रंगको पर्व होली अर्थात फागु आज तराई मधेशका जिल्लामा मनाइँदै

काठमाडौं । रंगको पर्व होली अर्थात फागु आज तराई मधेशका जिल्लामा मनाइँदै छ । पहाडी र हिमाली जिल्लामा आइतबार नै होली मनाइसकिएको छ । पहाडी र हिमाली जिल्लामा होली मनाएको भोलिपल्ट तराई मधेशका जिल्लामा होली मनाउने चलन छ । होलीको अवसरमा सरकारले सोमबार तराई मधेशका जिल्लामा सार्वजनिक बिदा दिएको छ । हिमाली र पहाडी जिल्लामा भने आइतबार सार्वजनिक बिदा थियो ।

Advertisement 1

त्यसो त तराई मधेशमा दिनदिनै होली पर्वको रौनक छ । आइतबारदेखि सुरु भएको होली मङ्लबारसम्म खेल्ने तयारी मधेशमा छ । प्रदेशका आठ वटै जिल्लाका उत्तरवर्त्ती क्षेत्रमा सघन बसोबास भएका पर्वते (पहाडी) मूलका हिन्दू समुदायले आइतबार नै होली मनाएका छन् । साधु परम्परा (मठ, गुरुकूल परम्परा)मा पूणिर्मा सकिएर लाग्ने प्रतिपदा तिथिमा होली खेल्ने परम्परा छ । यसअनुसार तराई मधेशका अधिकांश ठाउँमा सोमबार होली पर्व मनाइँदैछ ।

मिथिलाको माध्यमिकी परिक्रमा क्षेत्रभित्र अन्तगृह परिक्रमा सम्पन्न गरिएपछि त्यसको भोलिपल्ट होली पर्व मनाउने परम्परा छ । यसअनुसार सोमबार अन्तगृह परिक्रमा गरिएपछि मंगलबार होली खेलिनेछ । स्थानअनुसार मनाइने होलीको नाम पनि फरक फरक छ । हिमाली र पहाडी भेगमा ‘फागु पूणिर्मा’ र तराई मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ ।

Advertisement 2

तराई मधेशका अधिकांश क्षेत्रमा पूणिर्माको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट होली पर्व मनाउने गरिएको छ । पन्ध्र दिने मिथिला परिक्रमामा सहभागी तीर्थयात्री जनकपुरधामको परिक्रमा गरी आआफ्नो गन्तव्यमा पुग्ने गरेका कारण होली मनाइने चलनमा यहाँ केही फरक देखिएको हो । यस अवसरमा यहाँका नाट्य संस्थाको होरी गायन प्रतियोगिता र महामूर्ख सम्मेलन लोकप्रिय छ ।

सबैलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ । हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमङ्ग एवं उत्साहको सञ्चार गर्दै आएको छ । असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ ।

प्रकाशित :२०८० चैत्र १२, सोमबार ०८:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry