बागमती भ्रमण वर्ष घोषणा गरिँदै

बागमती प्रदेश सरकारले बागमती प्रदेश भ्रमण वर्ष २०२४ घोषणा गर्ने भएको छ । बागमती प्रदेश मन्त्रिपरिषद्को बुधबारको बैठकले बागमती प्रदेश भ्रमण वर्ष २०२४ घोषणा गर्ने निर्णय गरेको हो ।
Advertisement 1
प्रदेश सरकारले आगामी वर्ष २०२४ मा अधिकतम पर्यटकहरू भित्राएर बागमती प्रदेशलाई पर्यटकीय रूपमा परिचित गराउने उद्देश्य अनुरूप भ्रमण वर्ष मनाउने तयारीमा जुटेको हो । प्रदेशका १३ जिल्लालाई समेटेर धार्मिक, सांस्कृतिक, साहसिक पर्यटनहरूलाई प्रोत्साहन हुने गरी संरचनागत रूपमा विकास गरी पर्यटन वर्ष मनाउने तयारीमा जुटेको हो । प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयले पर्यटन वर्ष घोषणाको तयारीमा जुटेको हो । आगामी पुस महिनामा औपचारिक कार्यक्रम मार्फत भ्रमण वर्षको घोषणा गर्ने गरी पूर्व तयारीको कामलाई तीव्रता दिएको हो ।
पर्यटकीय गन्तव्य चितवनको सौराहा, लाङटाङ तथा जुगल हिमाल, सिन्धुपाल्चोक र रामेछापको सिमानामा रहेको सैलुङ पर्यटकीय, दोलखाको जिरी र कालिन्चोक, सिन्धुपाल्चोकको पाँचपोखरी, रसुवाको गोसाईंकुण्डले पर्यटक आकर्षित गर्न सघाउ पुग्ने अपेक्षा गरिएको छ ।