अध्यक्ष र उपाध्यक्ष लफडामा,प्रमुख प्रशासकीय अधिकृतको रामधुलाई

नेपालीमा एउटा उखान छ,साढेको जुधाई बाच्छाको मिचाई । यस्तै घटना घटेको छ,कपिलबस्तुको शुद्धोधन गाउँपालिकामा । बिहिबार पालिकाका उपाध्यक्ष होमप्रकाश चौधर्री (कुर्मी)ले प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीलाई कार्यकक्षमा गएर दुई मुक्का प्रहार गरे । उपाध्यक्ष चौधरीले कार्यकक्षको सिसिटीभी समेत बन्द गरेर हातपात गरेपछि अहिले अध्यक्ष प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिन पुगेका छन् ।
Advertisement 1
घटनापछि पालिका अध्यक्ष कमलेशशरण चौधरीले प्रमुख जिल्ला अधिकारीलाई पत्र लेख्दै उपाध्यक्षलाई पक्राउ गरी कारवाही गर्न माग गरेका छन् । कर्मचारीले प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य भेटेर ज्ञापनपत्र दिई कडा कारवाहीको माग गरेका छन् । उनलाई कारवाही नगरेसम्म गाउँपालिका र वडा कार्यालयको सबै काम ठप्प पार्ने निर्णय पनि गरेका छन् ।
गाडीको बिषयलाई लिएर उपाध्यक्ष होमप्रकाश चौधरीले प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीलाई कुटपिट गरेको बताइएको छ । अधिकृत ज्ञवालीले गाडीको चावी नदिएपछि कुटपिट भएको बताइएको छ । उपाध्यक्षले आफूलाई जिल्ला प्रहरी कार्यालयमा जाने काम परेकाले गाडीको चाबी माग्दा नदिएपछि भनाभन मात्र भएको र टेबल मात्र ठटाएको तर हातपात नगरेको प्रतिक्रिया दिएका छन् ।
Advertisement 2
प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको त्यहाँबाट सरुवा भएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खटाइएको भए पनि उनलाई अध्यक्षले रोकेर राखेका छन् । अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत एक भएर उपाध्यक्षलाई माइनस गरेपछि उपाध्यक्ष प्रमुख प्रशासकीय अधिकृतमाथि जाइलागेका त्यहाँका कर्मचारीहरुले जनाएका छन् ।