विधिको शासन लागू गर्ने पहिलो काम प्रहरीको : गृहमन्त्री लेखक

काठमाडौं। गृहमन्त्री रमेश लेखकले विधिको शासन लागू गर्ने पहिलो काम प्रहरीको रहेको बताएका छन्। प्रहरी प्रधान कार्यालयको स्थलगत अनुगमनपछि सम्बोधन गर्दै उनले संविधान र कानुनमा लेखेको कुरा आफैं कार्यान्वयन नहुने बताए। ‘संविधानमा धेरै मौलिक हकका कुरा गरेका छौँ, राज्य र नागरिकका सम्बन्धका कुरा गरेका छौँ,’ उनले भने, ‘ती आफैं परिचालित र क्रियाशील हुने होइनन्।’
Advertisement 1
उनले लोकतन्त्रको आधारभूत मान्यता भनेको विधिको शासन भएको पनि बताए। ‘लोकतन्त्र कुनै अमूर्त विषय होइन,’ उनले भने, ‘नेताहरुले भाषण गर्ने र नागरिकले भाषण सुन्ने विषय मात्रै पनि होइन, लोकतन्त्रको आधारभूत मान्यता हुन्छन्, विधिको शासन पनि एउटा मान्यता हो।’ निष्पक्षता, पारदर्शीता र व्यवसायिकतामा कमी हुन नदिन उनले प्रहरीलाई निर्देशन दिए। ‘उच्च मनोबलका साथ काम गर्नुहोला, प्रहरीको मनोबल उच्च राख्नको लागि र मनोबल उच्च रहिरनका लागि प्रेरणादायी काम गर्न मन्त्रालयले गर्नेछ,’ गृहमन्त्री लेखकले भने, ‘हामी त्यसमा प्रतिबद्ध छौं।’ गृह प्रशासन आफ्ना लागि नयाँ अनुभव भए पनि संसद्मा कानुन र संविधान निर्माणको क्षेत्रमा काम गर्ने अवसर लामो समयदेखि पाएको उनले बताए। ‘नेपाल प्रहरी इतिहास बोकेको गर्व गर्नलायक संस्था हो,’ उनले भने, ‘कानुनी व्यवस्था कायम गर्ने, अपराध नियन्त्रण गर्ने सवालका साथै मुलुक र समाजलाई न्यान दिने सवालमा प्रहरीको अहम् भूमिका रहेको छ।’
सीमित स्रोतसाधन र जनशक्तिकाबीच प्रहरीले काम गरिरहेको जनाउँदै गृहमन्त्री लेखकले भने, ‘प्रहरी संगठन थप सुदृढ र क्रियाशील बनाउन प्रहरी ऐन संशोधन आवश्यक छ।’ प्रहरीसम्बन्धी सबै कानुन समयसामयिक रुपमा पुनवराकोलन र संशोधन गर्न प्रहरी ऐन २०१२ लाई संसद्मा पुर्याउने गतिमा अघि बढ्नेमा जोड दिए।