नेपालको बेरोजगारी र यसको सम्बोधन

नेपालबाट यूवाहरूको दिनहु हुने वहिर्गमनलाई रोजगारी संग जोडेर हेर्ने गरिन्छ। नेपालमा रोजगारी नभएकै कारण दैनिक हजारौ यूवाहरू विदेशिएको भन्ने गरिन्छ। यो आरोप नेताहरूलाई अपजस दिन मात्र लगाईएको हो कि वास्तविकता नै यस्तै छ? यदि वास्तविकता नै यस्तै हो भने यसमा सुधार ल्याउन सकिने हो कि हैन? अर्थात नेपाल भित्रै रोजगारीका अवसरहरू सृजना गरेर यूवाहरूको बढ्दो पलायनलाई रोक्न सकिन्छ त? यी र यस्तै प्रश्नको उत्तर नखोजी एकोहोरो कराएर मात्र यो अवस्थामा सुधार ल्याउन सकिदैन।
यस सन्दर्भमा पहिला राज्यले रोजगारीका विद्यमान र सम्भावित क्षेत्र के के हुन खोजी गर्नु पर्यो। ती क्षेत्रबाट के के उत्पादन गर्ने हो? त्यसको निम्ति के कस्तो र कति जनशक्ति चाहिने हो? त्यो जनशक्ति कसरी पूर्ति गर्ने हो? त्यो क्षेत्रबाट हुने उत्पादनलाई चाहिने बजार, नेट वर्किंगको ब्यबस्थापन, निजी वा सार्वजनिक क्षेत्र कुन चाहीं उपयुक्त हुने हो ?त्यसको लागि राज्यले आवश्यक पर्ने पूजीको ब्यबस्थापन आदि सबै कुराको उचित ब्यबस्थापन कसरी गर्ने र कसले गर्ने टुंगो लगाउने भन्ने तर्फ सोच्न जरूरी देखिन्छ।
विद्यमान अवस्थामा रोजगारी सृजना हुने सम्भावित क्षेत्र निम्न बमोजिम हुन सक्छन्।
Advertisement 1
क. कृषि
ख. पर्यटन
ग.घरेलु उद्यम
घ.मेकानिकल
यी वाहेक सरकारी क्षेत्र, निजी क्षेत्र समेतलाई निरन्तरता दिन सकिन्छ।
Advertisement 2
कृषि क्षेत्रः-
हाल नेपालको कृषि क्षेत्र बेहाल छ। काम गर्ने हातहरू विदेशिएका हुनाले खेतबारीहरू बांझै छन्। त्यसो त हामीले कृषि क्षेत्रलाई अपहेलाको क्षेत्रमा राख्यौ। सन्तानले पढ्न सकेनन् भने हली होलास भनेर तिनीहरूलाई गाली गर्ने चलन छ। अरू काम भेटाए सम्म कृषि पेशामा नलाग्ने परम्परा छ। जसरी समाजले यो पेशालाई हेरेको छ सरकारले पनि यो क्षेत्रलाई प्राथमिकतामा पार्न सकेको पाईदैन। हुन त सरकारी संगठनमा केन्द्र देखि सेवा केन्द्र सम्म कृषिका कार्यालय राखिएको छ तर यी कार्यालयहरू रोजगारीका हिसाबले मात्र अस्तित्वमा छन्। सेवा केन्द्र भनिए पनि यहांबाट किसानले पाउने सेवा करीव शून्य छ।
Advertisement 3
किसानले समयमा मल, बीऊ पाउने अवस्था छैन, कृषिलाई आधुनिक तवरबाट संचालन गर्न सकिएको छैन, कृषि उपजको बजार ब्यबस्थित छैन। अन्य क्षेत्रमा जस्तै यो क्षेत्रमा पनि कृषि बीमालाई थप प्रभावकारी बनाउन नसकिदा किसान मर्कामा परेको अवस्था छ। यसै गरी हाम्रा जमीनहरू अंश बण्डाका कारण टुक्रिएका छन जस्ले गर्दा कृषि सामग्री प्रयोग गर्न नसकिने स्थिति छ भने अंश बण्डाका कारण खेती योग्य जमीन सांघुरो भै उत्पादनमा ह्रास आएको छ।
यसरी यो क्षेत्रलाई शेयर बजारमा लगेर संयुक्त लगानीबाट चक्लाबन्दीको माध्यमबाट आधुनिक प्रविधिबाट खेती गर्न सके यो क्षेत्रले ठूलो रोजगारी दिन सक्छ। यसलाई सहकारीको माध्यमबाट आमोद कमोद गर्ने हो भने यसले उद्यमको रूप लिन सक्छ। सरकारले भूमि बैंकको अवधारणाबाट पनि यसमा चाहिने पूजीको ब्यबस्था गर्न सक्छ।
कृषि अन्तर्गत खेतीबाली, फलफूल, पशुपंक्षी पालन, मत्स्य पालन ,नगदेबाली, दालहन, तेलहन, तरकारी आदि को सम्भावना हेरी खेती गर्न सकिन्छ। यसको लागि समस्त कृषि योग्य जमीनलाई सम्भावनाका आधारमा विभाजन गरेर सोही बमोजिम उत्पादन गर्ने ब्बबस्था मिलाउनु पर्ने हुन्छ। अर्थात अन्न खेती क्षेत्र, पशुपालन क्षेत्र, फलफूल क्षेत्र जस्ता बेग्ला बेग्लै क्षेत्र बनाएर उत्पादन गर्ने र त्यो उत्पादन संरक्षण गर्न शीत भण्डार बनाएर राख्न सक्नु पर्छ। अन्त्यमा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा पठाउनु पर्ने हुन्छ। यसो गर्न सकिएमा हालको बेरोजगारी आधाले घटाउन सकिन्छ।
पर्यटन क्षेत्रः-
हाम्रो प्रकृति र संस्कृतिको वरदानबाट पाएको निधिलाई स्वदेश तथा विदेशबाट आएका पाहुनालाई पस्केर आम्दानी गर्ने क्षेत्र हो पर्यटन। यसमा समावेश भएका सौन्दर्य हेर्न र बुझ्न आउने पाहुनालाई नेपाली स्वाद पस्केर दिने, उनीहरूलाई खाने, बस्ने सुविधा दिएर उनीहरूको बसाई लम्याउने ब्यबसाय हो यो। यसरी पाहुनाहरू हाम्रो क्षेत्र तिर आएर हाम्रो कला संस्कृतिको मजा लिदै हाम्रा परिकार चाख्दै हामीले बनाएका हस्त सामग्री समेत खरीद गरेर हामीलाई रोजगारी उपलब्ध गराउछन्। उनीहरूलाई पथ प्रदर्शन गरेर, उनीहरूको सामान बोकेर, उनीहरूलाई सुरक्षा प्रदान गर्ने कामबाट रोजगारी सृजना हुन सक्छ।
यसको लागि राज्यको तर्फबाट गरिनु पर्ने कामहरू पनि छन् जस्तो कि हाम्रो देशको सांस्कृतिक र भौगोलिक विविधता देखिने गरी पर्यटकीय नक्सा, बुक्लेट, डकुमेन्ट्री तयार गरी देश विदेशमा प्रचार प्रसार गर्ने, ब्यबसायी खोजेर उनीहरूलाई तालीम दिने, सम्भावित ठाऊहरूमा गोरेटो, पैदलमार्ग बनाउने, मर्मत गर्ने गराउने, पर्यटकीय मार्गमा सुरक्षाको ब्यबस्था गर्ने, ईमर्जेन्सी एक्जिटको ब्यबस्था गर्ने, विदेशी पाहुनाको लागि भीसाको ब्यबस्था सरल र सहज बनाउने, पथ प्रदर्शक र ब्यबसायीलाई बिभिन्न बैदेशिक भाषाको जानकारी गराउने, पर्यटकीय बैंक स्थापना गरी बित्तीय ब्यबस्थापन र पूजीको ब्यबस्थापन मिलाउने, यस्ता काममा निजी तथा ब्यबसायीक क्षेत्रलाई अभिप्रेरीत गर्ने।
घरेलु उद्यमः-
बढ्दो बेरोजगारीलाई कम गर्न देश भित्र सन्चालन हुने साना तथा घरेलु उद्यमहरू पनि सहायक शिद्ध हुन सक्छन्। नेपालमा यस्तो उद्यमहरुको अभ्याश लामो छ। यसले परम्परागत हस्तकला सम्बन्धी सीपलाई आधुनिकता तिर लैजान्छ। कृषि तथा वन जन्य कच्चा पदार्थको माध्यमबाट तयार हुने बस्तुहरूबाट घरायसी खांचो पूर्ति गर्ने मात्र नभै पर्यटकीय पाहुनाहरूलाई उपहार दिन समेत काम लाग्छ। यस्ता उद्योगबाट बनेका सामान डेकोरेशनका लागि पनि उपयोगी हुन्छन्। यसको लागि आवश्यक पर्ने कच्चा पदार्थ स्थानीय स्तर मै पाईने र यसको संचालनका लागि धेरै पूजी र ठूलो बजार नचाहिने हुदा हाम्रो जस्तो देशको लागि ज्यादै उपयोगी हुने देखिन्छ।
मेकानिक्स सम्बन्धी कामः-
बेरोजगारीलाई सम्बोधन गर्न सवारी साधन र अन्य मेशिनहरू मर्मत सम्बन्धी काम ज्यादै उपयोगी हुने देखिन्छ। यो उद्योग अहिले पनि निर्वाहको रूपमा नगर क्षेत्रहरूमा चलेको छ। यसलाई ब्यबसायीक रूपमा लैजान सकियो भने यसले अर्ध शिक्षित बेरोजगारलाई ब्यस्त बनाउन सक्छ। हाल नेपालका दुर्गम स्थानमा समेत सवारी साधन चल्ने र कुटानी पिसानीका मिलहरू पनि सन्चालनमा रहेका छन्। यिनीहरूलाई समय समयमा मर्मत गरीरहने हो भने लामो समय सम्म खप्छन्। हामीले यसको मर्मत र संभारमा आवश्यक पर्ने प्राविधिक तयार गर्न सक्यौ भने तिनीहरू बेरोजगार रहनु पर्ने स्थिति हुदैन।
यी त भए सम्भावनाका उपायहरू जस्ले बेरोजगार हुने संख्या कम गर्छ। फेरि हामी संग शिक्षा मन्त्रालय अन्तर्गत रहेका प्राविधिक तथा ब्यबसायीक तालीम केन्द्रहरू नेपालका विभिन्न ठाऊमा संचालन मै रहेका छन्। यी तालीम केन्द्रबाट हाम्रा बेरोजगार यूवालाई दक्ष, अर्ध-दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ। अन्त्यमा, हरेक दिन अन्तर्राष्ट्रिय विमान स्थलबाट बाहिरिने यूवा शक्तिलाई नेपालमा रोक्न नसक्दा देशको हरेक क्षेत्र अपांग बनेको सन्दर्भमा राज्य सन्चालन गर्ने जिम्मा पाएका नीति निर्माताले यी उपायहरूलाई ब्यबहारमा ल्याउन ढिला गर्न हुदैन।