परम्परागत नभएर उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत ढाँचाको नभएर उत्पादन र रोजगारीलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्न निर्देशन दिएका छन् । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित आर्थिक वर्ष २०८१–०८२ को बजेटको स्रोत अनुमान सम्बन्धी बैठकलाई सम्बोधन गर्दै उनले जनतामा आशा जगाउने गरी उत्पादन र रोजगारकेन्द्रित बजेटको तयारी गर्न निर्देशन दिएका हुन् ।
Advertisement 1
बैठकमा प्रधानमन्त्री प्रचण्डले निर्देशन दिदैँ भने, ‘नीति तथा कार्यक्रम र बजेट निर्माणमा दुईथरि ‘स्कुल अफ थट’ छन् । एउटा दृष्टिकोण छ, अर्थतन्त्र दवावमा छ, धान्न सक्ने परम्परागत ढाँचाकै बजेट बनाएर जाउँ । अर्को दृष्टिकोण छ, चुनौतीभित्र नै केही गरेर देखाउने र परिणाम दिने अवसर पनि हुन्छ । त्यसैले नीति तथा कार्यक्रम र बजेटमार्फत् केही नयाँ गरौं । देशमा केही हुँदैन भन्ने भाष्य व्यवहारबाट चिरौँ । म चाहिँ केही नयाँ गरौँ भन्नेमा दृढ छु ।’
छलफलमा प्रधानमन्त्रीले संकटको बेला राज्यले हस्तक्षेप गरेरै भए पनि अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘संकटको बेला नै राज्य चाहिन्छ । राज्यप्रति जनताको विश्वास बढ्ने पनि यस्तै बेला हो । त्यसैले बजेटलाई नयाँपन दिउँ । सरकारले केही नयाँ गर्दैछ भन्ने कुरा जनताले प्रष्ट देखून् । उनीहरूमा सकारात्मक आशा जागोस् । जनतामा आशा जगाएर मात्रै हरेक देशले प्रगति गर्न सक्छ ।’
Advertisement 2
त्यसै क्रममा प्रधानमन्त्री प्रचण्डले राजश्व बढाउन नयाँ कार्ययोजनासहित अगाडि बढ्न पनि निर्देशन दिएका छन् । उनले भने, ‘राजश्व संकलनलाई प्रभावकारी बनाउन जोड दिनुस् । राजश्वको दायरा बढाउने र चुहावट रोक्ने काममा केन्द्रित हुनुस् । पुँजीगत खर्चको सामर्थ्य बढाउन विशेष रूपले अग्रसर हुनुस् । पुँजीगत खर्च नबढ्नुको प्रमुख कारण खर्च गर्न नसक्ने र अनावश्यक ठाउँमा बजेट फस्नु हो । यसपटक निर्मम भएर आयोजनाको प्राथमिकीकरण गर्नुस् । राम्रो गरिरहेका योजनामा बजेट थपेर अनावश्यक ठाउँको बजेट घटाइदिनुस् ।’
आयोजनाको प्राथमिकीकरणको काम व्यवस्थित गर्न प्रधानमन्त्री प्रचण्डले निर्देशन दिए । उनले भने, ‘जुन आयोजनामा काम राम्रो भएको छ । खर्च गर्ने क्षमता पनि राम्रो छ । त्यस्तोलाई प्राथमिकता दिउँ । जहाँ केही काम भएको छ, त्यसलाई निरन्तरता दिउँ । जहाँ काम भएको छैन, त्यस्ता योजना हटाइदिउँ । बजेट मात्रै थुपार्ने तर, कुनै परिणाम नदिने र अनावश्यक दायित्व मात्रै थप्ने योजना नराखौँ । त्यसरी हटाएका योजनामा जाने बजेट उत्पादन र रोजगारी सिर्जनामा केन्द्रित गरौँ ।’
Advertisement 3
बैठकमा अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र दवावमै रहेकाले परिणाम दिने ठाउँमा लगानी केन्द्रित गर्दै अर्थतन्त्रलाई गति दिनुपर्ने बताए । छलफलमा अर्थमन्त्री बर्षमान पुन, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ, राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, मुख्यसचिव डा.बैकुण्ठ अर्याल, नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिव, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगका अधिकारी सहभागि थिए ।