नेपाल अर्थोपेडिक अस्पतालको रजत महोत्सव

गैरनाफामूलक च्यारिटीका रूपमा स्थापना भई नेपालमा हाडजोर्नीका बिरामीको सेवा गर्दै आएको जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालले शनिबार आफ्नो स्थापनाको रजत महोत्सव आयोजना गरेको छ ।

Advertisement 1

विशेषगरी अनाथ, असहाय तथा अपाङ्गता भएका व्यक्तिको सेवामा समर्पित रहने गरी खगेन्द्र नवजीवन केन्द्रअन्तर्गत रोटरी इन्टरनेशनलको सहकार्यमा सन् १९९८ मा स्थापना भएको सो अस्पताल २५ वर्ष पुगेको हो ।

अस्पताल परिसरमा आयोजित रजत महोत्सव समारोहमा प्रतिनिधिसभा सदस्य एवं संसद्को अर्थ समितिका सभापति सन्तोष चालिसेले तीनै तहको सरकारको सहकार्यमा यस अस्पताललाई मुलुककै उत्कृष्ट अस्पतालका रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरे ।

Advertisement 2

उनले यस किसिमको अस्पतालको आवश्यकता मुलुकका सातै प्रदेशमा रहेको उल्लेख गर्दै यसको नीतिगत निर्णयका लागि केन्द्रबाट पहल गर्ने बताए ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले अस्पातलसँग सहकार्य गरी नागरिकलाई सुलभ र सहजरूपमा सेवा उपलब्ध गराउने बताउँदै कुशल व्यवस्थापन र उत्कृष्ट उपचार सेवा दिँदै आएको यस अस्पताललाई एक अनुकरणीय स्वास्थ्य केन्द्रका रूपमा यसको क्षमता बढाउन नगरपालिकाले पूर्ण सहयोग गर्ने जानकारी दिए ।

Advertisement 3

कार्यक्रममा अस्पतालका मेडिकल निर्देशक डा कैलाशकुमार भण्डारीले अस्पतालले उपलब्ध गराएका सेवाहरूका बारेमा जानकारी गराउँदै नागरिकलाई अझ सहज र सुलभ सेवा उपलब्ध गराउन अस्पताल लागिरहेको जानकारी गराए ।

निर्देशक भण्डारीका अनुसार अस्पतालले गरिब, निम्न आय भएका तथा असहाय बिरामीलाई निःशुल्क तथा सहुलियत शुल्कमा उपचार ट्रमा र अर्थोसम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्दै आएको र एक सय शय्या रहेको यस अस्पतालमा हाल १९ जना विशेषज्ञ चिकित्सक रहेका छन् ।

निर्देशक भण्डारीकले सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पतालले प्रत्येक वर्ष कम्तीमा चारपटकसम्म मुलुकका दुर्गम भेगमा पुगेर त्यहाँ औषधि उपचारको अभावमा रहेका नागरिकलाई हाडजोर्नी र नशाको शल्यक्रिया पूर्ण निःशुल्करूपमा उपलब्ध गराउने गरी स्वास्थ्य शिविरसमेत सञ्चालन गर्दै आएको बताए ।

कार्यक्रममा अस्पतालका संस्थापक अध्यक्ष शङ्करराज पाठकले उक्त अस्पताल स्थापना गर्दाका अनुभव सुनाउँदै निकै कठिन अवस्थाबाट अस्पतालको स्थापना भई सेवा दिँदै आएकाले यो गरिमामय संस्थाको इतिहासको सम्मान गर्न आग्रह गरेका थिए ।

रजत महोत्सवका अवसरमा अस्पतालको जगको शिला बसाल्नेदेखि अस्पताललाई यहाँसम्म पुर्याउनका लागि मन, बचन र कर्मले सहयोग गर्ने संस्थापाक, स्वदेशी तथा विदेशी दाता, चिकित्सक स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सम्मान गरेको थियो ।

प्रकाशित :२०८० कार्तिक १९, आईतवार ०९:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry