काठमाण्डौमा सार्वजनिक गाडीमा मास्क अनिवार्य, सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने

कोभिड–१९ कोरोना भाइरस सङ्क्रमण जोखिमको रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रमा कडाइ गरिने भएको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरबीच भएको छलफलमा कोभिड सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रमा कडाइ गर्ने निर्णय भएको हो ।
Advertisement 1
प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सार्वजनिक यातायात क्षेत्रमा स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने निर्णय भएको बताए । सार्वजनिक यातायात क्षेत्रमा शुक्रवारदेखि लागू हुने गरी अनिवार्य मास्क लगाउने, सिट क्षमताअनुसार यात्रु राख्ने, भौतिक दुरीलाई व्यवस्थित गर्ने र बसपार्कमा साबुनपानीको व्यवस्था गरी हात धुने व्यवस्था गर्ने, माइकिङ गर्ने, चनचेतना फैलाउने र अनुगमनलाई प्रभावकारी बनाउने निर्णय भएको पनि प्रजिअ पराजुलीले बताए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वारले भारतमा कोरोनाको संक्रमणदर बढ्दै गएको र नेपालमा पनि बढ्दै जाने देखिएकाले पूर्वसावधानी अपनाउनेसम्बन्धमा छलफल भएको बताए। सार्वजनिक यातायात क्षेत्रलाई कसरी जोखिमबाट बचाउन सकिन्छ भन्ने विषयमा छलफल भएको बताए।
कोभिड संक्रमणको दोस्रो लहर आउनसक्ने सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निकायसँग छलफल गरिरहेको छ। शुक्रबारको बैठकमा सार्वजनिक यातायातमा मास्क नलगाई यात्रा गर्ने यात्रुलाई कारबाही गर्ने निर्णय भएको पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ।