‘सधैं अन’मा एनसेलको सुलभ अन्तर्राष्ट्रिय डाटा रोमिङ प्याक

काठमाडौं। निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले ‘सधैं अन’ योजनामा अन्तर्राष्ट्रिय डाटा रोमिङ प्याक सार्वजनिक गरेको छ। एनसेलका ग्राहकले अब उत्कृष्ट रोमिङ अफरको फाइदा लिँदै विभिन्न देशको यात्रा गर्दा अझ सुलभ दरमा अनलिमिटेड दैनिक डेटा सेवा प्रयोग गर्न सक्ने कम्पनीले जानकारी दिएको छ। मोबाइल डाटामार्फत सधैं अन अर्थात अनलाइन राख्ने आफ्नो प्रतिबद्धता बमोजिम एनसेलले आफ्नो रोमिङ डाटा शुल्क उल्लेख्य रुपमा घटाउँदै शुल्क परिमार्जन गरेको पनि कम्पानीले जानकारी दिएको छ। एनसेलले दैनिक डाटा रोमिङ शुल्क घटाइएको देशमा अमेरिका, संयुक्त अरब इमिरेट्स (युएई), कतार, चीन, बेलायत र थाइल्याण्ड रहेका छन्। परिमार्जित शुल्क जेठ ८ गतेदेखि लागू भएको कम्पनीको भनाइ छ।
‘यो डाटा रोमिङ प्याकको ठूलो फाइदा भ्रमणका बेलामा पनि आफ्ना एसएमएस अलर्टहरु पाइन्छ र सम्पर्कमा रहन जुन देशको भ्रमणमा गएको हो सोही देशको सिम लिई राख्नु आवश्यकता पर्दैन,’ एनसेलले विज्ञप्तिमा भनेको छ।
डाटा रोमिङ प्याकको शुल्क परिमार्जनसँगै ग्राहकले करसहित दैनिक ७९.८८ रुपैयाँमा अमेरिका, युएई र कतारमा रहँदा दैनिक डाटा प्याक प्रयोगबाट फाइदा लिन सक्ने कम्पनीको भनाइ छ।
त्यस्तैगरी चीन, बेलायत र थाइल्याण्ड भ्रमणमा जाने एनसेलका ग्राहकहरुले करसहित १९ रुपैयाँ १८ पैसामा प्रति दिन डाटा सेवाको फाइदा लिन सक्ने छन्। परिमार्जनअघि यी गन्तव्यहरुमा दैनिक डाटा रोमिङको शुल्क ६३३ रुपैयाँ ९३ पैसा थियो र अब यो शुल्क ७० प्रतिशतले घटेको छ।