प्रशासकीय अध्यात्मवाद र यसको बहुआयामीक प्रभाव

विषय प्रवेश
अध्यात्मवाद आत्मालाई ब्रह्माण्डको जराको रूपमा लिने एक वैचारिक विचार हो। अध्यात्मवाद परमात्मा र त्यसका गुणहरूको प्रकटीकरणको माध्यम हो। अध्यात्मवादका प्रवक्ताहरूले आत्माको शरीरबाट स्वतन्त्र अस्तित्व छ भनी विश्वास गर्छन्।सरल अर्थमा आत्मालाई जगतको मूल मान्ने आदर्शवादी विचारलाई अध्यात्मवाद भनिन्छ । यस अनुसार आत्मा धेरै महत्वपूर्ण हुन्छ । यसको शरीरभन्दा स्वतन्त्र अस्तित्व हुन्छ । आध्यात्म जीवन, जीवन पूर्व र जीवन पर्यन्तको रहस्य खोतल्ने एक विज्ञान हो । आध्यात्मको विभिन्न आयामहरु मध्ये एउटा आयाम आफ्नो मालिक आफै बन्नु पनि हो । यस लेखमा अध्यात्मवादका बहुआमिक पक्षहरु र यसले सार्वजनिक प्रशासनमा पार्ने बहुआयाकि प्रभावहरुको वारेमा चर्चा गरिएको छ ।

Advertisement 1

अध्यात्मवाद
आफ्नो शरीर, मन, भावनाहरू तथा उर्जाको प्रयोग गरी निश्चित स्तरसम्म विकसित गर्दै लैजादा प्रस्फुटित हुने भावना आध्यात्मिकता हो । हामिले सबैभन्दा नजिकबाट जानेको सृष्टिको अंश भनेको आफनै शरीर हो, यदि हामिले आफूभित्र सृष्टिको स्रोतलाई चिन्यौ भने त्यो आध्यात्मिक हो ।हामी तत्व र आत्मा दुवैबाट बनेका छौं । आत्मालाई आध्यात्मिक चिन्तन, ज्ञान र प्रकाशको आवश्यकता पर्दछ भने शरीर (तत्व) लाई केही भौतिक चीजहरुको आवश्यकता पर्दछ र हाम्रो आत्माको पोषण चाहिं आध्यात्मद्वारा हुन्छ । जीवनमा भोग्ने सुख, दुःख, उतारचढावको मालिक आफै बन्दै यी सबै कुराहरु र परिघटनाहरुप्रति अछुतो भई साक्षी भावले हेर्दै जीवनको सर्वोत्कृष्ट चिन्तन र त्यही अनुरुप आफूलाई शुद्धिकरणको मार्गतर्फ अगाडि अग्रसर गराउने कला र विज्ञान हो अध्यात्मवाद ।सुसंगत अध्यात्मवादीहरूले आधुनिक विज्ञानका उपलब्धिहरूलाई झूटो ठहराउँछन् र विज्ञानलाई आत्मा र ईश्वरीय कानूनमा अन्धविश्वासको साथ बदल्ने प्रयास गर्छन्।आध्यात्मिकता भनेको कुनै विशेष अभ्यास होइन । म को हुँ ? मेरो यस धर्तीमा किन जन्म भएको हो ? मेरो धर्म,कर्म के हो ? मेरो अस्तित्व के हो ? त्यो जान्ने कला अध्यात्म हो ।आध्यात्मलाई विभिन्न तरिकाले व्याख्या गरेको पाइन्छ । कसैले यसलाई यस सम्पूर्ण विश्व ब्रम्हाण्डलाई संचालन गर्ने सर्वशक्तिमान परमात्माप्रतिको विश्वास हो भन्दछन् भने कसैले कुनै खास धर्मले प्रतिपादित गरेका निश्चित नियम र कानुनको अनुसरण गरेर एउटा अनुशासित जीवन बिताउनुलाई भन्दछन् ।त्यसैगरी कसैले सम्पूर्ण जीवजातिसँग एउटा अन्र्तसम्बन्ध कायम गरी दया, करुणा, भाइचारा, आपसी सद्भाव, क्षमा आदि सद्गुणहरुलाई अँगाली जीवन बिताउनुलाई भन्दछन् । तर अहिले आएर धर्मको एउटा निश्चित परिधि तथा यसले एउटा विशेष मान्यता तथा विश्वासलाई महत्व दिने भएकोले नयाँ पिढीका सन्त तथा आध्यात्मको वकालत गर्ने व्यक्तिहरुले आध्यात्मिकतालाई धर्मदेखि अछुतो राखेर हेर्नुपर्ने महत्वमाथि जोड दिन थालेका छन् । धर्मले टुक्रयाउँदछ, आध्यात्मले जोड्दछ भन्ने नयाँ मान्यताहरु पनि अगाडि आइराखेका छन् ।धर्मले गुटबन्दी, समूहको संगठन, सम्प्रदायको उद्गमन, अन्धविश्वासको निरन्तरतालाई जोड दिन पृष्ठपोषण गर्न सक्छ भने आध्यात्मले केवल व्यक्तिको वैयक्तिक चेतनाको उच्च विकासलाई जोड दिन्छ । एउटा आध्यात्मिक व्यक्तिलाई चारवटा विभिन्न धर्मबाट ४ किसिमका सदाचार, मानव कल्याण, विश्वप्रेम र सबै व्यक्तिलाई समान व्यवहार गर्ने जस्ता मानवीय मूल्य र भावनालाई अंगीकार गर्नमा कुनै समस्या हुँदैन भने एक धार्मिक व्यक्तिले सम्पूर्ण कुरा आफ्नो धर्म ग्रन्थको परिधिभित्र खोज्न थाल्दछ र आफ्नो निश्चित धर्म ग्रन्थलाई नै सर्वस्व ठान्दछ । आध्यात्मले हामी स्वयममाथि नजर राख्न, ध्यान राख्न सिकाउँछ । पृथ्वीको यथार्थ स्वरुप हेर्न जसरी वैज्ञानिकहरुले भूउपग्रहको प्रयोग गरी हजारौं माइल माथि बाट नजर राख्दछन् त्यसैगरी हामीले आफूभन्दा माथि उठेर आफ्ना कमीकमजोरी र आफ्नो स्वरुप, अस्तित्वमाथि नजर राखेर आफ्नो यथार्थ अवस्थाको ज्ञात गरी त्यो भन्दा माथि उठ्न अगाडि बढ्नु नै आध्यात्मिक यात्रा हो ।संसारमा न जन्म, न मृत्यु, न जीवनका महत्वपूर्ण घटनाहरु हाम्रा हातमा छन् । सम्पूर्ण कुरा परमेश्वरको एउटा दिव्य योजना अनुरुप चलिराखेको छ । यसले वस्तुहरु संवेदनाका उपजहरु हुन । मानिसको संवेदना र आत्मा नै प्रधान हो । आत्मगत आदर्शवादले परम आत्मालाई सत्य ठान्दछ । मेरो मन भित्र जे छ, मेरो आत्माले जे देख्छ, मेरा संवेदनाहरुमा जे कुरा आउछन् त्यो नै सत्य हो भन्दै मनोगतबादमा जान्छ । यसलाई आदर्शवाद र प्रत्ययवाद पनि भनिन्छ। अध्यात्मवादले विश्व जगत् र ब्रह्माण्ड खास जड् तत्त्वबाट निर्मित, सञ्चालित र व्यवस्थित नभई एउटा अदृश्य शक्तिबाट भएको मान्दछ। यसले मन,आत्मा, परमात्मा, परम चेतना र अलौकिक ईश्वरीय शक्तिलाई ब्रह्माण्ड वा विश्व जगत् निर्माणको स्रोत मान्दछ।यसले सम्पूर्ण जीव तथा निर्जीव कुराहरूको सृष्टि, सञ्चालन र विनाश कसैले देख्न नसकिने अभौतिक दैवी शक्तिबाट भएको हो भन्ने दृष्टिकोण राख्छ। यस दर्शनले प्रकृतिभन्दा माथि उच्च दैवी चेतनाको शक्ति वा परमात्माको अस्तित्व मात्र स्वीकार गर्दछ। पूर्वीय परम्परामा प्राचीन ऋषिमुनि, वेद, पुराण, उपनिषद र शास्त्रहरूले यसलाई पुष्टि गर्न खोजेका छन् भने अनेक पश्चिमी दार्शनिकहरूले पनि यस मान्यतालाई प्रमाणित गर्न खोजेका छन्।अध्यात्मवादले भौतिकवादको भन्दा ठिक उल्टो कुरा गर्दछ। ब्रह्माण्ड वा विश्व जगत् कुनै जड्तत्वको कारणबाट निर्माण नभई उच्च चेतनशील, असांसारिक, मानसिक वा आदर्श शक्तिबाट भएको हो भन्ने धारणा राख्दछ। पश्चिमी दार्शनिक हेगेलले पनि ’एउटा परम विचार’ को अस्तित्वलाई स्वीकार गरेका थिए। उनले भनेको यो परम विचार पूर्वीय परम्पराका ऋषि मुनीहरूले धेरै पहिले भनेको सर्व शक्ति मान् ईश्वरीय शक्ति वा विचार नै हो, जसले विश्व जगतको निर्माण र सञ्चालन गर्ने सामर्थ्य राख्दछ। पूर्वीय दर्शनको मुख्य स्रोत वेद र उपनिषदले ब्रह्म र आत्मालाई परम तत्त्व मानेको छ। शरीर वा जड्तत्व दुईचार दिनको घाम छाया र आत्मा स्थायी चेतन शक्ति हो भन्ने कुरा अध्यात्मवादको निष्कर्ष हो ।

संसारको सृष्टि गर्ने चेतनाका बारेमा अध्यात्मवादीहरूबीच एकमत छैन। एकथरि अध्यात्मवादीहरूले कर्ताद्वारा वा पृथक व्यक्तिको चेतनाद्वारा जगतको सिर्जना गरिन्छ भन्ने विचार गर्दछन्, उनीहरुलाई आत्मगत आदर्शवादी मानिन्छ। अर्कोथरि अध्यात्मवादीहरू, जसलाई वस्तुवादी अध्यात्मवादी भनिन्छ, तिनीहरूले व्यक्तिभन्दा बाहिर अस्तित्वमा रहेको कुनै वस्तुगत चेतनाले जगतको सृष्टि गर्छ भन्ने व्याख्या गर्छन्। विभिन्न दार्शनिक प्रणालीहरूमा कतै परम भावनाको रूपमा र कतै परम इच्छा आदिको रूपमा व्याख्या गरिने यो चेतनामा ईश्वर, जुन अलौकिक शक्ति हो, त्यसलाई नै मुख्य मान्ने गर्दछन्।
अज्ञेयवादी अध्यात्मवादीहरूले जगतका बारेमा जान्न सकिन्छ भन्ने कुराको अस्वीकार गर्छन्। वस्तुगत अध्यात्मवादीहरूले जगतका बारेमा जान्न सकिन्छ भन्ने मान्यतालाई स्वीकार गरे पनि व्यवहारमा बोधगम्यताको व्यवहारलाई बङ्ग्याउँछन्। उनीहरूले भन्छन्, ‘मानिसले वस्तुगत जगत र प्रकृतिका बारेमा जान्न सक्ने हुने होइन, उसले आफ्नै विचार या अनुभूतिहरूलाई जानकारी गराउने वा जान्ने हुने हो। ती आत्मगत अध्यात्मवादीभन्दा छुट्टै वस्तुगत अध्यात्मवादीहरूले रहस्यमय भावना र ब्रम्हालाई बोध गर्ने कुरा गर्छन्। वस्तुगत र आत्मगत आदर्शवादी दुवैको मुल आधार विश्वास मात्र हो, विज्ञान होइन।
अध्यात्मवाद जगतको वैज्ञानिक व्याख्याको विरोधी हुन्छ। अध्यात्मवादले धर्मले जस्तै अलौकिक शक्तिहरूलाई नै जगतको केन्द्रविन्दु ठान्दछ। ईश्वरले जगतको सृष्टि गरेको हो भन्ने कुरालाई अध्यात्मवादले दार्शनिक रूपमा बुद्धिको प्रयोग गरेर, धार्मिक रूपमा पर्दा लगाएर उही धर्मको पुष्टि गर्दछ। अध्यात्मवादले चेतनाको उपज मात्र ठान्दछ। सबै सामाजिक अन्तर्विरोधहरूको व्याख्या चेतनालाई मुख्य मानेर त्यसैको आधारमा गर्छ। अध्यात्मवाद र धर्मको निकट सम्बन्ध छ। आदर्शवादको सम्बन्ध वास्तविक भौतिक संसारभन्दामाथि र भौतिक संसारका विरुद्ध आदर्शवादी या परलौकिक संसारसँग छ। आदर्शवादीहरूले समाजमा भएका सम्पन्न र विपन्न वर्गहरूबीचको भिन्नता ईश्वरको इच्छामा, दिव्य चिन्तनमा र मान्छेको दिमागका स्वाभाविक जन्मसिद्ध विशिष्टतामा ती कारणहरू खोज्छन्।

Advertisement 2

अध्यात्म एउटा यस्तो ज्ञान हो । जसले सबै कुरा कुनै कर्ताको हातमा रहेकोले कुनै पनि कुरामा मरिहत्ते गर्नु आवश्यक नरहेको बताउँछ ।यस जीवनमा बाँच्नको लागि बाँच्नु मात्र हो। यस जस्तो जीवन बिताउनु बाहेक, त्यहाँ धेरै हुनु पर्छ। त्यहाँ एक उच्च जीवन हुनुपर्छ। जीवनको लागि, यस प्रश्नको सहि उत्तरमा पुग्नै पर्छ, म को हुँ? म के होइन ? आत्मा भनेको के हो ? मेरो कर्तव्य के हो ? के होइन ? भगवान कर्ता हुन् कि होइनन् ? भगवानको वास्तविक स्वरूप के हो ? यस संसारको साँचो कर्ताको प्रकृति कस्तो हुन्छ ? यो संसारलाई कसले चलाउँछ ? सृष्टिकर्ताले कसरी काम गर्छ ? मायाको वास्तविकता के हो ? हामीले देखेका कुरा मात्रै सत्य हुन् कि त्यसको पछि पनि केही शाश्वत सत्य छ ? हामीले जति ज्ञान प्राप्त गरेका छौं, त्यो कतिसम्म सत्य छ ? यी कुराको खोजीबाट अध्यात्मले आफूले आफूलाई चिनाउने गर्छ ।यी सबै प्रश्नहरूको सही उत्तर अध्यात्मले खोज्ने प्रयास गर्छ ।

मृत्यु भनेको के हो भन्ने प्रश्नको वास्तविक उत्तर पनि अध्यात्मले नै दिन सक्छ । मृत्यु के हो ? मृत्युको समयमा के हुन्छ ? मृत्यु पछि के हुन्छ ? मृत्युको अनुभवको बारेमा कसरी भन्न सकिन्छ ? मर्ने मान्छे मरिहाल्छन्, बाँचेकाहरूले मृत व्यक्तिको बारेमा कसरी भन्न सक्छ ? जो जन्मन्छन् उनीहरूलाई आफ्नो अघिल्लो जन्मको बारेमा केही याद हुँदैन, कसैलाई पनि थाहा हुँदैन कि जन्म र मृत्युपछि के हुन्छ ? यी कुरा आध्यात्मिक मार्गमा लागेपछि विस्तारै आफैँले महसुस गर्ने कुरा हो ।अध्यात्मले मृत्युको बारेमा जानकारी दिएर मृत्युप्रति मान्छेको डरलाई भगाउने काम गर्छ । आत्मा कहिलै मर्दैन भन्ने केही हिन्दु दर्शनको मत छ । त्यसैले एक पटक आत्मालाई राम्रोसँग बुझ्न सक्यो भने मात्रै त्यो मान्छे मृत्युबाट डराउँदैन भन्ने अध्यात्मको मत छ । अध्यात्मवाद आत्माको अध्ययनको विज्ञान हो ।

Advertisement 3

भौतिकवाद
वस्तु पदार्थ वा प्रकृतिलाई सम्पूर्ण ब्रह्माण्डको पहिलो बताउने विचार, चेतना वा मानिसको मन भन्दा बस्तु वा जगतको स्वतन्त्र अस्तित्व स्किार गरेर बस्तु जगतलाई जान्न बुझ्न सकिने कुराको ठोकुवा गर्ने विश्व दृष्टिकोण भौतिकवाद हो ।यसले जीवन र जगत कुन कुन कारणहरले गर्दा निर्माण भएको हो भनि कारण खोज्ने हुदा यो कारणतावादी दर्शन वा सिद्धान्त पनि भनिन्छ । यो अध्यात्मवादी दर्शन वा सिद्धान्तले जस्तो जीवन र जगत निर्माण गर्ने अलौकिक वा काल्पनिक शक्तिलाई खोज्दैन । यसले बरु के कारणले गर्दा जीवन र जगत बनेको हो भनि कारण पत्ता लगाउँछ । जीवन र जगत कुन पदार्थले बनेको हो भनि अध्ययन गर्दछ । भौतिक पदार्थ वा वस्तुले चेतनाको जन्म वा निर्माण गर्दछ । चेतना भौतिक पदार्थको गतिको सर्बोच्च रुप हो । प्रकृतिका वस्तुहरु अलग अलग होईन बरु एक अर्कासँग अन्तरसम्बिन्धित छन् । ईश्वरले मानिस वा प्रकृतिको रचना गरेको नभई वर्गिय समाजको उत्पत्ति सँगै मानिसले ईश्वरको कल्पना गरेको हो र शोसित वर्गलाई भ्रममा पार्न प्रयोग गरिएको हो । जीवन र जगत बोधगम्यछ । त्यसका लागि वैज्ञानिक खोज अनुसन्धानको खाँचो छ । हरेक वस्तु वा घटनाहरु गतिशिल र परिवर्तनशिल छन् भन्ने मान्दछ । यो दर्शनशास्त्रको आधुनिक र वैज्ञानिक बाटो हो। भौतिकवादी दर्शन तत्वशास्त्रीय सिद्धान्त पनि हो । जड्तत्व वा पदार्थलाई नै विश्व जगतको मूल आधार मान्ने दर्शनलाई भौतिकवादी भनिन्छ। यो भौतिक रूपमा देखिने, हेरिने र बुझिने जुन जगत् छ, त्यो नै वास्तविक विश्व दुनियाँ हो भन्ने विचारलाई भौतिकवाद भनिन्छ। भौतिकवादी दर्शनले परम तत्व भनेर खास स्वरूपमा देखिने जड्तत्वलाई मान्दछ। यही जड तत्वबाट नै हरेक वस्तुको सृष्टि र निर्माण भएको हो भन्ने विचार भौतिकवादी दर्शनको विशेषता हो । जस्तो कि हामी सबै प्रकारका सामाजिक, धार्मिक अथवा आध्यात्मिक क्रियाकलापहरू भौतिक शरीरकै माध्यमबाट सम्पन्न गर्दछौँ । तसर्थ हामीले आफ्नो भौतिक शरीरको पनि उचित ख्याल राख्दै यसलाई स्वस्थ र तन्दुरुस्त अवस्थामा राख्नुपर्ने हुन्छ । यसको लागि हामीले योग, ध्यान, व्यायामलगायत शरीरको आवश्यकताअनुरूप विभिन्न पौष्टिक तत्वयुक्त खाद्य पदार्थहरू नियमित रूपमा सेवन गर्नुपर्ने हुन्छ । किनकि शरीर अस्वस्थ भएमा अथवा कुनै प्रकारको रोगबाट ग्रसित हुन पुगेमा कुनै पनि व्यक्तिले आफ्नो सामाजिक, धार्मिक अथवा आध्यात्मिक क्रियाकलापहरू एकाग्र भएर गर्न सक्तैन कुनै पनि व्यक्तिले यस भौतिक जगतको सहयोगविना आफूलाई आध्यात्मिक मार्गमा अगाडि बढाउन सक्तैन । जब हाम्रो भौतिक तन र मन स्वस्थ रहन्छ तब नै हामी आफ्नो सामाजिक आध्यात्मिक कार्यहरू एकाग्र भएर सम्पन्न गर्न सक्तछौँ ।विश्व जगतका सबै पदार्थहरूको रूप भौतिक हुन्छ। अर्थात् यस दुनियाँ र सन्सारमा अभौतिक भन्ने कुनै बस्तु हुँदैन। भौतिकवादले चेतना, प्रत्यय वा अध्यात्मलाई पनि जड्तत्वकै आधारबाट उत्पत्ति भएको मान्दछ। यस दर्शनले विकासको व्याख्या प्राकृतिक नियमहरूको सिल सिलात्मक पद्धतिबाट गर्दछ। यस अनुसार विश्वको निर्माण, विकास र पतन पनि प्राकृतिक नियमहरूबाट नै हुन्छ। कुनै अलौकिक र अदृश्य शक्तिको अस्तित्वलाई भौतिकवादले स्वीकार गर्दैन । अदृश्य शक्ति र स्रोतको आवश्यकता यो जगत् विश्वलाई पर्दैन भन्ने कुरा भौतिकवादले मानेको हुन्छ। भौतिकवादले कुनै ईश्वर, परमात्मा, शक्ति र अलौकिक कुराको अस्तित्वलाई स्वीकार गर्दैन। यो विश्व जगत् र ब्रह्माण्ड आफैमा स्वतन्त्र छ र यस भन्दा पर अर्को कुनै अतिरिक्त शक्ति छैन भन्ने कुरा भौतिकवादी दर्शनको निष्कर्ष हो। यस दर्शनलाई यथार्थवादी, विश्लेषणात्मक, यन्त्रवादी र वैज्ञानिक दर्शन पनि भनिन्छ। जड तत्व भनेको कुनै वस्तु विशेष नभई सबै वस्तुहरूमा हुने सार्वभौम र सर्वव्यापी तत्वको इकाई हो। सामान्यतया यसको ज्ञान इन्द्रियबाट हुन्छ तर यसको व्याख्या र विश्लेषण बौद्धिक र वैज्ञानिक तरिकाले मात्र गर्न सकिन्छ। बौद्ध र वैशेषिक दर्शनले पनि भौतिकवादी विचारलाई स्वीकार गरेको पाइन्छ। प्रसिद्ध दार्शनिक कार्ल मार्क्सले भौतिकवादलाई अझ परिष्कृत गरी प्रकृति र जीवको विकास द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादको नियमबाट हुन्छ भनेर तीन वटा नियमहरू अगाडि सारेका थिए। त्यस्ता नियम अनुसार परिमाणबाट गुणात्मक परिवर्तनको नियम, विरोधी तत्वहरूको एकता र संघर्षको नियम र निषेधको निषेध हुने नियम। उनको यो नियम जगत्, प्रकृति, जीव, समाज र समग्र मानव जीवनमा लागू हुन्छ भनिएको छ। उनले यो नियमबाट समाज परिवर्तनको बाटो पनि देखाएका थिए।

आध्यात्मवाद र भौतिकवादको सन्तुलन
अध्यात्मवादको उपेक्षा वा बेवास्ता गरी भौतिकवादको मात्र पछि लाग्नाले पनि जीवनमा वास्तविक सुख र शान्ति प्राप्त गर्न सकिन्न । जीवनमा जति भौतिक उपलब्धि हसिल गर्न सकियो त्यति नै जीवनलाई सुखी र सहज बनाउन सकिन्छ भन्ने धारणा पनि छ र सोही धारणाअनुरूप दिन र रात नभनी भौतिक उपलब्धिकै पछि कुदिरहेको पनि हामी देख्ने गर्दछौँ । तर यस्तो धारणा जीवनको यथार्थतासँग मेल खाएको देखिँदैन । अवश्य पनि बढ्दो भौतिकवादी प्रवृत्ति र विलासीतापूर्ण जीवन पद्धतिकै कारण त्यहाँ यसकिसिमका मनोसामाजिक विसंगतिहरू बढिरहेका छन् । भौतिक उपलब्धिको मात्र पछि लागेर जीवनमा वास्तव्कि सुख र शान्ति प्राप्त गर्न सकिन्न । बरु यसबाट अनेकन् प्रकारका लोभ, लालच र इच्छा–आकांक्षाहरूले मानव मनलाई गाँजिरहेको हुन्छ, अस्थिर बनाइरहेको हुन्छ । वास्तवमा अध्यात्मवादको अभाव अथवा उपेक्षाकै कारण हाम्रो मन–मस्तिष्क यति प्रदूषित हुन पुगेको छ कि यसबाट हाम्रो भौतिक क्षेत्रमा भएको उपलव्धि समेत उल्टो मानव समुदायको लागि अशान्तिको कारण बन्न पुगेको छ, असन्तुष्टिको जड बन्न पुगेको छ । त्यसैले आज विज्ञान र प्रविधिको विकासबाट मानिसले हासिल गरेको भौतिक उपलब्धिलाई सहीरूपमा उपयोग गरी मानव समुदायलाई पतनोन्मुख मार्गबाट जोगाउने हो भने आध्यात्मिक ज्ञान र चेतनाको विकास हुनु अति नै आवश्यक छ ।अध्यात्मवादको नाममा हामीले भौतिकवादलाई न्यून ठान्न मिल्दैन, अवमूल्यन गर्न मिल्दैन । वास्तबमा भौतिक क्षेत्रमा भएको चमत्कारित उपलब्धिकै कारण सिंगो विश्व आज एउटा सानो गाउँमा परिणत हुन पुगेको छ । हामी संसारको कुनै पनि मुलुकमा केही घण्टाको यात्राबाट सहजरूपमा पुग्न सक्ने भएका छौँ । टेलिभिजनको आविष्कारले गर्दा हामी घरभित्रको एउटा सानो कोठामा बसेर संसारका हरेक गतिविधिहरू देख्न र सुन्न सक्ने भएका छौँ ।सूचना प्रविधिको क्षेत्रमा भएको अभूतपूर्व प्रगतिले गर्दा हामी संसारको कुनै पनि मुलुकमा रहेका व्यक्ति अथवा नातेदारसँग प्रत्यक्ष कुराकानी अथवा सन्देश आदानप्रदान गर्नसक्ने भएका छौँ । आज मोबाइल, टेलिफोन, इन्टरनेट,फेसवुक,इमो, भाइवर आदिजस्ता सञ्चार प्रविधिको विकासले गर्दा हाम्रो सूचना र सञ्चार प्रणाली अत्यन्त सहज र सुलभ हुन पुगेको छ । तर यति हुँदाहुँदै पनि हाम्रो मन–मस्तिष्क भने काम, क्रोध, लोभ, मोह र अहंकारजस्ता मनोबिकृृतिहरूबाट टाढा रहन सकिरहेको छैन, मुक्त हुन सकिरहेको छैन ।
यसरी आज एकातिर विज्ञान प्रविधिको विकासबाट मानिसको दैनिक जीवनयापन सहज र सुविधाजनक बन्दै गइरहेको छ भने अर्कोतर्फ मानव हृदयमा अन्तरनिहित सद्गुण र सद्भावनाहरू भने क्रमिक रूपमा ह्रास हुँदै गइरहेको छ, क्षय हुँदै गइरहेको छ । परिणामस्वरूप भौतिकरूपमा आज विश्व सांँघुरो बन्दै गए पनि भावनात्मकरूपमा भने मानवीय दूरी झन्झन् बढ्दै गइरहको महसुस हुन थालेको छ । यसको प्रमुख कारण यही मान्न सकिन्छ कि हामीले भौतिक उपलब्धि र आध्यात्मिक उन्नयनलाई सामान्जस्य गरेर अघि बढ्न सकिरहेका छैनौँ । भौतिक विकास हुनु पक्कै पनि मानव समुदायको लागि खुशीको कुरा हो, गौरवकोे कुरा हो । तर भौतिक स्रोत र साधनलाई सहीरूपमा प्रयोग नगरी अथवा मानव हितमा उपयोग नगरी केवल आफ्नो स्वार्थ परिपूर्तिका लागि उपयोग गर्ने र भौतिक विलासिताको मात्र पछि लाग्ने प्रवृत्तिले गर्दा मानिसले आफ्नो मानवीय मूल्य र मान्यताहरू गुमाउँदै गइरहेको छ । फलस्वरूप आज मानिसहरू चिन्ता, तनाव, कुण्ठा एवं अनेकन प्रकारका शारीरिक मानसिक रोगहरूबाट ग्रसित हुन पुगेका छन । अशान्ति, भय र निराशाको बादलले मानव मन–मस्तिष्कलाई ढपक्क ढाकिदिएको छ । हामीलाई पक्ष र विपक्षमा बाँडिएर मात्र नपुग्ने हुनाले हाम्रो समाजमा एउटा सन्तुलित र सबैलाई मिलाउने चिन्तन र दर्शनको खाँचो भएको छ। यथार्थता के हो भने यी दुवै एक–अर्काका सहयोगी हुन् र परिपूरक हुन् । किनकि जीवनलाई सही र सन्तुलितरूपमा सञ्चालन गर्न अध्यात्मवाद र भौतिकवाद दुवैलाई हामीले सामन्जस्य मिलाएर लैजानु आवश्यक हुन्छ ।

सार्वजनिक प्रशासनमा अध्यात्मवादको प्रभाव
नेपालको संविधानले सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचार मुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभूति गर्ने नीति अवलम्बन गर्ने नीति अवलम्बन गरिने कुरा उल्लेख गरिएको छ ।पन्ध्रौ योजनाले शासकीय सुधार अन्तर्गत प्रशासकीय सुशासन, वित्तीय सुशासन, भ्रष्ट्राचार नियन्त्रण आदि विभिन्न शीर्षकमा कर्मचारीलाई स्वच्छ, जनमुखी, उत्तरदायी, पारदर्शी, सदाचारयुक्त र भ्रष्ट्राचारमुक्त बनाउनको लागि लिइने विभिन्न रणनीति, कार्यनीतिहरू उल्लेख गरिएको छ ।यि व्यवस्थाहरुवाट नागरिकले प्रतिफल प्राप्त गर्नका लागि सेवा प्रदायक संस्थाहरुका पदाधिकारीमा आध्यात्मिक चेतनाको विजारेपण भएमा मात्र सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचार मुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउन सकिन्छ ।अध्यात्मवादले सदाचार र नैतिक संस्कृति विकास गर्न सिकाउँछ ।यको अनुभुतिले सेवा प्रवाहमा प्रभावकारीता ल्याँछ । नागरिक चेतनाको स्तर, समाजको लोकतन्त्रीकरण र प्रविधिको प्रसारले पनि सार्वजनिक प्रशासनलाई आध्यात्मिक , नैतिक, व्यावसायिक र सदाचारी बनाउन बल पु¥याएका छन्। सर्वसाधारणले सरोकार राख्ने विषय भनेको सार्वजनिक सेवा वितरण हो। सेवा वितरणका खास मान्यता र सिद्धान्त छन्, जसलाई अवलम्बन गरेरै सार्वजनिक संस्थाहरू आध्यात्मिक, नैतिक बन्न र सेवाग्राहीको विश्वास जित्न सक्छन् । अध्यात्मिकता, नैतिकता, आचरण र सदाचारले कर्मचारीमा आत्म नियन्त्रण,आत्मवोध,पुर्नवोध र स्व उत्प्रेरणा वृद्धि गर्दछ । यसले सार्वजनिक सेवालाई राजनीतिबाट तटस्थ, निष्पक्ष बनाई सार्वजनिक प्रशासनमा हुने ढिलासुस्ती, लापरबाही, भ्रष्टाचार र अधिकारको दुरुपयोगलाई निरुत्साहित गर्दछ ।सेवाग्राहीको सरकार तथा सार्वजनिक सेवा प्रतिको विश्वास अभिवृद्धि गर्नमा अध्यात्मिकता,नैतिकता, आचरण र सदाचारले महत्वपुर्ण भुमिका खेल्दछ ।त्यसैगरी यसले सरकारी काम, कारबाहीलाई छिटो, छरितो गराउन सघाउँछ ।महत्वपूर्ण सरकारी अभिलेखको गोपनीयता कायम गर्ने तथा संरक्षण गराउँन अध्यात्मिकता,नैतिकता, आचरण र सदाचारले अक्सिजनको काम गर्दछ । सरकारी सेवा सुविधा र विकास निर्माण कार्यलाई प्रभावकारी बनाउँदै सुशासन कायम गरी जनविश्वास अभिबृद्धि गर्नमा अध्यात्मिकता,नैतिकता, आचरण र सदाचारको महत्वपुर्ण भुमिका रहेको हुन्छ ।

नेपालमा सार्वजनिक प्रशासनमा सदाचार र नैतिकताको स्थापना र अभ्यास गर्न सुशासन (व्यवस्थापन तथा सञ्चालन)ऐन, २०६४, निजामती सेवा ऐन, २०४९ र नियमावली, २०५०, निजामती कर्मचारीको आचार सम्बन्धी नियमावली, २०६५ , राष्ट्र सेवकहरूको आचार संहिता, २०६८ लगायतका विभिन्न ऐन, नियम, निर्देशिका निर्माण गरी कार्यान्वयनमा ल्याइएको छ । यी सबैमा भएको व्यवस्थाको अध्ययन गर्दा निजामती कर्मचारीले पालना गर्नुपर्ने आचरणलाई अन्र्तवोध र आत्मिकरण गर्न समेत कर्मचारिहरुमा अध्यात्मवादको आवश्यकता पर्दछ ।अध्यात्मवाद विकास र समृद्धिको धोतक हो ।यसको प्रयोग र अनुभुतिवाट राष्ट्र निमार्ण र समृद्धि हाँसिल गर्न सकिन्छ ।

कर्मचारिहरुमा अध्यात्मवादको अन्र्तबोध र आत्मिकरणको स्वअनुभुतिले तोकिएको समयमा नियमित रूपले कार्यालयमा हाजिर हुने ,सकेसम्म बिदा स्वीकृत नगराइ कार्यालयमा अनुपस्थित नहुने ,अनुशासनमा रही आफ्नो कर्तव्य इमान्दारितासाथ पालना गर्ने ,सरकारी काम सम्बन्धी कुरामा आफूभन्दा माथिका अधिकृतले दिएका आज्ञालाई शीघ्रता साथ पुरा गर्ने ,सबैप्रति शिष्ट व्यवहार देखाउनुपर्ने ,सेवाग्राहीप्रति मर्यादित व्यवहार देखाउने,आफूमाथिका कर्मचारीप्रति आदर र आफू मूनिका कर्मचारी प्रति उचित व्यवहार देखाउने भावनाको विकासभई नैतिक आचरण र व्यवहारमा सकारात्मक सोंचको विकार हुनजान्छ ।त्यसैगरी कर्मचारिहरुमा अध्यात्मवादको अन्र्तबोध र आत्मिकरणको स्वअनुभुतिले पेसाको सम्मान गर्ने तथा आफ्नो क्षमता विकास गर्न प्रयत्नशील बनाउँछ ।यसले पेशागत कार्य गर्दा राजनीतिक तटस्थता कायम गर्ने ,उच्च व्यावसायिकता कायमगरी सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचार मुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभूति गर्ने कार्यमा मदत पुरयाउँछ ।अध्यात्मवादले पदाधिकारीलाई गैरपक्षपात,पारदर्शीता, क्षमाशिल,वस्तुगतता,निर्भिकता,सहानुभुति,समानुभुति जस्ता गुणहरुको विकास गर्दै सार्वजनिक सेवाको मुल्यलाई वलियो वनाउँछ। यस मुल्यको समग्र प्रभाव सार्वजनिक सेवा प्रवाहमा पर्ने भएकाले सेवाको गुणस्तर अभिबृद्धि हुन्छ । अन्ततः यसवाट सरकारप्रति नागरिकको विश्वास अभिबृद्धि हुन्छ ।फलस्वरुप सरकारको आयु बढ्न जान्छ । सरकारको आयु बढ्नाले मुलुकमा राजनीतिक स्थिरता बढ्छ । यसवाट लोकतन्त्र,सुशासन ,दिगो विकास,समृद्धि र सामाजिक न्यायको किरण समाजका सवै वर्गमा पुरयाउन सकिन्छ ।अन्ततोगत्वा मुलुकले लिएका विकासका लक्ष्यहरु जस्तै अतिकम विकसित मुलकुवाट विकासोन्मुखमा स्तरोन्नती,दिगो विकासका लक्ष्य प्राप्ति र मध्यम आय भएको मुलुकमा रुपान्तरणमा पुग्ने कार्यमा सार्वजनिक प्रशासनमा अध्यात्मवादको विजारोपण गर्न अति आवश्यक रहेको छ ।

उपसंहार
तसर्थ संक्षेपमा हामी के भन्न सक्छौँ भने मानव हृदयमा अन्तरनिहित सद्भाव र सद्गुणहरूलाई आध्यात्मिक ज्ञान र चेतनाको माध्यमबाट पुनः जागृत गरी मानव जीवनलाई सुखी, शान्त र समृृद्ध तुल्याउने हो भने भौतिकवाद र अध्यात्मवादबीच उचित समन्वय र सन्तुलन कायम राख्दै दुवैलाई एक–अर्काको परिपूरक र सहयोगीको रूपमा अघि बढाउनुपर्ने अपरिहार्य आवश्यकता देखिन्छ । हाम्रो देशमा भएको युगान्तकारी परिवर्तन सँगसँगै आम जनतालाई परिवर्तनको अनुभूति दिलाउने गरी विद्यमान संरचना , नियम, कानुन परिवर्तन गरेका छौँ तर हाम्रा संस्कार, कार्यशैली , आचरण र व्यवहारमा रूपान्तरण गर्न नसक्दा आम जनतामा निराशा उत्पन्न भएको छ । फलस्वरूप आम जनताको प्रशासन संयन्त्रप्रति मात्र होइन सिङ्को शासन व्यवस्थाप्रति नै वितृष्णा बढ्दै गएको देखिएकोले अध्यात्मवादका मुल्य र मान्यताहरुलाई सार्वजनिक पदाधिकारीहरुले अवलम्वन गर्दै सार्वजनिक प्रशासनलाई स्वच्छ,पारदर्शी, सदाचारयुक्त, नागरिकमैत्री, भ्रष्ट्राचारमुक्त र नैतिकवान बनाई सुशासन कायम गर्नु आजको टड्कारो आवश्यकता रहेको छ । यसका लागि शासकीय व्यवस्थापनका पात्रहरुको उचित समन्वय, सहकार्य र संवादको माध्यमवाट आध्यात्मिक र नैतिक पुर्वाधारहरुको विकास गर्न जरुरी रहेको छ ।

(उप्रेती नेपाल सरकारका उपसचिव हुन्।)

प्रकाशित :२०८० भाद्र ८, शुक्रबार १३:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry