खाद्य सुरक्षाको क्षेत्रमा सरकारको ठोस प्रगति, २ करोडभन्दा बढीको दूषित खाद्य वस्तु नष्ट

काठमाडौं। नेपाल सरकारले खाद्य सुरक्षाको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको जनाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा सार्वजनिक गर्दै खाद्य स्वच्छता, बजार अनुगमन, प्रयोगशाला सेवा, आयात–निर्यात नियमन लगायतका क्षेत्रमा हासिल गरेका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेको हो।
Advertisement 1
विभागका अनुसार उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै १ वर्षको अवधिमा ३,३९४ वटा खाद्य नमूना संकलन गरिएकोमा २,७३९ नमूनाको विश्लेषण गरिएको छ। तीमध्ये १७३ वटा नमूना अर्थात् ६.३२ प्रतिशत प्रतिकूल पाइएका छन्। खाद्यान्न, तेल, दुध, मसलादेखि प्रशोधित पिउने पानीसम्मका सामग्रीमा समस्या देखिएको विभागको भनाइ छ।
न्यूनस्तरको वा दूषित खाद्य उत्पादन तथा बिक्री वितरणमा संलग्न १८६ वटा व्यवसायीविरुद्ध जिल्ला प्रशासन कार्यालय तथा अदालतमा मुद्दा दायर गरिएको छ। तीमध्ये सबैभन्दा बढी मुद्दा तेल तथा घ्यूजन्य पदार्थ र खाद्यान्न/दलहनका क्षेत्रमा परेका छन्। खाद्य परीक्षणलाई थप प्रभावकारी बनाउन विभागले केही समयदेखि रोकिएको मोबाइल खाद्य प्रयोगशाला पुनः सञ्चालनमा ल्याएको छ। विभागको मोबाइल भ्यानमार्फत १६४ वटा व्यवसायमा निरीक्षण गरी ७२३ वटा नमूनाको परीक्षण गरिएको छ। यस्तै, विराटनगर र धनगढीमा पठाइएका अन्य मोबाइल प्रयोगशालाहरूबाट समेत दर्जनौं स्थानमा अनुगमन र परीक्षण गरिएको विभागले जनाएको छ।
Advertisement 2
खाद्य परीक्षण प्रयोगशालाको सेवा र क्षमतालाई सुधार गर्दै विभाग अन्तर्गतको राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालाले ISO/IEC १७०२५ः२०१७ अनुसार ८१४ वटा परीक्षण प्यारामिटरमा NABL एक्रिडिटेशन प्राप्त गरेको छ। यस्तै, भारतको खाद्य सुरक्षासम्बन्धी निकाय FSSAI बाट पनि विभागको परीक्षण प्रतिवेदनलाई मान्यता दिइएको छ, जसले नेपाली खाद्य वस्तुहरूको निर्यातमा सहजता ल्याएको छ।
गत वर्षको अवधिमा विभागले ७९,२३५ वटा खाद्य नमूनाको परीक्षण गरेको छ। आयात नियमन अन्तर्गत परीक्षण गर्दा ४१ वटा नमूना प्रतिकूल पाइएका कारण ती वस्तुको आयातमा रोक लगाइएको छ। यस्तै, तरकारी तथा फलफूलमा गरिएको ६५,८७१ परीक्षणमध्ये २१ वटा RBPR परीक्षण प्रतिकूल देखिएको जनाइएको छ।
विभागले उक्त अवधिमा २०,४३७ वटा कन्साइन्मेन्टलाई आयात स्वीकृति दिएको भए पनि आवश्यक मापदण्ड पूरा नगरेका २३० वटा कन्साइन्मेन्ट अस्वीकृत गरिएको छ। त्यस्तै, आहारपूरक खाद्य पदार्थ नियमन अन्तर्गत २,०८४ वटा उत्पादनलाई नियमनमा ल्याइएको छ।
निर्यातको क्षेत्रमा समेत उल्लेखनीय प्रगति भएको विभागको भनाइ छ। भारतको FSSAI ले विभागको परीक्षण प्रतिवेदनलाई मान्यता दिएपछि चिया, छुर्पी, मह, मसला, कफी लगायतका वस्तु अमेरिका, जापान, अष्ट्रेलिया, बेलायतलगायत मुलुकमा निर्यात गरिएको छ।
Advertisement 3
समीक्षा अवधिमा विभागले म्याद गुज्रिएका, लेबल नभएका वा दूषित खाद्य वस्तुहरूमाथि कडा निगरानी राख्दै २,३१,५१,२८५ रुपैयाँ बराबरका वस्तु जफत गरी नष्ट गरेको छ। जफत गरिएका वस्तुहरूमा चिप्स, मसला, अचार, तेल, पेय पदार्थ, दालमोट, सुजी, चिजबल्स लगायत रहेका छन्।
विभागले थप उपलब्धिहरूको रूपमा २३ जना सार्वजनिक खाद्य विश्लेषक तोकेको, प्रयोगशाला सेवा “LIMS ” प्रणालीमार्फत सञ्चालनमा ल्याएको, काठमाडौं महानगरपालिकासँग सहकार्यमा संयुक्त अनुगमन अभियान सञ्चालन गरेको र २१४ वटा होटल रेस्टुरेन्टको स्तरीकरण गरी ४१ वटा ‘अति उत्तम’ समूहमा परेको जानकारी दिएको छ। यस्तै, खाद्य प्रशोधनसम्बन्धी १५ वटा तालिम र १०४ वटा जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिएको छ।
विभागका प्रवक्ता मोहन कृष्ण महर्जनद्वारा जारी विज्ञप्तिमा भनिएको छ कि खाद्य सुरक्षालाई थप मजबुत बनाउन विभागले आगामी दिनमा परीक्षण सेवा, अनुगमन तथा जनचेतनामूलक कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउँदै लैजाने छ। विभाग उपभोक्ता तथा व्यवसायीबीच सशक्त समन्वय र सहयोगमार्फत खाद्य सुरक्षामा प्रतिबद्ध रहने जनाएको छ।