राष्ट्रपति पौडेल: देशका युवाहरु विदेश जानबाट रोक्न रोजगारी र सीपमूलक शिक्षा जरुरी

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सरस्वती बहुमुखी क्याम्पसले ६५ औं वार्षिकोत्सव मनाएको छ । विसं २०१६ पुष १० गते स्थापना भएको क्याम्पस त्रिभुवन विश्वविद्यालयको संस्थापक आङ्गिक क्याम्पस हो । राष्ट्रपति पौडेलले उक्त क्याम्पसबाट मानविकीतर्फ स्नातक उत्तीर्ण गरेका थिए । उनले विसं २०२३ मा स्ववियु सभापति समेत भए ।

Advertisement 1

राष्ट्रपति पौडेलले सरस्वती बहुमुखी क्याम्पस नेपालको शिक्षा क्षेत्रको लागि उदाहरणीय, अब्बल र अग्रणी उच्च शिक्षण संस्थाको रुपमा उदाएको देख्दा खुसी लागेको बताउछन । उनले भने “यस क्याम्पसमा अत्याधुनिक भवनको अभाव हुनु चिन्ताको विषय हो । सरकारलाई यसतर्फ ध्यान दिन अनुरोध गर्दछु ।”गाउँ रित्तिएकोमा सबैको ध्यान केन्द्रित हुनुपर्ने चिन्ता प्रकट गर्दै राष्ट्रपति पौडेलले देशका युवाहरु विदेश जानबाट रोक्ने गरी रोजगारी र सीपमूलक शिक्षा जरुरी भएको उल्लेख गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि त्रिविका उपकुलपति प्राडा शिवलाल भुषालले राज्यबाट भौतिक तथा वित्तिय व्यवस्थापन हुने हो भने विश्वविद्यालयले अझै उपलब्धिमूलक फड्को मार्ने बताए । उपकुलपति भुषालले भने– भएका संस्थाहरु डुब्दै जाने र नयाँ खोल्दै जाने भन्ने कुरालाई सरकारले अध्ययन गरेर मात्र अघि बढ्नुपर्छ । क्याम्पसका संस्थापक त्रिविका पूर्व उपकुलपति प्राडा शङ्करराज पाठकले थलिएको राष्ट्रलाई उत्थान गर्न राष्ट्रपतिको काँधमा ठुलो जिम्मेवारी आएको उल्लेख गर्दै बैंकको ब्याजदर दुई तीन प्रतिशत तलमाथि गरेर नबन्ने र यसका लागि तीन सिफ्टमा काम गर्नुपर्नेमा जोड दिए ।

Advertisement 2

कार्यक्रममा धन्यवाद ज्ञपन क्याम्पस प्रमुख डा गोलमान गुरुङ, स्वागत मन्तव्य सहायक क्याम्पस प्रमुख लक्ष्मी थापा, शुभकामना मन्तव्य स्ववियु सभापति मुस्कानराज गौतम र कार्यक्रम सञ्चालक नारायणप्रसाद अर्यालले गरेका थिए । वार्षिकोत्सवमा विद्यार्थीहरुबाट साँस्कृतिक कार्यक्रम प्रस्तुत भएको थियो । बटुकहरुको स्वस्तिवाचन र राष्ट्रिय गानबाट आरम्भ भएको कार्यक्रमको समुद्घाटन पानसमा बत्ती बाली राष्ट्रपपतिबाट भएको थियो ।

कार्यक्रममा वार्षिकोत्सवका अवसरमा स्ववियुले आयोजना गरेको विभिन्न खेलकुद प्रतियोगितामा विजयी छात्रछात्राहरुलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । खेलकुद सप्ताहमा भलिबल, फुटसल, क्रिकेट, बास्केटबल, ब्याडमिण्टन, टेबलटेनिस, छेलो, डोरी तान्ने, चेस र हाजिरीजवाफ खेल सञ्चालन भएको थियो । यसैगरी स्नातक तथा स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमहरुमा क्याम्पस तथा विश्वविद्यालयमा सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरुलाई नगद तथा प्रशंसापत्र प्रदान गरिएको थियो ।

Advertisement 3

क्याम्पसमा स्नातक र स्नातकोत्तर तहका विभिन्न चौध कार्यक्रमहरुमा ८ हजारभन्दा बढी छात्रछात्राहरु नियमित अध्ययनरत छन् । व्यवस्थापनतर्फ स्नातकोत्तर तहमा एम्बीएम् र एम्बीएस्, स्नातक तहमा बीबीए, बीबीएम्, बीबीएस् र बीएच्एम् तथा मानविकीतर्फ स्नातकोत्तर तहमा अङ्ग्रेजी, नेपाली, ग्रामीण विकास, समाजशास्त्र र अर्थशास्त्र, स्नातक तहमा अङ्ग्रेजी, अर्थशास्त्र, गणित, इतिहास, ग्रामीण विकास, नेपाली, राजनीतिशास्त्र, समाजशास्त्र, आमसञ्चार, मनोविज्ञान, संस्कृति, बीसीए, बीएस्डब्लू समेतका विषयहरु दक्ष प्राध्यापकहरुबाट प्राध्यापन हुने गरेको क्याम्पस प्रमुख डा. गोलमान गुरुङले बताए ।

प्रकाशित :२०८० पुष ११, बुधबार १२:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry