चितवन पहिरोः बेपत्ता बस भेटिएन, गोताखोर परिचालन

चितवन। पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका २ वटा बस अझसम्म फेला परेका छैनन्। नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा शुक्रबार बिहान २ वटा बस नदीमा खसेका थिए। बसमा ६५ जना सवार रहेका थिए।
Advertisement 1
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पानी परिरहेकाले उद्धारमा केही कठिनाइ भइरहेको बताए। त्रिशूलीमा जलसतह उच्च भएकाले खोजीमा समस्या भएको जनाइएको छ। अहिले नेपाली सेना र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले डुंगामा खोजी थालेका छन्। हालसम्म बस फेला पर्न नसकेको प्रजिअ यादवले जानकारी दिए।
बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका थिए। प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना सवार रहेका थिए।