इन्टरनेट ‘सटडाउन’ हुने देशहरूको सूचीमा नेपाल

काठमाडौं । नेपाल पहिलो पटक इन्टरनेट ‘सटडाउन’ हुने देशहरूको सूचीमा परेको छ। ‘स्रिंकिङ डेमोक्रेसी, ग्रोइङ भायलेन्स’ प्रतिवेदनले पहिलो पटक नेपाललाई इन्टरनेट ‘सटडाउन’ हुने देशको सूचीमा राखेको हो।

Advertisement 1

भारतमा सर्वाधिक ११६ पटक इन्टरनेट ‘सटडाउन’ भएको प्रतिवेदनमा उल्लेख छ। विश्वमा सबैभन्दा धेरै इन्टरनेट सटडाउन हुने देशमध्ये भारत भने यसपालि लगातार छैटौं पटक पहिलो स्थानमा देखिएको छ ।

भिडियो सेयरिङ प्लाटफर्म, टिकटकमाथिको प्रतिबन्धका कारण इन्टरनेट ‘सटडाउन’ हुने देशहरूको सूचीमा पहिलो पटक नेपाल पनि परेको प्रतिवेदनमा उल्लेख छ।

Advertisement 2

नेपाल, मोजाम्बिक, केन्या र सुरिनाममा भने पहिलो पटक इन्टरनेट प्रतिबन्ध खेप्नेमा परेका छन् । डिजिटल अधिकारको वकालत गर्ने ‘एक्सेस नाउ’ र इन्टरनेट प्रतिबन्धविरुद्ध अभियान चलाउँदै आएको ‘किप इट अन’ संस्थाले वार्षिक रूपमा सार्वजनिक गर्दै आएको रिपोर्टमा नेपाललाई ‘न्यु अफेन्डर’ सूचीमा राखिएको छ। ‘पास्ट अफेन्डर’ मध्ये इरान, चीन, इथियोपिया जस्ता देशमा पटक–पटक इन्टरनेट सटडाउन गरिँदै आएको उल्लेख छ।

‘स्रिंकिङ डेमोक्रेसी, ग्रोइङ भायोलेन्स’ प्रतिवेदनका अनुसार सन् २०२३ मा कुल ३९ देशहरूमा २८३ वटा इन्टरनेट सटडाउनका घटना भएका थिए ।

Advertisement 3

‘सेनेगलदेखि इथियोपिया, नेपालदेखि भारत र रुस सरकारहरू निरन्तर रूपमा इन्टरनेट र संवेदनशील डिजिटल सञ्चार प्लाटफार्महरू बन्द गरेर अभिव्यक्ति कुण्ठित गर्ने, महत्त्वपूर्ण सूचनामा पहुँच रोक्ने र मानवताविरुद्ध जघन्य अपराध ढाकछोप गर्ने गरेका छन्,’ प्रतिवेदनको पृष्ठ ९ मा भनिएको छ।

सामाजिक सद्भावमा खलल पुगेको भन्दै गत कात्तिक २७ मा नेपाल सरकारले टिकटक बन्द गर्ने घोषणा गरेको थियो। त्यसविरुद्ध सर्वोच्च अदालतमा छुट्टाछुट्टै १४ वटा रिट निवेदन दर्ता भए पनि अझै सुनुवाइ हुन सकेको छैन।

सर्वोच्चले १४ वटै रिटलाई लगाव मुद्दाका रूपमा एकै स्थानमा समेटेर १० असोज २०८१ का लागि हालै नयाँ पेसी तोकेको छ। वैशाख २७ का लागि पेसी तोकिएकामा त्यस दिन बहस नभएपछि नयाँ पेसी तारेख तोकिएको थियो।

डिजिटल अधिकारका पक्षमा वकालत गर्दै आएका स्थानीय ३० वटा संस्थाले पनि टिकटकमाथि पूर्ण रूपमा प्रतिबन्ध लगाएर सञ्चार र अभिव्यक्तिको यो महत्त्वपूर्ण प्लाटफर्मलाई रोक्नुले विश्वव्यापी डिजिटल समुदायमा सहभागी हुने अवसरलाई सीमित गर्ने सरकारको नियत देखिएको भन्दै यसलाई सच्याउन आग्रह गर्दै आएका छन्।

सन् २०२३ मा पहिलो पटक इन्टरनेट सटडाउन गर्ने देशमध्ये नेपालमा टिकटक, केन्यामा टेलिग्राम, सुरिनाममा मेटाका फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम बन्द गरिएका छन्।

प्रकाशित :२०८१ जेष्ठ ६, आईतवार १२:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry