एनसेलले ल्यायो सँधै अन योजना

काठमाडौं । एनसेलले प्रिपेड प्रयोगकर्ताका लागि ‘सँधै अन’ योजनाअन्तर्गत बेसिक, बेस्ट र अनलिमिटेड गरी ३ वटा समूहमा ८ वटा विभिन्न प्लानहरू सञ्चालनमा ल्याएको छ ।

Advertisement 1

ब्यालेन्स सकिने डरले मोबाइल डेटा अफ गर्नु नपर्ने गरी ‘सँधै अन’ अन्तर्गत सात दिनका लागि ९८ रुपैयाँदेखि २८ दिनका लागि १४९९ रुपैयाँसम्मका विभिन्न प्लान कम्पनीले बुधबार सार्वजनिक गरेको छ ।

आठवटै प्लानमा डेटा, अल नेपाल कल टक टाइम, अल नेपाल एसएमएस र सामाजिक सञ्जाल प्रयोगका लागि नि:शुल्क डेटा बन्डल गरिएका छन् । बेसिक प्लानअन्तर्गत ९९ रुपैयाँको प्याकेज लिँदा ग्राहकले २ जीबी डेटा, १ जीबी निःशुल्क सोसल मिडिया डेटा, ४९ मिनेट अल नेपाल कल टक टाइम र ४९ वटा अल नेपाल एसएमएस प्राप्त गर्नेछन् र यो ७ दिनको लागि मान्य रहनेछ ।

Advertisement 2

त्यस्तै, ४९९ रुपैयाँको ‘बेस्ट प्लान’ लिने ग्राहकले १२ जीबी डेटा, ५ जीबी सोसल मिडिया डेटा, ४४९ मिनेट अल नेपाल कल टक टाइम र ४४९ वटा अल नेपाल एसएमएस प्राप्त गर्नेछन् र यो २८ दिनको लागि मान्य रहनेछ ।

Advertisement 3

एनसेलका अनुसार सँधै अन योजनामा मूल ब्यालेन्स नकाटिने र कुनै प्याकेजमा ब्यालेन्स, डेटा, कल र एसएमएस प्रयोग भइनसकेमा अर्को पटक प्याकेज लिँदा पुन:प्राप्त हुने ‘क्यारी फर्वाड’ सुविधा समावेश छ ।

समय अगावै प्याकेजभित्रको सुविधा प्रयोग भइसकेमा ग्राहकले ‘बुस्टर डेटा प्याक’ लिन सकिने बताइएको छ । यसअघि छुट्टाछुट्टै रूपमा डेटा, भ्वाइस र एसएमएस प्याक लिनुपर्नेमा अब एकमुष्ट प्लान प्याजेकमार्फत सहज सुविधा प्रदान गर्न खोजेको एनसेलले जनाएकोछ ।

बुधबार पत्रकार सम्मेलनमा बोल्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले मोबाइल डेटा प्रयोगलाई किफायती र समावेशी बनाउन यस्तो योजना ल्याएको बताए ।

‘अधिकांस नेपालीहरूले छिनछिनमा मोबाइल डेटा अफ गरेको मैले देखेँ र दक्षिण एसियामा प्रतिव्यक्ती सबैभन्दा कम डेटा खपत गर्नेमा पनि नेपाल नै रहेको तथ्यांक रहेछ,’ कायुमोभले भने, ‘यो विषयको सम्बोधन हुनुपर्छ भनेर हामीले सँधै अन योजना ल्याएका हौं ।’ उनले फाइभजी भिजनको बाटो तय गर्न खोजिएको पनि धारणा राखे ।

एनसेलले यसअघिका ६३ वटा डेटा प्याकहरूलाई २० वटामा झारेको जानकारी दिएको छ । धेरै प्याक हुँदा ग्राहकलाई झनै कन्फुजन (दुविधा) भएको महसुस गरी प्याक संख्या घटाएको कम्पनीका चिफ कमर्सियल अफिसर उमेर मोहसिनको भनाइ थियो । यो योजनाको खास उद्देश्य चाहिँ नेपाली ग्राहकहरूलाई फाइभ जीका लागि तयार पार्नु रहेको उनले बताए ।

‘नेपाली मोबाइल फोन प्रयोगकर्ताहरूको आवश्यकता र माग बढ्दै गए पनि दैनिक डेटाको उपयोग एकदमै न्यून छ,’ उनले भने, ‘ दसमध्ये दुईजना नेपालीले मात्रै नियमित रूपमा मोबाइल डाटा प्रयोग गर्छन् । औसत प्रतिग्राहक प्रतिमहिना डाटा खपत पनि ४ जीबी मात्र छ ।’ यसैलाई मध्यनजर गर्दै डेटा खपत बढाउन सँधै अन प्याजेक ल्याइएको उनको भनाइ थियो ।

प्रकाशित :२०८१ जेष्ठ ३, बिहीबार ०९:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry