भीआइपीको स्पष्ट मापदण्ड बनाउन निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थालाई थप सुदृढ र प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
Advertisement 1
विमानस्थलको सुरक्षा बलियो बनाउन राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास बैरागीको नेतृत्वमा गठन भएको समितिको प्रतिवेदन कार्यान्वयनबारे सरोकारवाला निकायसँगको छलफलमा मन्त्री लामिछानेले तत्काल प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिए। उनले गृह मन्त्रालयका अधिकारीहरूलाई त्रिभुवन विमानस्थलको विशिष्ट कक्ष (भिआइपी कक्ष) प्रयोग नगर्न पनि आग्रह गरे।
मन्त्री लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रायः सबै निकायका प्रतिनिधिले भिआइपीको स्पष्ट मापदण्ड बनाउन र उनीहरूको आगमन र प्रस्थान व्यवस्थित गर्न निर्देशन दिए। भिआइपीले आफ्नो मर्यादा ख्याल नगर्दा सुरक्षा चुनौतीसमेत बढेको चर्चा गर्दै उनले सुरक्षा वा अन्य व्यवस्थापनको बहानामा यात्रुलाई हैरानी र सास्ती दिने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए।
Advertisement 2
छलफलमा गृह, अर्थ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रमुखलगायत नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, नेपाल वायुसेवा निगमका महाप्रबन्धक, अध्यागमन विभागका महानिर्देशक, अध्यागमन कार्यालय त्रिभुवन विमानस्थल, भन्सार कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखको उपस्थित रहेको थियो।
नेपाल सरकारका पूर्वमुख्य सचिवसमेत रहेका बैरागीको नेतृत्वमा तयार पारिएको प्रतिवेदनमा नेपाल प्रहरीको छुट्टै हवाई सुरक्षा सेवा गठन गर्न सुझाव दिइएको छ। सो प्रतिवेदनमा विमानस्थलबाट निजी क्षेत्रका सुरक्षा गार्ड हटाउन, दुई वर्षभन्दा बढी कार्यरत कर्मचारीलाई सरुवा गर्न, आधुनिक उपकरण र डिटेक्टरको व्यवस्था गर्न, कूटनीतिक कार्गो जाँच गर्ने प्रणालीलाई थप प्रभावकारी बनाउन सुझाव दिइएको छ।