मन्त्रालयका सचिव फेरिएसँगै डेडिकेटेड र ट्रंक लाइन महसुल विवाद आयोगका सदस्य पनि फेरिए

काठमाडौं । विभिन्न मन्त्रालयका सचिव सरुवा भएसँगै डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादका सम्बन्धमा छानबिन गर्न गठित उच्चस्तरीय आयोगका सदस्य पनि फेरिएका छन् । यसअघि आयोगका सदस्य रहेका जलस्रोत तथा सिँचाइ सचिव सुशीलचन्द्र तिवारी ऊर्जा सचिवमा सरुवा भएपछि उनको स्थानमा जलस्रोत तथा सिँचाइ सचिव सरिता दुवाडीलाई सदस्य बनाइएको छ भने वाणिज्य सचिव नारायणप्रसाद शर्माको स्थानमा दिनेशकुमार घिमिरेलाई आयोगको सदस्य बनाइएको छ ।

Advertisement 1

आयोगका अध्यक्ष एवम् पूर्वन्यायाधीश गिरिशचन्द्र लालले सोमबार नवनियुक्त दुई सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा जलस्रोत तथा सिँचाइ सचिव दुवाडी र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव घिमिरेलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

गत पुस २४ गते बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश लालको नेतृत्वमा तीन सदस्यीय छानबिन आयोग गठन गरेको थियो ।आयोगका सदस्य भने पटक पटक परिवर्तन भएका छन् । मन्त्रिपरिषद्को गत चैत ३० को बैठकले आयोगको म्याद एक महिना थप गरेको छ ।

Advertisement 2

आयोगले आफ्नो कामलाई अन्तिम चरणमा पुर्‍याएकाले थपिएको समयभित्रै प्रतिवेदन बुझाउने तयारी गरेको आयोगका अध्यक्ष लालले मन्त्री बस्नेतलाई जानकारी गराएका थिए । मन्त्री बस्नेतले आयोगलाई कार्यादेशअनुसार काम गर्न आग्रह गर्दै मन्त्रालयका तर्फबाट थप सहयोग चाहिए निश्चिन्त भन्न आग्रह गरे । लामो समयदेखि विवादित रहँदै आएको डेडिकेटेड र ट्रंक लाइन महसुलसम्बन्धी विवाद समाधानका लागि सरकारले आयोग गठन गरेको हो ।

प्रकाशित :२०८१ बैशाख ३, सोमबार २२:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry