डा.विशद दाहालको निलम्बन फुकुवा
काठमाडौं । काठमाडौं मेडिकल कलेजको विवाद समाधान भएको छ । आचरण विपरित कार्य गरेको भन्दै कलेज प्रशासनले एक महिना निलम्बन गरिएका आवासीय चिकित्सक डा.विशद दाहाल र प्रशासनबिचको छलफलपछि विवाद साम्य भएको हो । बिहीबार कलेजका तर्फबाट सहायक प्राचार्य डा.पावना कायस्थ तथा कलेजका आन्दोलनरत आवासीय चिकित्सकहरुका तर्फबाट प्रतिनिधित्व गर्ने डा.विजय केसीबिच सहमति भई विवाद समाधान भएको हो ।
Advertisement 1
डा.दाहालले विगतका कमीकमजोरीबाट पाठ सिक्नुपर्ने जनाएपछि काठमाडौं मेडिकल कलेजले उनको निलम्बन समेत फिर्ता लिएको प्रशासनले जनाएको छ । डा.दाहालले कलेज प्रशासनले आफूमाथि अभद्र व्यवहार गरेको र कलेज गेटबाट भित्र पस्न नदिएको बताउँदै आएका थिए । बिहीबार बसेको वार्तामा दुई पक्षबिच कलेजले सञ्चालन गर्ने, निःशुल्क स्वास्थ्य शिविरलाई व्यवस्थित र सहज रुपमा सञ्चालन गर्न समेत आठ बुँदे सहमति गरिएको छ ।मंगलबार शिक्षामन्त्री अशोककुमार राईले पत्र नै काटेर निलम्बित दाहालको निलम्बन फुकुवा गर्न कलेजलाई निर्देशन दिएका थिए । आचरण विपरित कार्य गरेको भन्दै निलम्बन गरिएका चिकित्सकको पक्षमा शिक्षामन्त्री नै लागेपछि त्यसअघि सकारात्मक भएको वार्ता प्रभावित बनेको प्रशासनले जनाउँदै आएको थियो । तर निलम्बन फुकुवाको माग गर्दै उनीजस्तै आवासीय चिकित्सकहरु आन्दोलनमा थिए ।