नवनियुक्त १२० शाखा अधिकृतको दीक्षान्त समारोह सम्पन्न

काठमाडौं। नेपाल सरकारका नवनियुक्त राजपत्राङ्कित तृतीय श्रेणीका शाखा अधिकृत वा सो सरहका १२० अधिकृतको दीक्षान्त समारोह सम्पन्न भएको छ। नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) जावलाखेल, ललितपुरले सञ्चालन गरेको ४०औँ आधारभूत प्रशासन प्रशिक्षण चैत ३० गते सम्पन्न भएसँगै उनीहरूलाई दीक्षान्त गरिएको हो ।

Advertisement 1

राजस्व, लेखा, लेखा परीक्षण र संसद सेवातर्फका १२० अधिकृतको दीक्षान्त सम्पन्न भएको छ भने प्रशासनतर्फका ८३ अधिकृत इण्टरनसिपमा रहेकाले उनीहरूको दीक्षान्त बाँकी रहेको छ।

कार्यक्रममा स्टाफ कलेजका कार्यकारी निर्देशक रामशरण पुडासैनीले नयाँ मानक स्थापना गर्दै देशका लागि सम्झनलायक काम गर्न आग्रह गरेका छन्।

Advertisement 2

“प्रतिबद्धतालाई व्यवहारमा लागू गर्नुहोला, राष्ट्रसेवकको हैसियतले धेरै कुराको सुधार र मानक स्थापित गर्ने सन्दर्भमा स्टाफ कलेजले आफ्नो नियमिततालाई परिस्कृत गर्दै अगाडि बढिरहेको छ । यहाँको सिकाइलाई व्यवहारमा उतार्दै नयाँ उचाइ हासिल गर्न नीतिगत पुनःसंरचनाका विषयमा हामीसँगसँगै छौँ”, उनले भने ।

स्टाफ कलेजले हरेक वर्ष ४ हजार कर्मचारीलाई प्रशिक्षण दिने गरेको जानकारी गराउँदै कार्यकारी निर्देशक पुडासैनीले सेवा प्रवाहलाई थप प्रभावकारी र मितव्ययी बनाउन ध्यान दिइएको बताए ।

Advertisement 3

सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका प्रमुख महेश बरालले समयको परिपालना गर्दै सार्वजनिक सेवाको मूल्यलाई उच्च राख्न आग्रह गरे। उनले आफूले गरेको कामप्रति सधैँ जवाफदेही हुने गरी लाग्नुका साथै ज्ञान, सीप र क्षमतालाई सही ढंगले उपयोग गर्नु सुझाव दिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, मानव संशाधन तथा योजना महाशाखाका उपसचिव लेखनाथ न्यौपानेले निजामती सेवाको छविलाई उच्च राख्दै राष्ट्रको सेवासँगै आफ्नो क्षमता विकासमा ध्यान दिन आग्रह गरे ।

स्टाफ कलेजका सार्वजनिक सेवा तालिम विभाग प्रमुख त्रिलोचन पोखरेलले निजामती सेवाको मूल्य–मान्यताअनुरुप सेवा प्रवाह गर्ने क्षमतालाई गुणस्तरीय, प्रश्नविहीन र उच्च मूल्यांकन योग्य बनाउन आग्रह गरे ।

 

प्रकाशित :२०८३ बैशाख १, मंगलवार १३:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry