म्याद गुज्रिएको औषधी प्रयोगपछि जिउ चिलाउने, वान्ता हुने, जिउ फुल्नेजस्ता समस्या

गर्मी महिनाको आगमनसँगै तराई–मधेशका जिल्लाहरुमा लामखुट्टेको आतंक सुरु हुन्छ। यसबाट बच्न प्रत्येक वर्ष स्थानीय पालिकाहरुले लामखुट्टेको औषधी छर्कने गर्छन्। विषादीले केही हदसम्म लामखुट्टेको प्रकोप नियन्त्रण पनि हुन्छ।
तर, महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ५ मा भने समस्या झन् बढेको छ। म्याद गुज्रिएको औषधी छर्किएपछि स्थानीयमा अनेक स्वास्थ्य समस्या देखिएको छ।

Advertisement 1

जलेश्वर–५ का पर्सा, पतैली, चौरिया र विसनपुर गाउँमा केही दिनअघि वडा कार्यालयले औषधी छर्कन लगाएको थियो। औषधी छर्किएको केही घण्टा नबित्दै स्थानीयमा समस्या देखिन थालेको बताइएको छ। विशेषगरी बालबालिकामा रुने, जिउ चिलाउने, वान्ता हुने, जिउ फुल्नेजस्ता समस्या देखिएको छ।

औषधी छर्किएको केही घण्टा नबित्दै स्थानीय बालबालिका, युवा, वृद्धदेखि पशु चौपायामा समेत त्यसको प्रभाव देखिएको स्थानीय स्वास्थ्यकर्मी सरोज चौधरी बताउँछन् ।उनले भने, ‘स्थानीयले एकाएक सिट्रिच, सिटामोल, एन्टिबायोटिक लगायतका औषधि खोज्न थाले । उनीहरुमा सामुहिक रुपमै चिलाउने, जिउ फुल्ने लगायतका समस्या देखिएपछि कारणको खोजी गर्दा म्याद गुज्रिएको औषधि छर्किएपछि यस्तो समस्या उत्पन्न भएको थाहा पाएँ ।’

Advertisement 2

लामखुट्टेको औषधी छर्किएको केही घण्टा नबित्दै गाउँमा त्रास मच्चियो कसैलाई चिलाउने, कसैलाई ज्वरो आउने, बालबालिकाहरु रुने लगायतका समस्या सुरु भए, आफूलाई पनि यस्तै समस्या देखियो स्थानीय शत्रुध्न शर्माले बताए ।उनले भने, ‘वडा कार्यालयले लामखुट्टेको औषधी छर्कन लगायो, लामखुट्टेको आतंक त कम भएन तर हामी गाउँबासीमा विभिन्न खाले समस्याहरु देखिन थाल्यो ।’

यता जलेश्वर नगरपालिका ५ का वडाध्यक्ष राकेश राउतले म्याद गुज्रिएको औषधी छर्किएको आरोप निराधार रहेको दाबी गरे । उनले म्याद गुज्रिएको औषधी छर्केका कारण यस्तो समस्या नदेखिएको बताए । आवश्यक मात्राभन्दा बढी औषधी प्रयोग गरिएकाले यस्तो समस्या भएको हुनसक्ने उनको दाबी छ ।

Advertisement 3

 

प्रकाशित :२०७७ चैत्र ८, आईतवार १५:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry