षिक लक्ष्यको ७७ दशमलव पाँच प्रतिशत राजस्व उठेको प्रमुख रिजालले जानकारी दिए। यस्तै, रु ३८ करोड ९० लाख ९९ हजार आयकरको राजस्व संकलन गर्ने वार्षिक लक्ष्य रहेकामा ३१ करोड ५४ लाख २३ हजार रुपैयाँ संकलन भएको छ। सो अवधिमा कूल ८१ दशमलव छ प्रतिशत प्रगति भएको छ।
कार्यालय प्रमुख रिजालले भने, ‘१९ करोड ९ लाख ३० हजार रुपैयाँ बहालकर राजस्व संकलन गर्ने लक्ष्य रहेकामा असार मसान्तसम्म ११ करोड तीन लाख ७३ हजार रुपैयाँ संकलन भएको छ, कूल ५७ दशमलव सात प्रतिशत प्रगति भएको छ, त्यस्तै ब्याजदरबापत वार्षिक रु पाँच करोड छ लाख ३९ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकामा पाँच करोड तीन लाख १६ हजार संकलन भएको छ, कूल प्रगति ९४ दशमलव २९ प्रतिशत रहेको छ।’
Advertisement 2
मूल्य अभिवृद्धि करबापत १६ करोड ५४ लाख ६७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा असार मसान्तसम्म ११ करोड ९३ लाख ४९ हजार रुपैयाँ संकलन भएको छ। कूल ७२ दशमलव १३ प्रतिशत प्रगति भएको प्रमुख रिजालको भनाइ छ।
अन्तःशुल्क ९ करोड ९ लाख ६६ हजार लक्ष्य रहेकामा ८ करोड पाँच लाख ३७ हजार रुपैयाँ संकलन भएको छ।
यसको कूल प्रगति ८५ दशमलव ६६ प्रतिशत रहेको आन्तरिक राजस्व कार्यालयले जनाएको छ। जम्मा करदाता संखया अन्तःशुल्क इजाजत लिएका पाँच सय ८१, भ्याटतर्फ एक हजार पाँच सय २२ र आयकरतर्फ १५ हजार दुई सय १४ रहेको कार्यालयका सूचना अधिकारी धनसिंह थापाले बताए