यी हक्की महानिर्देशकः जसको कारण राजश्वमाराहरुको भयो “निदहराम”

१८ बर्ष अघि निजामती सेवामा पाइला राखेका नवराज ढुङ्गना ७ महिनादेखि राजश्व अनुसन्धान विभागको महानिर्देशको कुर्सीमा छन् । उनी त्यहाँ पुगेको ६ महिनामै आमूल सुधार भइसकेको छ । अघिल्ला महानिर्देशकहरुले बर्षभरमा दिने परिणाम उनले ६ महिनामै देखाइसकेका छन्,चाहे मुद्धा दायर गर्ने होस वा राजश्व संकलन नै किन नहोस ! पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रधामन्त्री भएलगतै उनको निजी सचिव बनेर सघाएका ढुङ्गना त्यहाँबाट गत असार सात गते राजश्व अनुसन्धान विभागमा कमाण्ड सम्हाल्न पुगेका हुन । ०६२ पुसबाट निजामती सेवामा पाइला राखेका ढुङ्गनाले जागिरे जीवनका क्रममा स्थानीय विकास मन्त्रालयमा तीन बर्ष, श्रम मन्त्रालयमा दुई बर्ष, स्वास्थ्य मन्त्रालय दुई बर्ष रहेर काम गरे । ०७० सालमा उपसचिवमा उक्लिएसँगै केन्द्रीय तथ्याङ्क विभागमा दुई बर्ष,पोखरा उपमहानगरपालिका, टोखा नगरपालिका, रत्ननगरपालिका लगायतका स्थानीय तह, केही समय गृह र उद्योग मन्त्रालयमा बिताए । ०७६ सालमा सहसचिवमा नाम निकालेसँगै वन मन्त्रालय, दलित आयोग, महालेखा नियन्त्रक कार्यालय, विरगञ्ज भन्सार कार्यालयमा कार्यअनुभव बटुलिसकेका ढुङ्गना अहिले राजश्वको महानिर्देशक भएर गएसँगै राजस्व छली एवम् चुहावट नियन्त्रणमा सक्रिय छन् ।
Advertisement 1
राजश्व अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत लगिएपछि ६ जना महानिर्देशक परिवर्तन भए । हाल आन्तरिक राजश्व कार्यालयको महानिर्देशक रहेका दीर्घराज मैनाली यो कार्यालयमा सबैभन्दा लामो समय ३३ महिना टिकेका हुन । २०७५ जेठदेखि ७७ फागुनसम्म बिभागको नेतृत्व गरेका थिए । त्यसपछि आएका रामप्रसाद आचार्य, प्रकाश पौडेल,झलकराम अधिकारी, मदन दाहाल हुँदै नारायण सापकोटा महानिर्देशकको जिम्मेवारी सम्हाल्न पुगे । लामो समय विभागमा रहेका कारण मैनालीको समयमा अलि बढी मुद्धा (७ सय हाराहारी) दायर भएको देखिन्छ । अहिले त्यसलाई पनि माथ खुवाउने गरी राजश्व छलीको अनुसन्धान गर्दै मुद्धा दायर गर्ने सिलसिला बढेको छ । सात महिनाकै अवधिमा ढुङ्गाना र उनका टिमले ४० वटा मुद्दा किनारा लगाइसकेको छ । यी मुद्धा अदालतमा बुझाएको हो विभागले । राजश्व छलीमा जोडिएका व्यापारीहरुको नेक्सस ठूल्ठूला राजनीतिकर्मीहरुसँगै हुने हुँदा हाम्रोजस्तो मुलुकमा त्यस्ता व्यापारीहरुको व्यापार तथा उद्योगधन्दाभित्र पसेर विस्तृत रुपमा अध्ययन अनुसन्धान गर्नु र अनुसन्धानलाई अघि बढाउनु चुनौतीपूर्ण मान्छन्,अनुसन्धानमा जोडिएका अधिकारीहरु ।
राजश्वमाराहरुको निदहराम
ढुङ्गना महानिर्देशक बनेर गएसँगै त्रिभुवन विमानस्थलबाट ६० किलो सुन बरामत भयो । नेपालको राजनीतिक तथा प्रशासनिक वृत्तमै तरङ्ग ल्याउने घटना हो यो । झण्डै १ अर्ब भन्दा बढी मूल्यको सुन विभागले आफ्नै पहलमा सफलतापूर्वक अप्रेसन गरेसँगै सुननसँग जोडिएको अनेकन कनेक्सनका गाँठाहरु फुक्नेक्रममा छन् । विभागकै इतिहासमा यस्लाई ठूलो सफलता मानिएको छ ।
यस्का अलवा विभागको ध्यान तस्करी नियन्त्रणमा केन्द्रित छ । सीमा क्षेत्रबाट ठुलो मात्रामा चोरी तस्करी बढेको र राजश्व छली भएको आशंकामा काठमाडौं लगायत देशका मुख्य–मुख्य सहरी क्षेत्रमा विभागले निगरानी बढाएको छ । विशेष गरी भारतीय सीमा क्षेत्रमा निगरानी बढाएको छ । चोरी तस्करी भएर काठमाडौंको बजार कपडा, मोटर पार्टस्, बिजुलीका समान, हार्डवयर सम्बन्धी समान, खैनी, गुट्खालगायत भारतबाट आउने विभिन्न प्रकारका सामानहरू आएको आशंकामा विभागले काठमाडौंका न्यूरोड, इन्द्रचोक, कुलेश्वर, कालिमाटी, टेकुलगायतका ठाउँहरूमा छापा मार्ने र अनुसन्धान गर्ने कार्य तिव्र पारेको हो । कुलेश्वरस्थित प्रमोद चौधरीले सञ्चालन गरेको विभिन्न फर्ममा छापा हानेको छ । इन्द्र चोक स्थित ओटुमा रहेको जेएम एन्ड सन्समा छापा मारेको छ । राजकुमार सुध्रानियाले सञ्चालन गरेको उक्त फर्मले भारतीय कपडाको आयात र विक्री वितरण गर्दा ठूलो मात्रामा राजश्व छलीको आंशका गरिएको छ । विभागको टोलीले काठमाडौंको क्षेत्रपाटीबाट स्रोत नखुलेको दुई करोड ३१ लाख रुपैयाँसहित ४ जनालाई पक्राउ गरिसकेको छ भने व्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मार्ने क्रममा अमेरिकी डलर एक हजार नौ सय ९४ रुपैया समेत बरामद गरेको छ । राजस्व अनुसन्धान विभागले अभौतिक मुद्रा क्रिप्टो करेन्सी को कारोवार गर्नेहरु माथि अनुसन्धान सम्पन्न गरी ललितपुर जिल्ला अदालतमा अभियोग दायर गरेको छ । ५ महिनाको सुक्ष्म अनुसन्धान पश्चात् शुभम कुमार यादव र रोहन चौधरीलाई प्रतिवादी बनाएर मुद्धा अगाडि बढाएको विभागले जनाएको छ ।
विभागले हार्डवयरको कारोबार गर्ने फर्महरूमा पनि छापा हानेको छ । मोटर पार्ट आयात तथा विक्री गर्ने फर्म र कपडाको कारोबार गर्ने फर्महरूमा समेत विभागले छापा हान्ने सिलसिला जारी छ । विभागले अनुगमन र गस्तिलाई समेत तिव्र बनाएको छ । त्यस्तै चोरी तस्करी नियन्त्रणका गस्तिलाई समेत तिव्र बनाएको छ । राजश्व अनुसन्धान कार्यालयहरू बुटवल, इटहरी र कोहलपुरले समेत गस्ती र चेकजाँचलाई तिव्र बनाएका छन् ।
Advertisement 2
६ महिनामै फड्को
विभागले चालू आर्थिक वर्षको ६ महिनामा धरौटी र लिलामीबापत १३ करोड ४५ लाख रुपैयाँ सङ्कलन गरेको जनाएको छ । राजश्व छलीसम्बन्धी मुद्दामा अनुसन्धान गर्ने विभागले माघ १२ गतेसम्मको अवधिमा उक्त रकम सङ्कलन गरेको हो । विभागले गत आर्थिक वर्ष २०७९÷८० मा कूल १३ करोड रुपैयाँ रकम धरौटी र लिलामीमार्फत सङ्कलन गरेको थियो । गत आर्थिक बर्षमा संकलन भएको राजश्व अहिले ६ महिनामै संकलन भएको आँकडा भेटिन्छ । यो ६ महिनाको अवधिमा राजश्व चुहावटतर्फ १ अर्ब ६२ करोड बिगो तथा सजाय माग दाबी गर्दै २५ वटा मुद्दा दायर समेत गरेको छ । यस्तै, ४५ जनालाई प्रतिवादी बनाइएको छ । गत आर्थिक वर्षमा यस्ता मुद्धा ३४ वटामात्र दायर गरेको थियो विभागले र १ अर्ब ४५ करोड रुपैयाँ बिगो दाबी गरेको थियो । यसका लागि ५९ जनालाई प्रतिवादी बनाइएको थियो । यस्तै, विदेशी विनिमय अपचलनतर्फ चालू वर्षको ६ महिनामा ४० वटा मुद्दा दायर गर्दै १ अर्ब ४६ करोड ६० लाख रुपैयाँ बिगो तथा सजाय माग दाबी गरेको छ । गत आर्थिक वर्षभरिमा विभागले यो शीर्षकमा ४३ वटा मुद्दा दायर गर्दै २४ करोड ४ लाख रुपैयाँ बिगो दाबी गरेको थियो । यसबाहेक, भीसीटीएसतर्फ चालू वर्षको ६ महिनामा ६९३ सवारी साधनविरुद्ध मुद्दा दायर भएको छ । यी सवारी साधनलाई २ करोड ७६ लाख ६० हजार रुपैयाँ जरिवाना रकम कायम गरिएको छ । गत वर्षभरिमा विभागले ४२७ वटा सवारीलाई कारबाही गर्दै २ करोड ५४ लाख रुपैयाँ जरिवाना कायम गरेको थियो ।
तर महानिर्देशक ‘नम्बर अफ केस’ बुझाउनु नै ठूलो उपलब्धि मान्दैनन् ‘धेरै मुद्दा बुझाउँदा मात्रै सरकारको सफलता देखिँदैन’ उनी भन्छन्, ‘मुख्य कुरा चुहावट कम गर्ने र राज्यकोषमा कानुनअनुसारको राजस्व दाखिला गराउने हो, त्यसतर्फ हाम्रो केन्द्रित छ । कस्ता व्यवसायी तथा व्यापारीले बढी गढबढी गर्दा रहेछन् त ?ढुंगनाको अनुभवमा नक्कली भ्याट विल तथा अन्य प्रकारका राजस्व छलिमा विशेष गरेर ४ प्रकारका व्यवसायमा बद्मासी धेरै देखिएको छ । सार्वजनिक आपूर्ति गर्ने, उच्च नाफा हुने प्रकारका व्यापार व्यवसाय, विक्री बढी पारदर्शी हुने प्रकृतिका व्यवसाय र चोरी पैठारी गर्नेहरु राजस्व छलिमा बढी संलग्न भएको पाइएको हो । व्यवसायिक पारदर्शीता नभएकाहरु राजस्व छलि प्रकरणमा बढी संलग्न भएका छन् ।
Advertisement 3
कर्मचारी काँटछाँट
असारमा महानिर्देशकको जिम्मेवारी सम्हाल्न पुगेलगतै त्यहाँका निर्देशक सबै र अधिकृतहरुसहित आधाजसो कर्मचारीहरु फेरबदल भए । अनुभवि कर्मचारीहरु बाहिरिएपछि उनका अगाडि त्यहाँ बसेर काम गर्नु चुनौतिपूर्ण थियो कारण नवराज आफैं प्रशासन क्षेत्रको व्यक्ति । राजश्व अनुसन्धान विभाग कोर राजस्वका कर्मचारी चाहिने ठाउँ । यद्यपि उनी त्यहाँ पुगे पछि राजश्वमा रहेर बदनामीमा मुछिएका कर्मचारीहरु तान्न थाले । जस्तो विवादमा रहेका पथलैयाका प्रमुख तेज नारायण यदवलाई सरुवा गरे । त्यस्तै इटहरीका प्रमुख सुरेस आचार्यलाई तानेर खेम ओझालाई खटाए । यस्का अलवा विभागकै निर्देशकको जिम्मेवारी हेरफेर गरेका छन् । अनुसन्धान विभागले उपसचिवहरु इश्वरी ढकाल,नवराज अधिकारी,इन्द्र गौतम,सन्तोष पौडेल र शशि कुमार लम्सालको शाखा परिवर्तन गर्दै विभागको अनुसन्धान शाखा नं ७ मा कार्यरत रहेका इन्द्र गौतमलाई योजना शाखा, नवराज अधिकारीलाई प्रशासन शाखा,सन्तोष पौडेललाई अनुसन्धान शाखा नं ३, शशि कुमार लम्साललाई अनुसन्धान शाखा नं २ र इश्वरी प्रसाद ढकाललाई अनुसन्धान शाखा नं ७ मा लगिएको छ ।